
काठमाडौँ । भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र व्याक भएपनि रास्वपाले भने गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्न छाडेको छैन । सुरुवाती दिनमा माओवादी, रास्वपा र राप्रपाले संयुक्त रुपमै गृहमन्त्रीको राजीनामा माग गरेपनि अहिले विपक्षहरु नै छिन्नभिन्न छन् । माओवादी सत्ता पक्षसँग दुई बुँदे समझदारी गरेर सदन खोल्न राजी भएको अवस्थामा रास्वपा र राप्रपा भने फरक प्रकृतिको आन्दोलनमा छन् । रास्वपाले लगातार बेल घेराउ गरेर सदनमा विरोध जनाउँदा राप्रपाले भने बैठक बहिस्कार गरेर गृहमन्त्रीको राजीनामा माग गरिरहेको छ । यस्तैमा रास्वपाले मंगलबार भने फरक प्रकृतिले संसदमा विरोध जनायो । यसअघि सदनमै पलेँटी कसेका रास्वपा सांसदहरुले मंगलबार नीलो स्कार्फमा सदनमा उपस्थित भएर गृहमन्त्रीको राजीनामा मागे ।
तर रास्वपाको नीलो स्कार्फ भने सदनमा विवादको विषय बनेको छ । रास्वपाले आफूहरुलाई नीलो क्रान्तीकर्ताको रुपमा उभ्याउँदै आएको छ । यसैको प्रतिकस्वरुप मंगलबार रास्वपा सांसदहरुले सदनमा नीलो स्कार्फ लगाएर आन्दोलन गरेका छन् । तर यो शैली सदनको मर्यादाविपरित रहेको भन्दै नेपाली काँग्रेसले भने प्रश्न उठाएको छ । काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नै सदनमा यसै विषयलाई मुद्धा बनाएर प्रश्न उठाए । उनले नीलो स्कार्फ सदनको मर्यादाविपरित भएको भन्दै रास्वपा सांसदहरुलाई हलबाट निकाल्नसमेत सभामुखसमक्ष माग गरेका थिए ।
तर यसपछि सदन चल्न सकेन । रास्वपा सांसदहरुले सदन नै बहिस्कार गरेपछि सभामुखले काँग्रेस सांसद श्याम घिमिरेको मागमा कुनै जवाफ दिन सकेनन् भने रास्वपाले पनि सदन नै बहिस्कार गरेको थियो । यसैका कारण सदन अवरुद्ध भएको छ । सदनमा रास्वपाले गरेको विरोध ठूला दलहरु एक भएको स्थितिमा पनि छिचोलिने अवस्था छैन । बरु रास्वपा संसदमा अझ सशक्त बन्ने मुडमा छ ।
रास्वपासँग एमाले पनि फायर !
रास्वपापको विरोधको शैली र संसद अवरोधको विषयलाई लिएर नेकपा एमाले पनि खुस छैन । यसअघि नेपाली काँग्रेसका सांसदले नै नीलो स्कार्फ लगाएका रास्वपा सांसदहरुलाई सदनबाट निकाल्न माग गरेपछि सदन अवरोध हुने स्थिति सृजना भयो । यस्तैमा नेकपा एमालेले पनि रास्वपाको शैलीलाई अमर्यादित भनेर टिप्पणी गरिरहेको छ । एमालेले रास्वपाकै कारण सांसदको लोगो लगाएर हिँड्न नै लज्जाबोध भएको समेत अरोप लगाएको छ ।
मुख्यतः गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा सोझो संलग्नता रहेको आरोप लगाउँदै विपक्षीले सदन अवरोध गरिरहेका छन् । यस्तैमा माओवादी केन्द्र सत्ता पक्षसँग सम्झौता गरेर सदन खुलाउने पक्षमा लागेपनि रास्वपा र राप्रपा भने गृहमन्त्रीको राजीनामा आउनुपर्ने अडान बाट व्याक भएका छैनन् ।
यस्तैमा विरोधको विभिन्न शैली अपनाइरहेको रास्वपाले सदनमा नीलो स्कार्फ लगाएको विषय विवादित बनेको छ । यसले संसदीय अभ्यास र मर्यादामै गम्भीर प्रश्न उठाएको एमाले र काँग्रेस सांसदहरुको ठहर छ । यही कारण गृहमन्त्रीको भिजिट भिसा प्रकरण हलभन्दा अझ समस्यातर्फ उन्मुख भएको छ । विभिन्न विवादकाबीच अब सदन कसरी बढ्ला र गृहमन्त्री प्रकरणको मुद्धा कहाँ पुगेर टुगिएला ? भन्ने प्रश्न अझ गम्भीर रुपमा उठेको छ ।