
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाण्ड ट्रम्पले इरानलाई विना सर्त आत्मसमर्पणको लागि गरेको आग्रह इरानले अस्वीकार गरेसँगै अमेरिका इरान इजरालय युद्धमा प्रत्यक्ष संलग्न हुने सम्भावना बढेको छ । राष्ट्रपति ट्रम्पले इरानलाई आत्मसमर्पणको प्रस्ताव गरे पनि इरानले आत्मसमर्पणको अमेरिकी प्रस्ताव अस्वीकार मात्र गरेन । यदि अमेरिकाले इरानमाथि प्रत्यक्ष आक्रमण गरे अमेरिकाले अपुरणीय क्षति व्यहोर्नु पर्ने चेतवानी पनि दियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव पछि नै इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खमेनीले राष्ट्रलाई सम्बोधन गर्दै इरान राष्ट्रले आत्मसमर्पण नगर्ने प्रष्ट पारेका छन् । इरानी जनता र यसको इतिहासबारे जानकारी हुनेले धम्कीको भाषामा इरानसँग कुरा नगर्ने पनि उनको भनाइ छ । जबकी ट्रम्पले अलि खमेनीलाई सजिलै निशाना बनाउन सकिने बन्दै आत्मसमर्पणको प्रस्ताव गरेका थिए ।
सम्भावित अमेरिकी संलग्नता
अमेरिकी धम्कीकै बीच पनि इरान र इजरायलबीच युद्ध जारी छ । इजरायलले इरानका सैन्य र न्युक्लियर साइटलाई निशाना बनाएको छ । उता, इरानले पनि इजरायलमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरिरहेको छ । लम्बिदो युद्धका बीच अब यसको आयातन पनि बढ्न सक्ने जोखिम छ ।
इरानले एटम बम बनाउन प्रयास गरेको भन्दै इजरालयले इरान माथि आक्रमण गरेको थियो । इरानले आफू माथि आक्रमण गर्नको लागि एटम बमसँगै ठुला संख्यामा ब्यालेस्टिक मिसाइल निर्माणमा लागेसँग त्यसलाई रोक्न आक्रमण गरिएको इजरालयी दाबी छ । उसले आक्रमणको परिणम स्वरुप इरानी सत्ता नै ढल्न सक्ने पनि बताएको छ । किनकि इजरालयका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानी जनतालाई सर्वोच्च नेता अलि खमेनी विरुद्ध विद्रोह गर्नको लागि आह्वान गरिरहेका छन् । उता, उनले खमेनीलाई नै निशाना बनाउन सकिने पनि बताइरहेका छन् । तर, इजरायलको लागि अहिले चिन्ताको विषय फोर्डो न्यक्यिलर साइट भएको छ । किनकी यो जमिनको सतहभन्दा झण्डै २६० देखि ३०० फिट मूनि रहेको बताइन्छ । र, यसलाई ध्वस्त गर्ने हतियार इजरायलसँग छैन । त्यसैकारण इजरालय अमेरिकी सहयोगको अपेक्षामा रहेको बताइन्छ ।
जमिन भन्दा ३०० फिट मुनि रहेको मानिने फोर्डो न्यूक्लियर साइटलाई ध्वस्त गर्ने बम अमेरिकासँग मात्र रहेको छ । जसको नाम हो– GBU 57 massive ordance Penetrator । छोटकरीमा 'मब' भनिने यो बमको लम्वाइ ६ मिटर र तौल १३ हजार केजी छ । यो बम जमिनको सतहदेखि २०० फिटसम्म मूनि जान सक्ने र त्यस पछि विस्फोट हुने बताइन्छ । र, यो बमलाई बोक्न सक्ने प्लेन पनि अमेरिकासँग मात्र रहेको छ । जसको नाम हो बी टु स्टेल्थ बमर । इजरायलसँग न त यस्तो बम छ न त प्लेन नै । त्यसकारण, पनि इजरालय इरानविरुद्धको आफ्नो हवाइ आक्रमणमा अमेरिका पनि प्रत्यक्ष संलग्न भइदिइओस् भन्ने चाहिरहेको छ ।
युद्ध फैलिने चिन्ता !
इजरायलले अमेरिकी संलग्नता चाहेको भए पनि अमेरिका प्रत्यक्ष आक्रमणमा संलग्न भए त्यसले युद्धलाई विस्तार गर्ने जोखिम छ । यदि अमेरिकाले आक्रमण गरे इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडालाई निशाना बनाउने छ । त्यस्तै, इरान strait of hormuz मा पनि अवरोध सिर्जना गर्ने सक्ने छ । जसले गर्दा विश्वभर नै तेलको मुल्य बढ्ने र विश्व अर्थतन्त्र नै प्रभावित हुन सक्छ ।
उता, चीनका राष्ट्रपति सी जीङपीङले भने मध्यपूर्वमा एक्कासि बढेको तनावले चीन चिन्तित रहेको प्रतिक्रिया दिएका छन् । मध्यपूर्वमा इजरायलले इरान माथि आक्रमण पछि नै तनाव बढको उनको बुझाइ छ । इजरायल इरान युद्धबारे चीनका राष्ट्रपति सीको यो पहिलो सार्वजनिक टिप्पणी हो । उनले चीन कुनै पनि देशको सार्वभौमसत्ता, सुरक्षा र भौगोलिक अखण्डतालाई उल्लंघन गर्ने हरेक कार्यको विपक्षमा रहने उनले बताएका छन् । उनले सैन्य कारबाहीले समस्या समाधान नगर्ने बताउँदै क्षेत्रीय तनाव विश्व समुदायको साझा हितमा नरहेको बताएका छन् ।
शुक्रबारदेखि सुरु इरान इजरायल युद्धको सातौ दिन पनि एक अर्को विरुद्धको आक्रमण रोकिएको छैन । र, अमेरिका युद्धमा संलग्न संलग्न भए थप बढ्ने देखिएको छ ।