
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषद्को प्रथम बैठकमा राजनीतिक रुपमा अनेक विषय उठाएको छ । जसपाले मुलुकको समस्याको रुपमा पुराना दलहरु रहेको आरोपदेखि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि समेत गम्भीर आरोप लगाएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट विद्रोह गरेर अशोक राईको नेतृत्वमा गठन भएको जसपाले संघीय परिषद्को प्रथम बैठक गरेको छ । पार्टी विभाजनपछि कानूनी वैधताको प्रश्न अदालतमा विचाराधिन अवस्थामा रहेको बेला जसपा नेपालका अध्यक्ष अशोक राईले पुराना राजनीतिक दलहरुले देश र जनतालाई व्यवस्थित गर्न नसक्दा नकारात्मक शक्ति सल्बलाएको आरोप लगाएका छन् ।
ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा नेताहरुले पार्टीलाई चलायमान बनाउनुपर्नेमा मात्रै जोड दिएका छैनन्, उनीहरुले पार्टी निर्माणमा खटिनुपर्ने बेला भएको बताइरहेका छन् । जसपाबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मन्त्री पद त्यागेर आफू पार्टी निर्माणमा लागेको जिकिर गरे ।
उपेन्द्र यादवको पार्टीबाट मन्त्री हुँदाहुँदै पार्टी निर्माण गर्ने भन्दै अशोक राईको नेतृत्वमा गोलबद्ध भएको दाबी गरेका सुडीजस्तै अर्का मन्त्री प्रदीय यादवले पनि उपेन्द्रमाथि आक्रोश पोखेका छन् । उपेन्द्र यादवले भ्रम फिजाएको भन्दै आक्रोशित बनेका यादवले उपेन्द्र सधैं आफै मन्त्री बन्न खोज्ने गरेको समेत आरोप लगाए ।
जसपाको बैठकमा उनीहरुले पार्टी निर्माण, आगामी कार्ययोजना, सरकारमा रहँदा गर्ने काम लगायतका विषयमा छलफल गर्ने बताएका छन भने सार्वजनिक समारोहमा भने आक्रोश र उपेन्द्र यादवमाथि क्रोध पोख्ने काम बलियो देखिएको थियो ।