News 24 Television
साझेदारी र कनेक्टिभीटी नेपाल-भारत साझा समृद्धिका आधार हुन् : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल–भारत बीच व्यापार, पारवहन र लगानीलाई तीव्र बनाएर कनेक्टिभीटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्ने बताएकी छन् ।

नेपाल–भारत रणनीतिक संवादसम्बन्धी आज काठमाडौंमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा. राणाले यस्तो बताएकी हुन् ।

नेपाल-भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभीटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताउँदै उनले दुई देशबीचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत समृद्धिमा रूपान्तरण गर्ने समय आएको जिकिर गरिन् ।

नेपाल–भारत सम्बन्ध सभ्यताको शुरुवातमा राखिएका जगहरूमा निर्मित रहेका प्रसंग काेट्याउँदै मन्त्री राणाले नागरिकको जीवन साझा मूल्यमान्यता, संस्कृति र भावनामा आधारित रहेकाले उनीहरुबीचको जनसम्पर्क, सहकार्य र कनेक्टिभीटीले नै दुवै देशको समृद्ध भविष्यको रेखा कोर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । नेपाल र भारतले सडक, रेल्वे, जलमार्ग, हवाई मार्ग, डिजिटल पूर्वाधार लगायतमा लगानी गरेर पारस्परिक सम्पर्क सञ्जाल बढाउनुपर्नेमा जोड दिइन् । 

मन्त्री डा. राणाले हाल विश्वव्यापी आर्थिक परिदृश्य ज्ञानमा आधारित अर्थतन्त्र, सेवाहरू र डिजिटल प्लेटफर्महरूतर्फ केन्द्रित भइरहेको बताउँदै अबका दिनमा दुई देशले पनि डिजिटल अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, आधुनिक शिक्षा, सीप विकास र रचनात्मक अर्थतन्त्रका क्षेत्रमा आफ्ना प्रयासहरुलाई साझा रुपमा केन्द्रित गर्नुपर्नेमा जोड दिइन् । 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update