
कामठाडौँ । पछिल्लो समय नेकपा एमालेभित्र र बाहिर पनि पार्टी नेतृत्वप्रतिको समर्थन घट्दै गएको छ । कतिपय सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीको सम्बोधन नै बहिस्कार गरेर आम जनता हिँडेको दृश्य बाहिर आयो । एमाले पार्टी पङ्क्तिभित्रै पनि ओलीको निर्देशन पालना हुन छाडेको देखिन्छ । भर्खरै सम्पन्न एमाले निकट अनेरास्ववियुको सम्मेलनमा सहमतिबाट नयाँ नेतृत्व चयन गर्न पार्टी नेतृत्वको आग्रह भए पनि मतदानबाट मात्रै नेतृत्व चयन गरियो । अध्यक्ष लगायत पदाधिकारी चयनमा सहमति जुट्न नसकेपछि लोतान्त्रिक अभ्यास अनुसार मतदान प्रक्रियाबाट चयन गरियो । यो एउटा उदाहरण मात्र हो ।
गत वैशाख ११ गते लोकतन्त्र दिवस र जेठ १५ गते गणतन्त्र दिवसमा एमालेले काठमाडौँको सडकमा एक÷एक लाख युवा कार्यकर्ताहरु उतार्ने दाबी गरेको थियो । तर ती कार्यक्रममा क्रमशः निराशाजनक नतिजा नै एमालेले भोग्यो । एमालेको भ्रातृ संगठन युवा संघका अध्यक्ष क्षितिज थेवेले लोकतन्त्र प्राप्तिको दिन वैशाख ११ गते एमालेले आयोजना गर्न लागेको ‘युवा सेलिब्रेसन’मा एक लाख युवा सहभागी हुने दाबी गरेका थिए । तर कार्यक्रममा त्यो दाबी अनुसारको उत्साह भने देखिएन । यस्तै, प्रधानमन्त्री ओलीले एमाले कार्यकर्ताहरुलाई जेठ १५ गते राजधानी काठमाडौंलाई आफ्नो नियन्त्रणमा राख्न दिर्नेशन दिए । यद्यपि उनको उक्त निर्देशनको चर्को आलोचना समेत भयो । उनले राजावादीहरू कुनै महान उद्देश्यका लागि नलडिरहेको भन्दै खुलेर प्रतिवाद गर्न निर्देशन दिएपछि राजावादी समूहले ओलीको विरोध समेत गरेको थियो ।
वैशाख ११ पछि जेठ १५ को कार्यक्रममा एमाले कार्यकर्ताहरुको उत्साह झनै क्षीण भएको थियो । पार्टी नेतृत्वले निर्देशन र अपेक्षा गरेअनुरुप युवा कार्यकर्ताहरुमा उत्साह र सक्रिय सहभागिता नदेखिनु चिन्ताजनक रहेको एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल बताउँछन् । बुधबार पौडेलले अध्यक्ष ओलीको बचाउ गर्दै कार्यकर्ताहरुमा उत्साह मरेको भन्दै दोष कार्यकर्तामाथि थोपरे । यद्यपि नेतृत्वका कैयौँ नीति, निर्णय तथा निर्देशन आलोचनाको घेरामा परेको र कार्यान्वयन नभएकोबारे भने उनले केही खुलाएनन् । पार्टीको एकता जोगाउँदै राष्ट्रिय राजनीतिमा एमालेको भुमिका अझ प्रभावकारी बनाउन सक्ने सामथ्य नेतृत्वसँग रहेको उनको दाबी छ । तर कार्यकर्ता तहमा सक्रियता र उत्साहमा भने कमी आएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
एमाले नेतृत्वको निर्देशनअनुसार कार्यकर्तामा उत्साह नदेखिएपछि हौसिएका विपक्षी नेता प्रचण्डले वर्तमान सरकारको हैसियत नै खस्केको टिप्पणी गरे । माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुले गपैm नगरी एक लाख मान्छे उतारेको दाबी गरे । तर एमालेले काठमाडौँ कब्जाको गफ दिएर लाजमर्दो अवस्था देखाएको भन्दै उनले एमालेको अहिले देश–दुनियाँमै बेइज्जत भएको टिप्पणी गरेका थिए ।
पछिल्लोपटक एमाले सत्ताको नेतृत्वमा गएपछि कैयौँ राजनीतिक पूर्वाग्रह र प्रतिशोधी निर्णय गरेको भन्दै आलोचना भइरहेको छ । सुशासन अभियानका नाममा विपक्षीहरुलाई छानी छानी मुद्दा हाल्ने तर आफ्नाहरुलाई जोगाउने, राम्रो काम गरेर जनतामा छवि बनाएका कुलमान, बालेनजस्ता पात्रहरुलाई एक्ल्याउने, सत्तामा भएर पनि सडकमा प्रदर्शन गराउने लगायत क्रियाकलापले एमालेको आलोचना बढ्यो । साथै पछिल्लो समय ओली र पूर्व राष्ट्रपति विद्या भण्डारीको गुट एमालेमा सक्रिय भएपछि माथिल्लो तहदेखि तलसम्मैका कतिपय नेता–कार्यकर्ताहरुले नेतृत्वका नीति, निर्णय र निर्देशनप्रति बेवास्ता गर्दै आएका छन् ।