
काठमाडौं । संक्रमणकालीन न्याय कहिले टुंगो लाग्ला ? पीडित परिवारले राज्यमाथि नियमित गरिरहने प्रश्न यहि बनेको छ ।
सशस्त्र द्वन्द्धको क्रममा वेपत्ताका पारिवारले अहिले पनि आफन्त कुरिरहेका छन् । तर, राज्यले उनीहरुको यथार्थ पत्ता लगाएर परिवारलाई आश्वस्त पार्न नसक्दा पीडितहरुको घाउ पुरिन सकेको छैन् । पीडितले आफन्त खोजिरहेको बेला सरकार के गर्दैछ ? वेपत्ता छानविनका लागि बनेका आयोगहरु के गर्दैछन ? यी प्रश्नहरु अहम बनेका छन् ।
सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यले राज्यले संक्रमणकालीन न्याय दिनुको सट्टा पटक पटक ठगेको गुनासो गरिरहेका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘संक्रमणकालीन न्यायमा पीडित र सरोकारवालाका सवालहरु’ विषयक कार्यशालामा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीहरुलाई उनीहरुले सरकारले आफ्ना मागहरुको पटक पटक उपेक्षा गरेको गरेको गुनासो सुनाएका हुन् ।
संक्रमणकालीन न्याय टुंग्याउने नाममा राज्यले पटक पटक पीडितको घाउ कोट्याउने काम गरेको उनीहरुको भनाइ छ ।
पीडितहरुले न्यायको माग गरिरहेको बेला वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगकी अध्यक्ष लीलादेवी गड्तौलाले ऐन कार्यान्वयनका लागि नियमावली निर्माणलाई पहिलो प्राथमिकता दिइएको बताइन् ।
संक्रमणकालीन न्याय प्रणालीलाई टुंगो लगाउनका लागि भन्दै तीन ठुला दलका शीर्ष नेताहरुले समेत छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड र कांग्रेस सभापति शेरहबादुर देउवाबीच संक्रमणकालीन न्यायबारेमा छलफल भएको प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले बताएका छन् ।
खरेलका अनुसार एक अर्ब रुपैयाँ सङ्क्रमणकालीन न्यायसम्बन्धी कोषमा राख्ने गरी बजेट आएको र पीडितहरूको उपचार सरकारी अस्पतालबाट गर्ने कुराहरू पनि समेटिएकोले ती विषयहरू बैठकमा राखिएको बताए ।
द्वन्द्ध सकिएको लामो समयसम्म पनि पीडितले न्याय नपाउँदा संक्रमणकालीन न्याय प्रणाली अनिश्चित बन्ने खतरा बढ्दै गएको छ ।
यसले नेपालको शान्ति प्रक्रिया नै भाँडिने चेतावनी समेत दिने गरिएको छ । तर, आयोग गठनपछि पीडितलाई न्याय दिने गरि काम कहिले निर्णायक मोडमा पुग्ला ?
यो आम चासोको विषय बन्न पुगेको छ । तर, सरकारले कुनै विलम्ब नगरि संक्रमणकालीन न्यायलाई टुंगो लगाउन सकेन भने यसले अराजकता, शान्ति प्रक्रियामाथिको खतरा र सिंगो राज्य प्रणालीमाथिको प्रश्न समेत पेचिलो बनाउनेछ ।