
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गका निकायहरुमा जनशक्ति कम भएको भन्दैं संघीय सरकारअन्तर्गत रहने गरी थप २१०२ दरबन्दी प्रस्ताव गरिएको छ । तर उक्त दरबन्दीमा दन्त चिकित्सकहरुको जम्मा १ (एक) दरबन्दी थपिएकोमा नेपाल डेन्टल एसोसिएसनको आपत्ती रहेको छ ।
२१०२ दरबन्दी थपिंदा, जम्मा १ जना दन्तचिकित्सक थपिनुले नेपाल सरकारले मुख स्वास्थ्यलाई अलिकति पनि प्राथमिकता नदिएको भन्दै नेपाल डेन्टल एसोसिएसनले स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ ।
एसोसिएसनका निवर्तमान महासचिव डा. विश्व प्रकाश ठाकुरले पछिल्लो समयमा पनि मन्त्रालयलाई पटक पटक दन्त चिकित्सकहरूको स्थायी दरबन्दी ६० जना (कुल डेन्टल सर्जन को १ प्रतिशतभन्दा पनि कम) पनि नरहेको हुँदा, दरबन्दी खोल्न दबाब दिँदै आएको र डेन्टिस्ट्री समूहमा भएको चार उपसमूहमा अझै पनि दरबन्दी शून्य रहेको जानकारी दिए ।
एशोसिएसनका वर्तमान महासचिव डा. प्रदीप भण्डारीको हस्ताक्षर रहेको ध्यानाकर्षणपत्रमा दरबन्दीमा ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोनटिक्स, पब्लिक हेल्थ डेन्टिस्टलाई नसमेटिएको र डेन्टल सर्जनको एकदमै न्यून दरबन्दी रहेको भन्दै तत्काल सच्चाउन माग गरिएको छ।
एसोसिएसनले नेपालमै जनशक्ति पर्याप्त मात्रामा भएको र आम जनतालाई यी विषयको सेवा आवश्यक हुँदा हुँदै पनि नसमेटिएको र दरबन्दी तयार गर्ने बेलामा समेत आफूहरुसंग कुनै छलफल समेत नगरिएको भन्दै आपत्ति जनाएको छ ।