
काठमाडौँ । भिजिट भिसा प्रकरणको छानविन गर्न सत्तापक्ष तयार भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको अध्ययन र छानबिन गर्न सत्तापक्षले प्रतिबद्धता जनाएको उनले बताए ।
बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले भिजिट भिसा प्रकरणको छानविनका लागि सत्तापक्षबाट प्रतिवद्धता आएपछि प्रतिपक्षी दलहरुबीच समेत सकारात्मक वातावरण बनेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तापक्षसँग थप छलफल चाहेको उनको भनाइ छ ।
उनले भने, ‘एउटा गृहमन्त्रीको कुरा मात्रै होइन । यो विगतदेखि नै अध्यागमनको समस्या अलिक बिकराल नै देखिएको छ । यो समस्यालाई सत्तापक्ष र प्रतिपक्षी सबैले गम्भिरताका साथ लिनुपर्यो भन्ने कुरामा हामी सबैले कुरा गरेपछि सत्तापक्षले अध्ययन र छानविन गर्ने प्रतिवद्धता तथा संरचना बनाएर ठोस रुपमा पहल लिने भन्ने प्रतिवद्धता आएपछि प्रतिपक्षको बीचमा अत्यन्त सकारात्मक वातावरण बनेको छ । तर केही साथिहरु अझै हामी सत्तापक्षका साथिहरुसँग कुरा गर्छौं र सदन सुरु गरौँ भन्ने छ । रास्वपाले छलफल चाहेको छ ।’
अध्यागमन कार्यालयमा लामो समयदेखि समस्या रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले समस्या समाधानका लागि सत्तापक्ष र प्रतिपक्ष गम्भिर हुन जरुरी रहेको समेत बताए ।