News 24 Television
डेग छाडेको माओवादी, रास्वपा र राप्रपा भने लयमै !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले दुई बुँदे सहमति गरेपछि सदन सुचारु भयो । जेठ १३ गतेदेखि लगातार सदन अवरुद्ध भएपनि शुक्रबार माओवादीले सत्तारुढ दल नेपाली काँग्रेस र एमालेसँग दुई बुँदे सहमति गरेपछि सदन संचालन गर्न सत्ता पक्षलाई सहज भएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै उनको राजीनामा मागेर १७ दिनसम्म सदन रोक्न सफल भएपनि अन्तिममा माओवादीले सहमतिमार्फत मार्गप्रशस्त गर्ने बाटो रोजेको हो ।

माओवादीको यो सहमतिमा नेकपा एस, नेसपा र आजपा लगायतका विपक्षी दलहरु पनि राजी छन् । तर रास्वपा र राप्रपाले भने कुनै पनि हालतमा गृहमन्त्री प्रकरणमा सम्झौता नहुने अडान लिएको छ । राप्रपाले त अझ माओवादीले गरेको सहमतिलाई वीरतापूर्वक आत्मसमर्पण भनेर कडा आलोचना गरेको छ । त्यस्तै राप्रपाले गृहमन्त्रीको राजीनामाको विषयलाई अझै जोडतोडले उठाइरहेको छ । 

दुई बुँदे सहमति कस्तो ? 

बुँदा नम्बर एक :  भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको कार्यलाई निष्कर्षमा पुरÞ्याउने । र, उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरेबमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।

बुँदा नम्बर दुई : अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने । 

यी समझदारीमा खास गहन विषयवस्तु देखिँदैनन् । जसले माअ‍ोवादी केन्द्र स्वयम आलोचनाको केन्द्र बनेको छ । माओवादी र त्यसको नेतृत्व प्रचण्डमाथि कार्यकर्तास्तरबाटै यतिबेला आलोचना चुलिएको हो । 

हुनपनि उल्लेखित सहमतिको बुँदामा न त गृहमन्त्रीको राजीनामा माग छ, नत छानविन समिति गठन गर्न समिति बन्ने समयअवघि नै तोकिएको छ । बरु यो कच्चा समझदारीले प्रमुख प्रतिपक्षी दल माओवादीमाथि अझ शंका बढाएको छ । तर अध्यक्ष प्रचण्ड भने दुई बुँदे सहमतिसँग कुनै मुद्धा नसाँटेको प्रष्टिकरण दिइरहेका छन् ।

रास्वपा सशक्त प्रतिपक्षमा !

शुक्रबारको सदन पनि निर्वाद चल्न सकेको थिएन । रास्वपा र राप्रपाले सदन अवरोध गर्ने प्रयास गरे । तर माओवादीको साथ पाएको सत्ता पक्षले विपक्षीलाई पेलेरै अघि बढ्यो । माओवादी प्रमुख सचेतक हितराज पाण्डे बोलिरहँदासमेत रास्वपाले टेबल ठटाएर अवरोध सृजना गरिरह्यो ।

यद्यपि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बोलिरहँदा भने अवस्था शान्त बनेको थियो । तर फेरि गृहमन्त्रीको बोल्ने समयमा भने रास्वपा सांसदहरुले बेल घेराउ नै गर्ने प्रयास गरेका थिए । गृहमन्त्री बोलिञ्जेलसम्म टेबल ठटाइरहेको रास्वपाले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको नियतमाथि पनि प्रश्न उठाएको छ । त्यस्तै रास्वपाले गृहमन्त्रीमाथि अनुसन्धान गरिनुपर्ने अडानलाई पनि अझ सशक्त बनाइरहेको छ ।  प्रमुख प्रतिपक्षी दल माओवादीले गृहमन्त्रीको राजीनामाबाट पछि हटेर सत्तासँगै साँठगाँठ गरेपनि रास्वपा भने आफ्नो अडानबाट व्याक हुन स्थितिमा छैन । 

नयाँ दलका रुपमा राजनीतिमा उदाउँदै गरेको रास्वपाले गृहमन्त्रीको सवालमा आफ्नो स्ट्याण्डलाई यथावत राखेर आफूलाई सशक्त प्रतिपक्षीको रुपमा उभ्याएको छ । माओवादीले रास्वपालाई दुई बुँदे समझदारीमा आउन आग्रह गरेपनि उसले त्यसप्रति विमत्ति राखेको थियो । 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update