News 24 Television
इजरायल र इरान युद्धको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौँ । इजरायल र इरानबिचको युद्धको अन्त्यको माग गर्दै मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । समाजले बुधवार काठमाडौँस्थित इजरायल दुतावास र इरानी वाणिज्य दुतावास अगाडि शान्तिको कामना गर्दै प्रदर्शन गरेको हो । 

मानवअधिकार तथा शान्ति समाजले शुरु गरेको युद्धका विरुद्धको अभियान स्वरूप प्रदर्शन गरिएको हो । समाजका सभापति रेनुका पौडेलले इजरायली दुतावास अगाडि आधा घण्टा र इरानी वाणिज्य दुतावास पनि आधा घण्टा प्रदर्शन गरेको बताइन् । उनले संसारको जुनसुकै कुनामा भएको युद्धबारे आफूहरू चुप नबस्ने बताइन् । 

पौडेलले भनिन्, “मानवअधिकार तथा शान्ति समाजमा पछिल्लो समय इजरायल र इरानबिचमा जुन खालको युद्ध भइराखेको छ, त्यसताविरुद्ध अभियान सञ्चालन गरेको छ । त्यो अन्तर्गत हामीले आज मात्रै इजरायली दूतावास अगाडी आधा घण्टा प्रदर्शन गरेका थियौँ भने इरानी कन्सुलेट कार्यालय अगाडी पनि प्रदर्शन ग¥यौ । संसारको जुनसुकै कुनामा भएको युद्ध पनि हामी चुप लागेर बस्न सक्दैनौँ । इजरायल र इरानबिचको युद्ध तत्काल रोकिनुपर्छ भन्ने आग्रहसहित प्रदर्शनमा छौँ ।” 

समाजका संस्थापक सभापति कृष्ण पहाडीले इरानले मानवअधिकारलाई सम्मान गर्नुपर्ने बताए । उनले इरानले लोकतन्त्रलाई बहाली नगर्दा एक्लो हुनुपरेको बताउँदै इजरायलले पहिले यो युद्ध शुरु गरेको कारणले इजरायलले शान्तिको लागि पहल गर्नुपर्नेमा जोड दिए । उनले युद्ध रोक्न संयुक्त राष्ट्रसंघसहितका शक्तिशाली राष्ट्रहरू निरीह देखिएको आरोप समेत लगाए ।

पहाडीले भने, “इरानले मानवअधिकारलाई सम्मान गर्नुपर्छ  र लोकतन्त्र बहाली गर्नुपर्छ । त्यस्तो नहुँदा आज इरान एक्लो भएको छ । इजरायलले पहिले यो युद्ध शुरु गरेको हुनाले इजरायलले शान्तिको लागि पहल पनि गर्नुपर्छ । हाम्रो नारा छ, कुटनीति ग्रहण गर । युद्धलाई टार । संयुक्त राष्ट्रसङ्घ निरीह देखियो । शक्तिशाली राष्ट्रहरू पनि निरीह देखिए । हामी कसैको पक्ष नलिई युद्धको विपक्षमा उभिन आह्वान गर्दछौँ  र शान्तिको पक्षमा उभिन आह्वान गर्दछौँ ।” 

पछिल्लो केही दिनयता मध्यपूर्वमा इजरायल र इरानबिचको युद्ध झनै चर्किएको छ । मानव अधिकारकर्मीहरूले युद्ध रोक, शान्ति कायम गर, युद्ध मानवताको अपमान हो लगायतका प्लेकार्ड समेत बोकेका थिए । 
 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update