News 24 Television
अमुर्त २ बुँदे सहमतिले संकटमा माओवादी, चौतर्फि आलोचित प्रचण्ड ! 

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै लामो समय संसद अवरोध गर्दै आएको माओवादी केन्द्र एमालेसँग अमुर्त २ बुँदे सहमतिमा चुकेपछि पार्टी भित्र र बाहिर चौतर्फी आलोचित छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफू मुलुकको समस्यामा गम्भीर रहेको बताउन छाड्दैनन् । तर पार्टी लचक बन्दै गर्दा उल्टै घेराबन्दीमा परेको अभाष माओवादी नेताहरु लगायत प्रचण्ड स्वयम्लाई समेत परेको छ । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संसदमा केही समय रडाको मच्चायो । 

केपी ओली नेतृत्वको सरकारलाई असफल गराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि माओवादीलाई साथ दियो । वर्तमान ब्यवस्थाकै विरोधमा आन्दोलित राप्रपा यहि मौकामा संसदमा पनि सरकारको विरोधमा माओवादीकै कित्तामा उभियो । 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुतपछि बजेटमाथि छलफल नै हुन नसक्ने अवस्था बनिरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आक्रामक रुपमा उत्रियो । त्यहीबेला माओवादी उपाध्यक्ष एवम् पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको जनयुद्धकालिन मुद्दा पनि अदालतले तानिदियो । 

यिनै विभिन्न कारणले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आएको माओवादी केन्द्र अन्य विपक्षी दलहरुलाई बेवास्ता गर्दै एमालेसँग २ बुँदे अमुर्त सहमति गरी संसदको अवरोध हटाउन राजी बन्यो । जसको पार्टी भित्रैबाट नेतृत्वको आलेचना भइरहेको छ । जसको जवाफ दिन पनि प्रचण्डलाई मुश्किल परिरहेको छ । 

यता शान्ति प्रक्रियाको अधुरो कार्यहरु पनि पूरा हुने छाँट कहिँ कतै देखिएको छैन । मुलुकमा दलीय प्रतिस्पर्धाको नाममा एकले अर्कोलाई सिध्याउने र ध्वंश गर्ने दिशातर्फ गइरहेको माओवादी केन्द्रका महासचिव देव गुरुङको चिन्ता छ । 

पछिल्लो पटक भिजिट भिसा प्रकरणमा संसदमा सशक्त रुपमा उभिने प्रण गरेको माओवादीले अन्य विपक्षी दलहरुलाई लात हानेर संसदको अवरोध हटाउन अघि बढ्यो । 

माओवादीकै कारण सभामुख देवराज घिमिरे अन्य विपक्षी दलहरु रास्वपा र राप्रपालाई निषेध गरेर संसद बैठक अघि बढाइ रहेका छन् । अहिले सत्ता पक्ष र विपक्षीहरु सबैको जस अपजस माओवादीकै थाप्लोमा परेको छ । त्यसैले आफू यति धेरै लचिलो बन्दा पनि घेराबन्दी परेको आभाष स्वयम् प्रचण्डले गरेका छन् । आफूले संसदको अवरोध हटाउँदा सरकार नै अवरोध नहटे हुन्थ्यो भन्ने चाहेको उको गुनासो छ । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने भन्दै रास्वपा र राप्रपाले संसदमा विरोध गर्न छाडेको छैन । तर एक्कासी यो विषयमा यूटर्न भएर अवरोध हटाएको माओवादी अध्यक्ष प्रचण्डलाई कार्यकर्ता र आमनागरिकको प्रश्न दिनै हम्मेहम्मे परिरहेको छ । त्यसैले उनले यतिबेला संसदमा अड्किएको महत्वपूर्ण ऐन निर्माणको लागि आफ्नो जिम्मेवारी रहेको तर्क गरिरहेका छन् । 

माओवादी अध्यक्ष प्रचण्डले जस्तो सुकै तर्क गरे पनि यतिबेला कुनै कुनै रुपमा सत्तारुढ दलसँग लेनादेना गरेको आशंका आम नागरिकमा छ । आम नागरिकको आशंका मेटाउन नसकेका प्रचण्डले अन्ततः आफू नै सत्ता पक्षजस्तो भएको भन्दै गोहीको आँशु चुहाउन थालेका छन् ।

 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update