News 24 Television
रास्वपा सांसदलाई निष्काशन गर्न काँग्रेसकाे माग,  संसद बैठक स्थगित !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसद् बैठकमा निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि नेपाली काँग्रेसले नियमापत्ति जनाएको छ । 

मङ्गलवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नियमापत्ति जनाएका हुन् । उनले संसदमा मर्यादित पोशाकमा आउने व्यवस्था गरिएको स्मरण गराउँदै रास्वपाका सांसदहरूले लगाएको स्कार्फ मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन भन्ने प्रश्न गरे ।

भोलिका दिनहरूमा कोही हाफ पाइन्ट तथा कोही जथाभाबी ड्रेसमा आए के गर्ने भन्दै प्रश्न गरे । उनले यस प्रकारका व्यवहार गर्ने सांसदहरूलाई सभामुखले चेतावनी दिनुपर्ने र संसद बैठकबाटै निष्कासन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराए ।  

उनले भने, “यो संसदमा मर्यादित पोशाकमा आउनुपर्छ भन्ने व्यवस्था गरिएको छ । यो नियमावलीमै गरिएको व्यवस्था हो । यो संसद्मा अहिले केही मान्य सदस्यहरूले जुन स्कार्फ लगाएर आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ? यसरी भोलि कोही हाफ पाइन्ट मात्र लगाएर आउने, जथाभाबी ड्रेसमा आउने, जे पनि लगाएर आउन थाल्यो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ? यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यहरूलाई सभामुखले चेतावनी दिने र संसद्बाट निष्कासन गर्न आवश्यक छ भन्ने कुरामा ध्यानाकर्षण गराउँछु ।” 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिनुभएको आरोप लगाउँदै राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाका सांसदहरूले लगातार संसद अवरोध गर्दै आएका छन् । उनीहरूले गत जेठ १३ देखि संसद अवरोध गर्दै आएको हुन् ।

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा पनि रास्वपाका सांसदहरूले निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाको लागि बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update