News 24 Television
सदनमा रोकिएन रास्वपा, गृहमन्त्रीको राजीनामाको एजेन्डा कायमै !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदमा अझ आक्रामक बन्दै गएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै निरन्तर सदनमा विरोध जनाउँदै आएको रास्वपाले अझ वृहत आन्दोलन गर्नेगरी पार्टीगत निर्णय नै गरेको छ । 

रास्वपाको बिहीबार बसेको सचिवालय बैठकले संसदीय दलबाट सदनमा भइरहेको कार्यको प्रशंसासमेत गरेको थियो । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सिधा सम्बन्ध रहेको भन्दै उनको राजीनामा र छानविन समिति गठन हुनुपर्ने रास्वपाको माग छ । रास्वपा सचिवालय बैठकले नै असार ७ गते आन्दोलनकै रूपमा पार्टी स्थापना दिवस पनि मनाउने निर्णय पनि गरेको छ । ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवद्र्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गर्ने रास्वपाको निर्णयमा उल्लेख छ ।

संसदमा रास्वपा भारी !

रास्वपाले गृहमन्त्री प्रकरणमा जेठ १३ गतेदेखि नै सदन अवरोध जनाएपनि बेला बखत उस्को आन्दोलनहरु निश्प्रभावी हुँदै आएका छन् । मुख्यतः प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले दुई बुँदे समझदारी गरेर सदन खोल्न सहमति गरेपछि रास्वपाको आन्दोलनहरु निश्प्रभावी भएका थिए । 

जसका कारण केही दिन सत्ता पक्ष पेलेरै सदन संचालन गर्न सफल देखियो । तर मंगलबार रास्वपा सांसदहरु नीलो स्कार्फमै सदनमा उपस्थित भएपछि बैकठ स्थगित भयो । त्यसपछि सदन सुचारु गर्न सभामुखलाई सकस नै प¥यो । स्थगित सदन बिहीबार बिहान ११ बजे खुल्ने कार्यतालिका रहेपनि रास्वपाकै विरोधका कारण निर्धारित समयमा संचालन हुन सकेन । ढिलागरी सुरु भएको बैठकमा पनि रास्वपाले सदनमा विरोध गरेको छ । 

यसअघि बेल घेराउ र नाराबाजी गरेका रास्वपा सांसदहरुले बिहीबार भने ‘वेल’मा बसेर मौन विरोध जनाएका छन्् । उता अर्को प्रतिपक्षी दल राप्रपाले पनि संसद बैठक बहिस्कार गरेको छ । उसले यसअघि देखि नै गृहमन्त्रीको राजीनामा माग गर्दै संसद बहिस्कार गर्दै आएको थियो । 

रास्वपाले बनायो छानविन समिति !

रास्वपा सांसद सुमना श्रेष्ठमाथि नक्कली पीडित खडा गरेर गृहमन्त्री रमेश लेखकविरुद्ध उजुरी दर्ता गरेको भन्ने आरोप छ । उक्त आरोपमाथि छानबिन गर्न रास्वपाले तीन सदस्यीय छानविन समिति गठन गरेको हो । गृहमन्त्री रमेश लेखकले नै संसदमा उभिएर रास्वपाको पार्टी कार्यालयमा कीर्ते, जालसाझीपूर्ण पीडितहरू तयार गर्ने गरेको आरोप लगाएका थिए । गृहमन्त्रीले नक्कली पीडित खडा गर्ने व्यक्ति पत्ता लगाएर कारवाही गर्नेसमेत संसदबाटै घोषणा गरेका थिए । 
गृहमन्त्रीले दिएको उक्त अभिव्यक्ति पीडितलाई धक्याउने आशायले आएको भन्दै यो विषयलाई रास्वपाले पश्रय नदिने निश्कर्ष निकालेको छ । तरपनि सुमना श्रेष्ठमाथि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीविरुद्ध नककली पीडित खडा गरेको भन्दै लागेको आरोपमाथि भने पार्टीले छानविन गर्ने भएको हो । 

जसका लागि प्रा.डा. चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । गृहमन्त्रीको राजीनमा माग गर्दै रास्वपाले सदनमा किसिम किसिमका आन्दोलन गरिरहेको छ । तर आन्दोलनबाट सरकार खास टसमस भएको छैन । यस्तैमा रास्वपा पनि त्यसको प्रतिवात गर्दै सरकारविरुद्ध अझै आक्रामक बन्ने रणनीतिमा छ । 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update