News 24 Television
विराटनगरले मैदानमा मच्चायो सनसनी, सुदूरपश्चिमको पहिलो हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा ब्रेक लागेको छ । शनिबार विराटनगरसँग ६ विकेटले पराजित भएसँगै सुदूरपश्चिमको अपराजित यात्रा टुङ्गियो । योसँगै विराटनगरले क्वालिफायर यात्रा समेत तय गरेको छ । 

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण जारी रहँदा हालसम्म अपराजित रहेको सुदूरपश्चिम रोयल्सले शनिबारको खेलमा भने पराजयको नमिठो स्वाद चाख्यो । समूहचरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सबाट ६ विकेटको पराजय भोग्नु परेको हो । समूहचरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले १४८ रनको लक्ष्य प्रश्तुत गरेको थियो । 

निर्धारित २० ओभरमा सुदूरपश्चिमले ६ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले ३२ बलमा ३ छक्का र एक चौकासहित सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै ईशान पाण्डेले ३५ बलमा २ छक्का र २ चौकासहित ३८ रन बनाए भने जोस ब्राउनले २५ बलमा २४ रन बनाए । 

त्यस्तै सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २ छक्कासहित १९ रनको योगदान गर्दा विकेटकिपर विनोद भण्डारीले १२ बलमा ३ चौकासहित १५ रनको योगदान दिए । विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चिएर ३ विकेट हात पारे । त्यस्तै प्रतिश जिसीले एक ओभरमा ४ रन दिएर २ विकेट लिए भने बसिर अहमदले ४ ओभरमा २७ रन खर्चिए । उनले एक विकेट हात पारे । 

जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले शुरुबाटै आक्रामक खेल्यो । ओपनर सम हेजल्ट र फाफ डू प्लेसिसले अर्धशतक प्रहार गरे । हेजल्टले २१ बलमा ५१ रनको पारी खेल्दा प्लेसिसले २० बलमै ५० रन बनाए । त्यस्तै मार्टिन गुप्टिल ९ बलमा २२ रन बनाएर रन आउट हुँदा बसिर अहमद ९ बलमा ८ रन बनाएर आट भए । लोकेश बम ४ बलमा ३ रन बनाएर नट आउट रहँदा प्रतिश जिसीले ३ बलमा दुई छक्कासहित १३ रनको योगदान   दिए । 

सुदूरपश्चिमका अविनाश बोहराले २.५ ओभरमा ३८ रन खर्चिएर २ विकेट लिए भने हर्मित सिंहले ३ ओभरमा १ विकेट लिएर २७ रन खर्चिए । त्यस्तै कप्तान ऐरीले २ ओभरमा ३८ रन खर्चिए भने हिक्मत महराले १ ओभरमा २० रन खर्चिए । पुनित मेहराले १ ओभरमा ९ रन खर्चिंदा ध्रुव परासरले २ ओभर बलिङ गरेर १७ रन खर्चिए । 

यससँगै विराटनगर किंग्स दोस्रो स्थानमा रहँदै पावर प्लेमा पुगेको छ । विराटनगरको ७ खेलबाट १० अंक छ भने पहिलो स्थानमा समान खेलबाट १२ अंक जोडेको सुदूरपश्चिम रहेको छ । 

एनपीएलको जारी सिजनमा काठमाण्डु गोर्खाज ७ खेलबाट १० अंकसहित तेस्रो स्थानमा रहँदा लुम्बिनी लायन्स ७ खेलबँट ८ अंकसहित चौथो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ । अब सुदूरपश्चिम र विराटनगरबीच नै मंगलवार पहिलो क्वालिफायर हुनेछ । जित हात पार्ने टोलीले शनिवार हुने फाइनल खेल्नेछ । 

पराजय हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । बुधवार इलिमिनेटरको खेलमा काठमाण्डु र लुम्बिनी लायन्स भिड्नेछन् । जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्दा पराजय हुने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायर जित्ने टिम फाइनल पुग्नेछ । 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update