काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेले सत्ता पुनरागमनका लागि फेरी विभिन्न प्रयास थालेका छन् । भदौ २१ को जेनजी आन्दोलनले दलहरुमाथि नै संकट पैदा गराएको छ । यद्यपि अहिले नेपाली कम्युनिष्ट पार्टी तथा नेकपा एमाले फेरी कुनै न कुनै तवरले सत्ता पुनरागमनको प्रयासमा देखिन थालेका हुन् । यसको तयारीस्वरुप नेपाली कम्युनिष्ट पार्टी निर्माण गरेका पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कम्युनिष्ट घटकहरुलाई एकीकृत गरेर शक्तिशाली हुने प्रयत्नमा छन् ।
उनको मुख्य जोड नै आगामी निर्वाचनसम्म संगठित भएर जाने र सत्ताको नेतृत्व गरेरै छाड्नेमा देखिन्छ । प्रचण्डले विभिन्न १६ वामपन्थी घटकहरुको एकता सम्पन्न गरिसकेका छन् । र, केही जेनजी समूहहरुलाई पनि पार्टीमा भित्र्याएका प्रचण्ड भावी दिनमा नेपाली कम्युनिष्ट पार्टीलाई युवामैत्री बनाउने घोषणा गर्दै आएका छन् । साथसाथै देशव्यापी एकता सभामा रहेका प्रचण्डले केन्द्रीय राजनीति र प्रदेश तहमा पनि एमालेबाहेकका सबै दलहरुसँग सहयर्काका लागि तयार रहेको बताएका छन् । उनी आउदो निर्वाचनसम्ममा थप शक्तिशाली बन्ने रणनीतिमै देखिएका छन् ।
उता एमाले अध्यक्ष केपी शर्मा ओली पनि सत्ता पुनरागमनकै रणनीतिमा छन् । तेस्रो कार्यकाल एमालेको नेतृत्वमा रहने तयारीमा रहेका ओलीले सत्ताको नेतृत्व गर्ने आकांक्षा अझै मारको छैनन् । ओली आउँदो निर्वाचनमा एमालेलाई पहिलो दल बनाएर फेरी प्रधानमन्त्री बन्ने आशामा छन् । ओली जुनसुकै समयमा निर्वाचन भएपनि एमाले नै शक्तिशाली पार्टी बन्ने र सरकारको नेतृत्वमा आउने दावी गर्छन् ।
जेनजी आन्दोलनकै कारण ओली सत्ताबाट नराम्रोसँग पदच्युत भए । जेनजी आन्दोलन आरम्भको प्रमुख कारण पनि ओली र तत्कालीन सरकारको चरित्र नै थियो । तर ओलीले यसलाई स्वीकार गर्न चाहेका छैनन् । ओली अझै पनि मुलुकमा वर्तमान संकट सृजना हुनुमा आफू प्रमुख कारण नभएको पुष्टि गर्न चाहन्छन् । र, यही प्रमाणित गरेर उनी फेरी एमाले नै सत्ताको नेतृत्वमा आउने बुझाइमा छन् ।
प्रधानमन्त्रीमाथि पनि ओलीको गम्भीर आरोप
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दवाव दिईरहेको भन्दै गम्भीर आरोप पनि लगाएका छन् । ओलीले यसअघि जेनजी आन्दोलनमा भएको विभिन्न घटनाको विषयलाई लिएर आफूविरुद्ध मुद्धा दर्ता गर्न लगाएको भनेर सरकारमाथि आशंका व्यक्त गरेका थिए । तर अहिले भने ओलीले प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्नका लागि सम्पती शुद्धिकरण विभागमा नेतृत्वनै परिवर्तन गरेको जिकिर गरेका हुन् । उनले सम्पती सुद्धिकरण विभागमाथि प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्न बारम्बार दबाब दिँदा पनि नमानेपछि विभागका प्रमुखलाई नै सरुवा गरेर आफू अनुकलको व्यक्ति ल्याएको समेत दावी गरेका छन् ।
ओलीले विगतमा पनि कार्की नेतृत्वको सरकारलाई असंवैधानिकताको ट्याग लगाउँदै आएका छन्, भने उनले वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नै प्राप्त नगरेको पनि टिप्पणी गर्दै आएका छन् । यस्तैमा ओलीले फेरी सम्पत्ति सुद्धिकरण विभागलाई प्रयोग गरेर सरकारले आफूलाई पक्राउ गर्न खोजिएको भन्दै थप नयाँ दावी गरेका हुन् ।
