
काठमाडौं । कुनै समय कृषिमा आधारित समाजमा श्रमलाई संस्कारका रूपमा सम्मान गरिन्थ्यो । तर, आज गाउँहरू युवाविहीन बन्दै गएका छन् ।
कृषि र पशुपालनजस्ता परम्परागत पेशा ओझेलमा छन् र देशको उत्पादन क्षमतामा गिरावट आएको छ । देशभर शिक्षा नीति पुनरावलोकनको बहस चर्किंदै गर्दा शिक्षालाई श्रम, सीप र जीवनोपयोगी दक्षतासँग जोड्नुपर्ने माग तीव्र रूपमा उठ्न थालेको छ ।
केही दशकअघिसम्म नेपालको ग्रामीण जीवनशैली आत्मनिर्भर थियो । कृषिमा आधारित समाज जहाँ ९० प्रतिशतभन्दा बढी जनसंख्या श्रम, उत्पादन र स्वदेशी स्रोतमा निर्भर थिए ।
गाईभैंसीको दूधदेखि घरको बारीमा उब्जिएको तरकारीसम्म सबै आफ्नै श्रमको उपज थियो । त्यस समय श्रम केवल भौतिक कर्म होइन संस्कार पनि थियो । तर आजको चित्रण त्योभन्दा धेरै फरक छ । गाउँहरू युवाविहीन बन्दै गएका छन्, पहाडी भेगका जमिन बाँझिँदै छन् । खेतीपाती र पशुपालनजस्ता परम्परागत पेशाप्रति आकर्षण हराउँदै गएको छ ।
वैदेशिक रोजगारी, बेरोजगारीको चपेटा र सजिलो आयको कल्पनाले समाजलाई रित्तो बनाउँदै लगेको छ । प्राकृतिक जीवनशैली, श्रमप्रतिको सम्मान र स्वदेशी उत्पादनप्रतिको भरोसा क्रमशः ओझेल पर्दैछ । त्यसैले गुणस्तरीय, सीपमूलक, रोजगारमुखी र व्यावसायिक शिक्षा प्रणाली आजको आवश्यकता हो । यिनै कुरालाई प्रथमिकतामा राखेर शिक्षालाई रोजगारीसँग जोड्न आवश्यक रहेको शिक्षाविद्को भनाई छ ।
पछिल्लो समय बालबालिकाको अवस्था झन् चिन्ताजनक छ । ट्युसन, गृहकार्य र पुस्तकको घेराभित्र सीमित बालबालिकाहरू खेत, बगैंचा, व्यायाम, भ्रमणजस्ता व्यावहारिक अनुभवबाट वञ्चित छन् ।
जसको प्रत्यक्ष असर उनीहरूको सामाजिक सीप, आत्मनिर्भरता र सिर्जनात्मक क्षमतामा देखिएको छ । शिक्षा अब केवल किताबी ज्ञानमा सीमित रहन सक्दैन ।
‘बुक फिलोसफी’ सँगै ‘लुक फिलोसफी’ अर्थात् अभ्यास, अनुभव र प्रयोगात्मक सिकाइको जोड अपरिहार्य भइसकेको छ ।
शिक्षा नीतिको नयाँ मोड
श्रममा आधारित शिक्षा प्रणालीले मात्र युवाहरूलाई आत्मनिर्भर, उद्यमशील र सामाजिक उत्तरदायित्वयुक्त बनाउने सक्ने सम्भावना देखिएको छ ।
प्रयोगात्मक ज्ञान, उत्पादनमूलक कार्य र फिल्डमा आधारित शिक्षाले विद्यार्थीहरूलाई जीवनोपयोगी दक्षता प्रदान गर्ने देखिन्छ ।
शिक्षामा सुधारका नाममा परम्परागत दबाब, सोधपुछ र अनुशासनमूलक ढाँचाले मात्र अब काम गर्दैन । अब बालबालिकाको रुचि, सिर्जनात्मकता र श्रमप्रतिको मूल्य बुझ्दै शिक्षालाई पुनः परिभाषित गर्नुको विकल्प छैन । देशभर शिक्षा नीति पुनरावलोकनको बहस चलिरहेका बेला श्रम र सीपसँग प्रत्यक्ष सम्बन्धित शिक्षाको माग तीव्र हुँदै गएको छ ।
अबको शिक्षा नीति केवल डिग्रीको होइन दक्षताको प्रमाण बन्नुपर्छ भन्ने आवाज सबैतिरबाट उठ्न थालेको छ ।
श्रमलाई सम्मान गर्ने, सीपलाई प्राथमिकता दिने र शिक्षालाई केवल किताबभित्र सीमित नराख्ने नीति अवलम्बन गर्नु वर्तमान समयको स्पष्ट माग हो । विगतमा ब्यवहारिक शिक्षाको चर्को वकालत गर्ने दल तथा नेताहरुले पनि आफ्नै एजेण्डा विर्सिदै गएका छन् ।