News 24 Television
रवि र रास्वपाको गन्जागोल यात्रा, जेलको सन्देश र रणनीति के ?

काठमाडौं । राजनीतिमा नयाँ विकल्प भनेर आजभन्दा तीन वर्षअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घोषणा भयो थियो ।  

युवाको जोश, सडकमा जनभावना र मतपेटिकाको प्रतिस्पर्धाले पुराना राजनीतिक दलप्रतिको असन्तुष्टि अब मौन बस्न सक्दैनन् भन्ने देखायो । तर, सभापति रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरण तथा अन्य केही मुद्दाका कारण रास्वपा राजनीतिक एजेण्डा र पार्टीको निर्देशित सिद्धान्तभन्दा केही पर गएर सत्तासँगै जुध्नुपरिरहेको यथार्थता छ । 

नेपालको राजनीतिक जगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदायको तीन वर्ष भइसक्यो । २०७९ साल असार ७ गते नेपाली राजनीतिमा एउटा नयाँ प्रयोग सुरु भएको थियो ।  

टेलिभिजन पर्दामा अनौपचारिक शैलीका पत्रकारका रूपमा परिचित रवि लामिछानेले ‘राजनीतिमा नयाँ विकल्प’ दिने अठोटसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घोषणा गरे । त्यही वर्ष स्थानीय तह निर्वाचनमा काठमाडौं, धरान र धनगढीका स्वतन्त्र उम्मेदवारहरूले जित हात पार्दा जनमानसमा एउटा स्पष्ट सन्देश गएको थियो पुराना दलहरूप्रति असन्तुष्टि चुलिएको छ । 

त्यही सन्देशलाई राजनीतिक स्वरूप दिने उद्देश्यसहित जन्मिएको रास्वपा, प्रारम्भदेखि नै युवाको आकर्षणको केन्द्र बन्यो । सामाजिक सञ्जालमा हलचल, सडकमा युवाको भीड र मतपेटिकामा देखिएको जनसमर्थन रास्वपाले नेपाली राजनीतिमा वैकल्पिक शक्तिको रूपमा आफूलाई चिनाउन समय नै लगाएन ।

तीन वर्षको यात्राः जित, झट्का र जेल

रास्वपाको शुरुवाती यात्रा चमत्कारी लाग्ने खालको रह्यो । पाँच महिनामै सम्पन्न संघीय निर्वाचनमा उल्लेखनीय मत प्राप्त गर्दै पार्टीले केन्द्रीय राजनीतिमा प्रभावशाली उपस्थिति बनायो । रवि लामिछाने स्वयं गृह मन्त्रालय जस्तो संवेदनशील जिम्मेवारी सम्हाल्न पुगे । यद्यपि, यही उत्कर्षको बिन्दुबाट उनको राजनीतिक जीवनमा नयाँ चुनौती सुरु भयो । 

नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलाले लामिछानेको सांसद पद खारेज गरायो । केही महिनामै पुनः निर्वाचित भइ फर्किए पनि दोस्रोपटक सरकारमा गएर सत्तामा हिस्सेदार बनेका लामिछाने अहिले गम्भीर आरोपका कारण जेलमा छन् ।सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोगहरु उनीविरुद्ध छन् ।

रूपन्देहीको जेल कोठरीबाट सभापति लामिछानेले जारी गरेको लामो सन्देशले पार्टीको तीन वर्षे यात्राको पृष्ठभूमि मात्र बोलेको छैन राजनीतिक र न्यायिक प्रणालीप्रति उठाइएको प्रश्नमार्फत जनभावनासँग जोडिने प्रयास पनि गरेको छ । लामिछानेले भनेका छन् ‘अब न्याय माग्न जनताको अदालतबाहेक मेरो लागि कुनै ठाउँ बाँकी छैन ।’ उनका अनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई कब्जा गर्ने शक्ति संरचनासँग उनी संघर्षरत छन् । पार्टीभित्र यसलाई राजनीतिक षड्यन्त्रको रूपमा व्याख्या गरिँदैछ ।

यसबीच, पार्टीको ध्यान एकातर्फ लामिछानेको रिहाइ अभियानमा केन्द्रित छ भने, अर्कोतर्फ, सांगठनिक काममा शिथिलता देखिएको छ । 

संसदीय क्रियाकलाप, नीति निर्माणमा प्रभाव, जनस्तरको अभियान तीनै मोर्चामा स्पष्ट दिशाहीनता अनुभूत गरिएको छ । तीन वर्षको समीक्षा गर्दा रास्वपाले पुराना दलहरूलाई केही हदसम्म चुनौती दियो भन्नेमा शंका छैन । खासगरी राजधानी केन्द्रित मतदाता र युवापुस्ताबीच रास्वपाले ‘भिजनरी’ ब्रान्ड निर्माण गर्न सकेको थियो । तर त्यसलाई संस्थागत रूपमा टिकाउ बनाउने प्रक्रिया सुस्त देखिन्छ ।

के भयो र के गर्न बाँकी ?

रास्वपा नेपाली राजनीतिक इतिहासमा तीव्र गतिमा जनसमर्थन हासिल गर्ने दुर्लभ उदाहरण बनेको छ । परम्परागत दलहरूप्रति जनआक्रोश बढ्दो रहेका बेला रास्वपाले जनतासँग जोडिने नयाँ शैली, विशेषतः युवापुस्ताको सहभागिता, भाषाशैली र प्रस्तुतिका माध्यमबाट अपेक्षा जन्मायो। खासगरी शिक्षा, स्वास्थ्य, बेरोजगारी र पछिल्लो समय मनवतस्करी जस्ता आमजनसमस्यालाई सदनमा उठाउँदै उसले प्रारम्भिक चरणमा वैकल्पिक राजनीतिक शक्ति बन्ने संकेत पनि देखायो ।
तर, यसको यथार्थ पक्षमा केही गम्भीर चुनौती र कमजोरीहरू पनि छन् । 

पार्टीको संरचना अत्याधिक रूपमा संस्थापक सभापति रवि लामिछानेको व्यक्तिगत छविमा निर्भर छ । आन्तरिक लोकतन्त्रको अभाव स्पष्ट देखिन्छ । 

दीर्घकालीन एजेन्डा तय गर्न सकेको छैन । साथै, संस्थापक सभापतिमाथिको आपराधिक मुद्दाले पार्टीलाई गम्भीर नैतिक संकटमा पारेको छ । यस्तो अवस्थामा पार्टीले आफैलाई संस्थामा रूपान्तरण गर्ने अथवा एउटा व्यक्तिको वरिपरि घुमिरहने भन्ने प्रश्नको सामना गर्नुपर्ने छ । 

रविको समर्थनमा हस्ताक्षर अभियान तीव्र

गृहमन्त्री रमेश लेखकविरुद्धको भिजिट भिसा प्रकरणमा चर्को विरोध गर्दै आएको रास्वपाले निरन्तर सदन अवरोध गरिरहेको छ भने सभापति रवि लामिछानेको समर्थनमा हस्ताक्षर अभियान सुरु गरेको छ । कार्यवाहक सभापति डीपी अर्यालको अगुवाइमा हस्ताक्षर अभियानको विधिवत् सुरुवात गरिएको छ । 

पार्टीले गृहमन्त्री लेखकको तत्काल राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ । रास्वपाले सरकारलाई आरोप लगाउँदै लामिछानेलाई अनेकौं मुद्दामा फसाएको दाबी गर्दै देशव्यापी समर्थन जुटाउने रणनीतिसहित हस्ताक्षर अभियान थालेको हो । रवि पनि आफूविरुद्धको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान संचालन गर्नसमेत सहयोगको याचना गरेका छन् ।

त्यस्तै स्थापना दिवसकै दिन बसेको केन्द्रीय समिति बैठकबाट रास्वपाको नेतृत्व तहमा समेत केही महत्वपूर्ण निर्णयहरू भएका छन् । बैठकले हालसम्म कार्यवाहक महामन्त्रीको भूमिकामा रहेका कविन्द्र बुर्लाकोटीलाई पूर्ण रूपमा महामन्त्रीको जिम्मेवारी दिएको छ । 

मुकुल ढकालमाथि अनुशासनात्मक कारबाहीपछि कार्यवाहक महामन्त्री बनेका बुर्लाकोटी अब स्थायी महामन्त्री बनेका हुन् । त्यसैगरी, मनिष झालाई प्रवक्ताको रूपमा पूर्ण जिम्मेवारी दिइएको छ । उनी यसअघि कार्यवाहक प्रवक्ताको भूमिकामा थिए ।

रास्वपाको हुंकार : २०८४ पछि लुटतन्त्र खारेज गर्ने !

भिजिट भिसा प्रकरणमा पछिल्लो समयमा मात्र चार अर्बभन्दा बढी रकम भ्रष्टाचार भएको दाबी गर्दै रास्वपाले यस मामिलामा मौन बस्ने वा मुख नखोल्नेहरूको पनि छानबिन हुनुपर्ने बताएको छ । 

देशको नीति परिवर्तनका लागि रास्वपाले राष्ट्रिय नीति सम्मेलन गर्ने उद्देश्य राखेको भए पनि अहिलेको लुटतन्त्र र राजनीतिक अवस्थाले त्यो सम्भव नभएको उसको दाबी छ । भिजिट भिसा काण्डलाई गम्भीर भन्दै संसदमा उठाइएको आवाज कुनै साधारण विषय नभएको र यस्ता मुद्दामा बन्द कोठाभित्र निजी मन्थन नगरी खुला रूपमा अडान लिनु आवश्यक रहेको उल्लेख रास्वपाको छ ।

सन् २०८४ पछि लुटतन्त्र खारेज गरेर सुसंस्कृत राजनीति निर्माण गर्ने उद्घोष रास्वपाको छ । रास्वपाले अब दुई विकल्पमध्ये एक रोज्नुपर्ने मोडमा पुगेको छ । या त संस्थापक नेतृत्वको आडमा ‘क्याम्पेन शैली’ राजनीतिको निरन्तरता या त संस्थागत रूपान्तरण गर्दै दीर्घकालीन भूमिका तय गर्ने बाटो । 

यदि रवि लामिछाने निर्दोष ठहरिए भने पार्टीमा नयाँ उर्जा आउन सक्छ । तर यदि कानूनी लडाइँ लामो भयो वा उनी दोषी सावित भए भने पार्टीका लागि वैकल्पिक नेतृत्व उत्पादन नगरेको दोष गम्भीर हुनेछ । पार्टीका कतिपय युवा नेताहरू अहिले पनि राष्ट्रिय सवालमा सक्रिय छन् । तर तिनको प्रभाव संस्थापक नेतृत्वको छायाँबाट स्वतन्त्र छैन । 

नेतृत्वको उत्तराधिकार योजना, सांगठनिक विस्तार, र स्थानीयस्तरको जनसम्पर्कको मजबुतीले मात्र रास्वपालाई दीर्घकालीन रूपमा वैकल्पिक शक्तिको रूपमा टिक्न सहयोग प¥याउने राजनीतिक जनकारहरू बताउँछन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको तीन वर्षे यात्रा नेपाली राजनीतिमा असाधारण घटनाक्रमले भरिएको कालखण्ड बन्यो । नयाँ राजनीतिक शक्तिका रूपमा आशा जगाएर उदाएको पार्टी अहिले गम्भीर प्रश्नहरूको बीच उभिएको छ । 

के यो पार्टी संस्थाको रूपमा जीवित रहनेछ ? वा नेतृत्वको पीडामा पग्लिँदै फेरि एक क्षणिक तरंगमा सीमित हुनेछ ? रवि लामिछानेको कारागारबाट आएको भावुक सन्देशले जनभावनामा तरंग त ल्यायो । तर, भावनाले राजनीति चल्दैन, संरचना, नीति र विश्वासको पुनर्निर्माणले मात्र त्यसलाई दीर्घकालीन बनाउँने भन्दै टिप्पणी शुरु भएको छ । 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update