News 24 Television
चौथो पार्टीलाई पेलेरै सभामुख अघि बढ्दा देखिएका दृश्य (भिडियो) !

काठमाडौँ । संसदमा जेठ १३ गतेदेखि नै भिजिट भिसा तथा मानव तस्करी प्रकरणको स्वतन्त्र छानबिन तथा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा लगायतका प्रतिपक्षी दलहरुले संसद अवरोध गरे । बजेटमाथिको छलफल नै प्रभावित हुने उक्त अवरोधबाट शुक्रबार एकाएक प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र पछि हट्यो । सत्तारुढ दलहरुसँग २ बुँदे सहमति गरेको माओवादीले रास्वपा आफ्नै ढंगले जाने बतायो । साथै माओवादी सांसदहरु घरी रास्वपालाई संसदीय अभ्यास आफूबाट सिक्न आग्रह गरिरहेका छन्, घरी आफूहरुले भिजिट भिसा प्रकरणको मुद्दा नछाडेको बताइरहेका छन् । 

माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले रास्वपा एक्लियो भन्दैमा संसदमा पेलेर जान नहुने भन्द सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् । उनले सभामुख संसदको अभिभावक समेत भएकाले जबर्जस्ती बल प्रयोग नगरी संयमित ढंगले प्रस्तुत हुन आग्रह गरे । प्रमुख प्रतिपक्षी दल सहमतिमा आइसक्यो, अब रास्वपालाई पेले पनि हुन्छ भन्ने नठान्न उनले चेतावनी समेत दिए । संसदमा कहिले कसको संख्या सानो हुन्छ, कहिले कसको ठूलो हुन्छ भन्दै संख्याको बलमा पेल्न नहुने उनको भनाइ थियो । 

आइतबार भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्द रास्वपाका साथै राप्रका सांसदहरुले नाराबाजीसहित विरोध गरे । तर सभामुखले उनीहरुका कुरै नसुन्दै बजेटमाथिको छलफल अगाडि बढाए । शुक्रबार पनि रास्वपाको नाराबाजी बीच गृहमन्त्रीलाई संसदमा बोल्न दिएका सभामुखले पेलेरै अघि बढ्ने रणनीति तय गरेका थिए । सो क्रममा गृहमन्त्री लेखकले आफू भिजिट भिसामा संलग्न नरहेको र यो हुनै नसक्ने बताए । मानौँ गृहमन्त्रीबाट कुनै गलत क्रियाकलाप हुनै सक्दैन । र, उनले आफूविरुद्ध रास्वपाको पार्टी कार्यालयमा नक्कली पीडित खडा गरी कीर्ते जाहेरी दर्ता गर्ने प्रयास भइरहेको आरोप समेत लगाए । तथाकथित नक्कली पीडितलाई बोलाएर आफूविरुद्ध विभिन्न ठाउँमा जाहेरी दर्ता गर्ने प्रयास भएको भन्दै उनले त्यसो गरेमा कारबाही गर्ने चेतावनी समेत दिए ।

काँग्रेसका सांसद प्रकाशशरण महतले रास्वपाका सांसदहरु बजेट छलफलमा सहभागी नभएर जनप्रतिनिधिको गरिमा गुमाएको आरोप लगाएका छन् । बजेट वर्षमा एकपटक आउने र बजेटको तमाम विषय चिरफार गर्नुपर्ने समयमा आन्दोलन गरेर उक्त अवसर रास्वपाले गुमाएको उनको भनाइ छ । कुनै पनि आधार नै नभएको विषयलाई लिएर छलफलमा भाग नलिनु जनप्रतिनिधिको हैसियतले जनतालाई नै गुमराहमा राख्नुसरह भएको उनको आरोप छ । 

एमाले सचिव योगेश भट्टराईले पनि रास्वपा संसदमा रानोबिनको माहुरीझैँ रुमल्लिएको टिप्पणी गरेका छन् । उनले रास्वपा एउटा उदीयमान पार्टी भएको बताउँदै आफूहरुले पनि सम्मान गरेको जिकिर गरे । तर संसदभित्र रास्वपाको घटना भने नेतृत्वविहीन हुँदाको अवस्था रहेको बताए । उनले पार्टी नेतृत्वविहीन हुँदा अन्योलमा रहेको स्पष्ट भएको संसदीय घटनाक्रमले देखाएको भन्दै रास्वपा अहिले बादलभित्र उडिरहेको कागजस्तै गन्त्वयविहीन देखिएको बताए ।

यद्यपि प्रतिपक्षी राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भने सभामुख र संसद बिचौलियाको पक्षमा उभिएको आरोप लगाए । सभामुख स्वयं बिचौलियाको पक्षमा उभिएपछि आफूहरुले संसद बहिष्कार गर्नुपरेको उनको टिप्पणी छ । भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले विरोध जनाइरहँदा सभामुखले अन्देखा गर्दै संसद सुचारु गर्नु ठीक नरहेको उनको भनाइ थियो । एक जना सांसदले विरोध जनाउँदा पनि संसद चल्न नसक्ने नियमावली रहेको भए पनि सभामुखले नियमावलीविरुद्ध गएर संसद चलाएको आरोप लगाए । 

आइतबार सभामुखले रास्वपा र राप्रपाका सांसदहरूको पटक–पटकको आग्रह नसुनेर बैठक अघि बढाएपछि उनीहरु सभामुखदेखि रुष्ट भए । विरोधका बीच बैठक अगाडि नबढाउन विपक्षी दल एकीकृत समाजवादीका सांसदले समेत आग्रह गरेका थिए । संसदको चौथो ठूलो दल र अन्य साना दलहरुको विरोध तथा मागप्रति सरकार र सभामुख दुवैले अवमूल्यन गरेर जबरजस्ती अघि बढ्दा संसदीय गरिमाको समेत ह्रास हुने विपक्षीहरु बताउँछन् । 
 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update