News 24 Television
राप्रपाद्वारा संसद बैठक बहिष्कार, भत्ता पनि नलिने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ । सोमवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बहिष्कार गरेको बताएका हुन् ।

उनले संसदमा विरोध जारी राखिरहेको बेला जबरजस्ती संसद अगाडि बढाउनु संसदीय मर्यादाको दृष्टिकोणले उचित नहुने बताए। जबसम्म संसदलाई जबरजस्ती अगाडि बढाउने काम भइराख्छ, तबसम्म उक्त कर्मकाण्डमा राप्रपा सहभागी नहुने उनकाे जिकिर छ ।

अध्यक्ष लिङदेनले बैठक बहिष्कार गर्दै बैठक भत्ता राजश्वमा फिर्ता हुने व्यवस्था गर्न आग्रह गरे, “अहिले यो संसद्मा जे कुरा भइराखेको छ, म सभामुख महोदयलाई आग्रह गर्न चाहन्छु, सभामुख संसद्को अभिभावक हो । संसदमा दुई राजनीतिक दलहरूले महत्वपूर्ण विषयमा आफ्नो फरक मत राखिरहेका छन् । विरोध जारी राखिरहेको बेला जबरजस्त संसद अगाडी बढाउनु संसदीय मर्यादाको दृष्टिकोणले पनि उचित हुँदैन र सभामुख स्वयंका लागि पनि यो अरूले राम्रो देख्ने विषय होइन । जबसम्म जबरजस्त यसरी संसद् अगाडी बढाउने काम भइराख्छ, यो कर्मकाण्डमा राप्रपा सहभागी हुँदैन । हामी बहिष्कार गर्छौ । हाम्रो बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था हो ।”  

उनले संसदमा एक सय सिट भएको पार्टी र एक सिट मात्रै भएको पार्टीको पनि उत्तिकै मर्यादा र हैसियत हुनुपर्ने बताए । साथै, उनले जसले कुनैपनि विचारलाई निषेध गर्न नपाइने गरी निर्वाचन प्रणाली बनायो, उसैले यसको उल्लङ्घन गरिरहेको जिकिर गरे ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update