News 24 Television
भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीको नेतृत्व गृह मन्त्रालयले गरेको छ : सांसद झा

काठमाडौँ । रष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अध्यागमन विभागमार्फत भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको नेतृत्व गृह मन्त्रालयले गरेको आरोप लगाएका छन् । शुक्रवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले यस्तो आरोप लगाएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक–पटक अध्यागमनमा भइरहेको बदमासीबारे सूचना दिए पनि गृह मन्त्रालयले बेवास्ता गरेको उनको आरोप छ । आफ्नो संलग्नता लुकाउनका लागि गृहमन्त्रीले अनुसन्धानमै रहेका कर्मचारीको जिल्ला सरुवा गरेको समेत आरोप लगाए ।

अध्यागमनको अनियमितता केवल राष्ट्रिय नभई अन्तर्राष्ट्रिय स्तरमै भएको दाबी गर्दै छानबिन समिति गठनको माग गरे । उनले सञ्चार माध्यमहरुमा भिजिट भिसा प्रकरणबारे प्रयाप्त प्रमाणहरु आइसकेको भन्दै गृह नेतृत्वमा लुटतन्त्र मच्चाइएको आरोप लगाए ।

उनले भने, ‘अख्तियारले अध्यागमनमा बदमासी भइरहेको छ त्यहाँ ध्यान देउ भनेर गृहमन्त्रालयलाई ९-९ पटक पत्र काट्दासम्म गृह मन्त्रालय कहाँ थियो । जब अख्तियारले त्यहाँ धावा बोल्ने बेला भयो तब सबै आफ्नो कर्मचारीहरुलाई लुकाउनको लागि रातारात किन तानियो ? यदि उहाँको संलग्नता छैन, उहाँलाई जानकारी थिएन भने कर्मचारीलाई संरक्षण दिनको लागि किन तानियो ? अर्को कुरा, कर्मचारीलाई तानिसकेपछि तामेलीमा मन्त्रालयमै राख्न सक्थ्यो । त्यसलाई रोल्पा, डोल्पा सरुवा गरेर अुनसन्धान प्रभावित गर्न खोजेको पनि प्रमाणित छ । त्यसैले छापामा पर्याप्त समाचार आइरहेको छ । हरेक दिन यथेष्ट प्रमाणहरु आइसके । यो सबै तपाईको नेतृत्वमा भएको लुटतन्त्र हो । यो हाम्रो मात्र आवाज हैन । सेटिङ त अन्तर्राष्ट्रिय नै भइसकेको रैछ । त्यसकारण यसको छानविन गर्नको लागि छानविन समिति र ठगिएकाहरुले न्याय नपाएसम्म हाम्रो आन्दोलन जारी छ ।’

भिजिट भिसा प्रकरणको आवश्यक छानविन गर्न संसदीय छानविन समिति नबनेसम्म आफूहरुको आन्दोलन जारी रहने समेत झाले बताए । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update