News 24 Television
अन्तर्राष्ट्रिय चर्चामा नेपालको मिथेन ग्यास

काठमाडौँ । नेपालमा मिथेन ग्यासको भण्डारण रहेको भन्ने विषयले अन्तराष्ट्रिय चर्चा पाएको छ । केही दिन अघि मात्रै दैलेखमा झण्डै १ सय १२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डारण रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको थियोे । जुन प्रतिवेदन खानी तथा भूगर्भ विभागले प्राप्त गरिसकेको छ । 

प्रारम्भिक प्रतिवेदन अनुसार दैलेखका विभिन्न स्थानमा मिथेन ग्यास रहेको र यसले नेपाललाई ५० वर्षसम्म आवश्यकता पूर्ती गर्ने अनुमान गरिएको छ । यो विषयले अहिले अन्तराष्ट्रिय स्तरमै चर्चा पाइरहेको हो । नेपालमा मिथेन ग्यास रहेको विषयलाई मुख्यतः भारतीय समाचार माध्यमहरुले विशेष चासोका रुपमा समाचार प्रकाशित गरेका छन् । जसमा इन्डियन टिभीले ‘नेपाल धनी हुनेछ ! ५० वर्षसम्म ग्यासको अभाव नहुने यस्तो खोज भएको छ’ भन्ने शीर्षकमा समाचार लेखेको छ ।

त्यस्तै नवभारत टाइम्सले पनि ‘चीनले नेपालमा गाडिएको अर्बौं डलरको खजाना पत्ता लगायो, ५० वर्षसम्मको आवश्यकता पूरा हुनेछ’ भनेर समाचार प्रकाशन गरेको छ । त्यस्तैगरी द प्रीन्ट हिन्दीले पनि ‘पश्चिमी नेपालमा कुल मिथेन ग्यासको भण्डार लगभग ४३० अर्ब घनमिटर पुग्न सक्छ, जुन सम्भवतः देशको लगभग ५० वर्षको ग्यासको माग पूरा गर्न पर्याप्त हुनेछ, भनेर लेखेको छ । 

दैलेखको जलजलेमा पहिलोपटक वैज्ञानिक तरिकाले गरिएको गहिरो ड्रिलिङबाट मिथेन ग्यासको भण्डारण पुष्टि हुनुले नेपालमा ऊर्जाप्रति आत्मनिर्भरता बढाउने आशा जगाएको छ । तर प्रारम्भिक नतिजा उत्साहजनक देखिएपनि यसबारे अझै तीन सम्भावित परीक्षण गर्न भने बाँकी नै छ । यसको अन्तिम प्रतिवेदन चीनियाँ कम्पनीले सन् २०२५ डिसेम्बरसम्ममा दिने जनाइएको छ । र, सोही आधारमा मात्रै व्यावसायिक उत्पादन सम्भव वा असम्भव हुने यकिन हुने छ । 

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित ग्यास अन्वेषण परियोजनाले नेपालको ऊर्जा क्षेत्रलाई ऐतिहासिक मोडतर्फ डो¥याउने सम्भावना देखिन्छ । दैलेख जिल्लाको भैरबी गाउँपालिका–१ स्थित जलजलेमा भएको गहिरो ड्रिलिङअनुसार यसको प्ररम्भिक प्रतिवेदन तयार गरिएको थियो । चीनको जिओलोजिकल सर्भे कम्पनी र नेपाल सरकारअन्तर्गत पेट्रोलियम अन्वेषण तथा प्रवर्धन केन्द्रको सहकार्यमा २०७८ वैशाख २८ गतेदेखि ड्रिलिङ कार्य सुरु गरिएको थियो । जसमा ४ हजार १३ मिटर गहिराइसम्म पुगेर अनुन्धान भएको छ । 

प्रधानमन्त्री खुसी !

प्रधानमन्त्री केपी शर्मा ओली अन्वेषणको प्रारम्भिक प्रतिवेदनले खुसी छन् । हुन त प्रधानमन्त्री ओलीले विगतमा जनतालाई घरघरमा ग्याँस पु¥याउने आश्वसन देखाउँदै आएका  थिए । यस्ता सम्बोधनहरुमा उनी आलोचना खेप्ने गरेका छन् । र, सरकारले दैलेखमा ग्यास अन्वेषणका लागि गरेको थालनीमा पनि विरोध र आलोचना खोपेको थियो । तर अहिले ग्यास भएको प्रारम्भिक अनुमानले भने ओलीमा खुसी छाएको हो । उनले सामाजिक संजालमा भनेका छन्– ‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु । समर्थन र विरोध– आवाज थरिथरिका थिए । ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ । यो खुसीको समाचार हो।’

नेपाल मालामाल हुनसक्ला ? 

प्रारम्भिक प्रतिवेदनप्रति हाल प्रधानमन्त्री ओलीले जसरी खुसी व्यक्त गरेको छन् । र, भारतीय मिडियाले नेपाल मालामाल भनेर प्रचार गरिरहेको छ । तर, व्यावयसायिक उत्पादनबारे अहिले नै ठोकुवा गर्न नसकिने विज्ञहरुले बताइरहेका छन् । ग्यास भण्डारण रहेको भन्ने विषयले नेपाली जनमा केही आशाको किरण झुल्किएको छ । तर यसको व्यवसायिक उत्पादन र प्रयोगबारे अन्तिम प्रतिवेदन आउन बाँकी नै रहेकाले अहिले नै यसबारे ठोकुवा गर्न सकिने अवस्था देखिँदैन । यद्यपि यो ग्यास रासायनिक पदार्थ उत्पादनमा कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिने र औद्योगिक प्रक्रियामा उपयोगी हुने हुँदा व्यावसायिक उत्पादन सम्भव भए नेपालका लागि यो ठूलो उपलधि हुनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update