News 24 Television
युद्ध चर्किएसँगै नेपाली नागरिकको सुरक्षा चिन्ता बढ्यो

काठमाडौँ । पछिल्लो समय मध्यपूर्वमा बढ्दै गएको तनावका कारण विश्वव्यापी चिन्ता थपिएको छ । साथै इरान, इजरायल लगायत देशमा रहेका नेपाली नागरिकको जीवन पनि खतरामा परेको छ । इरान र इजरायलबीचको युद्ध चर्किंदै जाँदा त्यहाँ रहेका हजारौँ नेपाली प्रभावित भएका छन् । सरकारी तथ्याङ्कका अनुसार इजरायलमा करिब ५ हजारदेखि ७ हजारसम्म नेपालीहरू रहेका छन् । इरानमा पनि दर्जन बढी नेपाली रहेको अनुमान गरिएको छ ।

संसदमा समेत इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षा प्रश्न उठेको छ । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि पहल गर्न सरकारसँग आग्रह गरेका थिए । करिव ७ हजार नेपाली इजरायलमा र केही नेपालीहरु इरानमा रहेको भन्दै युद्धको बादल मडारिँदा उनीहरुको उद्धार तथा सुरक्षाका लागि कुटनीतिक पहल गर्न उनको आग्रह थियो । 

सरकारले पनि त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र उद्धारबारे कार्ययोजना बनाइरहेको छ ।  मङ्गलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करको अध्यक्षतामा बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह, परराष्ट्र, पर्यटन, कानुन तथा निजी क्षेत्रका सरोकारवालाको आपतकालिन बैठक बस्यो । बैठकले इरान र इजरायलबिचको युद्ध चर्कँदै गएपछि मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाको लागि छलफल र आवश्यक योजना तय गरेको बताइएको छ ।

मन्त्रालयका सचिव पुष्करले विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई लिएर सरकारले बहुआयामिक तयारी गरिरहेको दाबी गरे । उनले सरकार, निजी क्षेत्र, एनआरएन तथा अन्तर्राष्ट्रिय साझेदारहरूको समन्वयमा सम्भावित सङ्कट व्यवस्थापनका लागि प्रो–एक्टिभ (पूर्वतयारसहित) कदम चालिएको जानकारी दिए । आफ्नो तर्फबाट गर्नुपर्ने पहलकदमीको लागि परराष्ट्र, गृह र प्रधानमन्त्री कार्यालयलाई अनुरोध गरेको जिकिर गर्दै उनले नेपाल आउन चाहनेहरूको लागि सहजीकरण गर्नेदेखि छिमेकी मुलुक हुँदै आउनुपर्ने वातावरण सिर्जना भएको अवस्थामा भिसा सहजीकरणको लागि अनुरोध गरेको पनि बताए । 

यसैबीच बुधबार मानवअधिकार तथा शान्ति समाजले इजरायल-इरान युद्ध अन्त्यको माग गर्दै  काठमाडौँमा प्रदर्शन गरेको छ । समाजले बुधवार काठमाडौँस्थित इजरायल दुतावास र इरानी वाणिज्य दुतावास अगाडि शान्तिको कामना गर्दै प्रदर्शन गरेको हो । समाजका सभापति रेनुका पौडेलले संसारको जुनसुकै कुनामा भएको युद्धबारे आफूहरू चुप नबस्ने बताइन् । समाजका संस्थापक सभापति कृष्ण पहाडीले इरानले मानव अधिकारलाई सम्मान गर्नुपर्ने बताउँदै उसले लोकतन्त्रलाई बहाली नगर्दा एक्लो हुनुपरेको दाबी गरे । 

इजरायल र इरानबिचको युद्धमा अमेरिका समेत मुछिने सम्भावना बढ्दै जाँदा यसले विश्व समुदायलाई नै चिन्तित तुल्याएको छ । अमेरिकाको प्रतिस्पर्धी शक्ति राष्ट्र चीनले इरान युद्धमा घिउ थप्ने काम नगर्न अमेरिकालाइ चेतावनी समेत दिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी शहर तेहरान खाली गर्न आदेश दिएसँगै एक आकस्मिक बैठक डाकेर इरानविरुद्धको युद्धमा अमेरिकी संलग्नताबारे छलफल गरेका छन् । इरानमाथि इजरायल र अमेरिकाको दबाब बढ्दै गए पनि इरानले सम्झौता नगर्ने अडान लिएको छ । यसले युद्ध तत्काल अन्त्य नहुने संकेत गर्छ, जसबाट त्यस क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षा चिन्ता थप बढेको छ । 
 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update