News 24 Television
नेपालमा आणविक अनुसन्धान : सम्भावना र चुनौती

काठमाडौँ । झट्ट सुन्दा आणविक अनुसन्धान केन्द्र स्थापना नेपालमै हुन लागेको अलिक अनौठो लाग्न सक्छ । तर विभिन्न अनुसन्धान प्रयोजनका लागि नेपाल सरकारले आणविक अनुसन्धान केन्द्र स्थापना प्रक्रिया अगाडि बढाएको छ । सरकारले रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ पारित गरेको लामो समयपछि अनुसन्धान केन्द्रको प्रक्रिया थालेको हो । विज्ञान प्रविधि मन्त्रालयले आणविक अनुसन्धान केन्द्रका काभ्रेको धुलिखेल– ८ रहेको भाटापोखरीमा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाएको हो । यो केन्द्र निर्माणले क्यान्सरजस्ता बिरामीको उपचारको क्षेत्रमा राज्यले ठूलो फड्को मार्ने बताइएको छ । आजसम्म न्युकिलियर मेडिसिनका लागि परनिर्भर रहेको राज्य आत्मनिर्भरसम्म बन्न सक्नेछ । 

नेपालमा हरेक साल हजारौँ मानिसले क्यान्सर लगायतका रोगबाट ज्यान गुमाउने गरेका छन् । राज्यको अर्बौं रकम नागरिकको उपचारका लागि हरेक वर्ष न्युकिलियर मेडिसिनका लागि राज्यले खर्च गर्दै आएको छ । खाद्यान्न र तरकारी समेत आयात गर्ने मुलुकमा यस्ता रिसर्च सेन्टर निर्माणले औषधि उपचारका लागि  मात्र नभई अन्य थुप्रै क्षेत्रमा समेत विभिन्न अध्यन्न गर्ने थलो बन्नसक्ने केन्द्र नै स्थापनाका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘एटमिक रिसर्च सेन्टर’ बनाउन लागेको मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले बताए । जग्गा प्राप्तिको अन्तिम चरणमा रहेकै बेला जग्गाको निरीक्षण गर्न धुलिखेल नगरपालिका टिमसँगै धुलिखेल वडा न ८ बडालगाउँ पुगेका सचिव पुडासैनीले यसको महत्व राष्ट्रिय रुपमा रहेको बताए उनका अनुसार योजना शुरु गर्नका लागि पनि न्युनतम ३ अर्ब रुपैयाँ चाहिन्छ । त्यसका लागी पनि दातृ निकायदेखि विश्व बैंकलाई समेत अपिल गरिने र यसको सुरक्षा र स्थानियलाई खतरा हुने कुरामा भन्ने कुनै शङ्का नगर्न उनले अपिल गरे । 

भाटापोखरीमा आणविक केन्द्र निर्माण गर्नका लागि धुलिखेल नगरपालिकाले खोल्साखोल्सी र जमिनमै रहेको मन्दिर बाहेकका करिव ९२ रोपनी जग्गा दिने निर्णय गरिसकेको छ । यस्ता केन्द्रले धुलिखेलको मात्र नभई सिङ्गो राज्यलाई नै फाइदा हुनेमा नगरपालिका विश्वस्त रहेको धुलिखेल नगरपालिकाका कार्यकारी अधिकृत मोहन मरासिनीले बताए ।

उक्त वडाका अध्यक्ष पनि जग्गा प्राप्तिको अन्तिम चरणमा रहेकाले यस्ता केन्द्र निर्माणले सिङ्गो राज्यलाई फाइदा हुने बताउँछन् । वर्षेनी खर्च भएको अर्बौं रकम बचाउन र उपचार अभाव तथा औषधिको भएको परनिर्भरता कम गर्न समेत यो उपयोगी हुने धुलिखेल वडा न ८ का वडा अध्यक्ष विनोद गौतमले दाबी गरे । ७७ वर्षका स्थानीय कालीप्रसाद बडाल पनि सोही आयोजना सम्पन्न गर्नका लागि पालिकाले आफूले भोगचलन गर्दै आएको दर्ता नभएको जमिन पालिकाले छोड्न भनेपछि आफूले छोड्ने बताउँदै अनुसन्धान केन्द्रले स्थानीयलाई समेत सहज हुने आशा राखे । 


नेपालमा आणविक अनुसन्धानको सम्भावना राम्रो भए पनि यसका थुप्रै चुनौती समेत छन् । नेपालमा ऊर्जाको माग बढ्दो छ, जलविद्युतका अलावा आणविक ऊर्जा पनि एउटा विकल्प हुन सक्छ । यद्यपि, यसमा ठूलो लगानी र प्रविधि आवश्यक पर्दछ । आणविक प्रविधिको प्रयोगले उन्नत जातका बीउबिजन विकास गर्न, खाद्यान्नको आयु बढाउन र पशुपालनमा सुधार ल्याउन सकिन्छ । साथै रेडियोधर्मी पदार्थको प्रयोगबाट स्वास्थ्य उपचारलाई सस्तो र सहज बनाउन सकिन्छ । आणविक प्रविधिको प्रयोग विभिन्न उद्योगहरूमा गर्न सकिन्छ र युरेनियम जस्ता आणविक खनिजहरू उत्खननमा टेवा पुग्छ । समग्रमा वैज्ञानिक अनुसन्धानलाई बढावा दिँदै आर्थिक गतिविधि समेत फस्टाउँछ । 

यद्यपि आणविक अनुसन्धानमा चाहिने ठूलो लगानी, आधुनिक प्रविधि, दक्ष एवं वैज्ञानिक जनशक्ति प्राप्ति नेपालका लागि चुनौतीको विषय हो । साथै आणविक पदार्थको प्रयोग र भण्डारणमा उच्च सुरक्षा मापदण्डहरू अपनाउनुपर्छ । कुनै पनि दुर्घटनाले ठूलो विनाश निम्त्याउन सक्ने भएकाले सुरक्षा चुनौती पनि उत्तिकै छ । कानुनी र नीतिगत अस्पष्टता र अन्तर्राष्ट्रिय सम्बन्ध समेत यसका थप चुनौती हुन् । नेपालमा युरेनियमको सम्भावित खानीहरूको उत्खनन र प्रयोग एउटा संवेदनशील र जटिल विषय हो । यसको सुरक्षा र अन्तर्राष्ट्रिय नियमहरूको पालना गर्नुपर्ने चुनौती छ । आणविक प्रविधिको प्रयोगले वातावरणमा पार्न सक्ने प्रभावको बारेमा समेत पर्याप्त अध्ययन र नियन्त्रण आवश्यक हुन्छ । 
 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update