
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश एउटा नयाँ चरणमा प्रवेश गरिरहेको बताएका छन् । शुक्रवार ग्वार्को ओभरपासको उद्घाटन गर्दै उनले कृषिको आधुनिकीकरणतर्फ व्यापक रुपमा काम गरिरहेको र कृषिको आधुनिकीकरण भइरहेको पनि बताए ।
साथै, उद्योगतर्फ पहिला भन्दा धेरै उद्योग अहिले स्थापना भएर अघि बढेकाे भन्दै उनले कुनै पनि हालतमा निराशा पैदा गर्न नहुने बताए । आफैँले गर्न सक्छौँ भनेर अठोटका साथ अघि बढे सफलता हासिल हुने बताउँदै उनले देशलाई दुर्गम देशबाट सुगम देशमा परिणात गरिएको दाबी गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘कृषिको आधुनिकीकरणतर्फ व्यापक रुपमा काम गरिरहेका छौँ । कृषिको आधुनिकीकरण भइरहेको छ । देश एउटा नयाँ चरणमा प्रवेश गरिरहेको छ । उद्योगतर्फ पहिला भन्दा धेरै उद्योग अहिले स्थापना भइ अघि बढेका छन् । कतिपय उद्योग अहिले स्थापना भइ नचलेका पनि होलान् । कतिपय आउडेटेड भए । कतिपयलाई सञ्चालन गर्ने तयारीमा छौँ । यसरी हामीले देश बहुआयामिक ढंगले चौतर्फी रुपमा देशको विकास गरिरहेका छौँ ।’
प्रधानमन्त्री ओलीले चक्रपथ विस्तार गरी ट्राफिक जाम अन्त्य गर्ने दिशामा अघि बढिरहेको बताए । उनले विकास भयो भन्ने कुरामा चिन्ता नलिन आग्रह गर्दै विकासको नेतृत्वमा राजनीतिक दल र जनप्रतिनिधिहरुले अगुवाई गर्नुपर्ने धारणा राखे ।