
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले ५ वटा जिल्ला बाहेक अरु जिल्लाका नागरिक नेपाली होइनन् भन्दै प्रश्न गरेका छन् । आईतवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रश्नै-प्रश्न गरे ।
जम्मा ५ वटा जिल्लाका मात्र नेपाली नागरिक हुन र अरू हैनन् ? भन्दै उनले प्रश्न गरे । कर्णाली, मुगुदेखि तराई–पहाडका ५ जिल्ला बाहेक ७२ जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन् ? संसदमा उनकाे प्रश्न थियाे- नागरिकलाई खानेपानीदेखि सिँचाइको लागि बोरिङ गाडिदिन पाए हुन्थ्यो भन्ने लाग्दैन ?
सांसद शर्माले प्रधानमन्त्री र मन्त्रीहरूलाई अलिकति पनि दया नलाग्ने गरेको जिकिर गरे । नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन ? भन्दै उनले थप प्रश्न गर- अब ५ जिल्लाका मान्छेहरूले मात्रै रुख र सूर्यमा भोट हाले पुग्ने हो ?
सांसद शर्माले भने, “५ वटा जिल्लाका मात्र नेपाली नागरिक हुन त ? हाम्रो कर्णाली, मुगु, मुस्ताङ, मधेसको, तराइको, पहाडको ५ जिल्ला बाहेक ७२ जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन् ? तपाईँहरूलाई अलिकति दया लाग्दैन ? त्यहाँका नागरिकले पानी खान पाइदिए हुन्थ्यो, किसानहरूको लागि भत्किएको कुलो अलिकति बनाइदिन पाए हुन्थ्यो, सिँचाइको लागि एउटा बोरिङ गाडिदिन पाए हुन्थ्यो भन्ने लाग्दैन ? म तपाईँहरूलाई भन्न चाहन्छु, नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन ? तपाईँहरूको देशको मन्त्री, नेता हो कि देशको एउटा सानो झुन्ड भित्रको ? तपाईँहरू एक्लै चुनाव जितेर आएको हो ? त्यसो भए गठबन्धनको आवश्यकता किन ? अब यही ४–५ वटा जिल्लाका मान्छेहरूले मात्रै रुख र सूर्यमा भोट हाले भयो त ? तपाईँहरू अर्को पटक सदन चलाउन सक्नुहुन्छ ? यो मेरो गम्भीर प्रश्न हो यहाँहरूलाई ।”
उहाँले आगामी आर्थिक वर्षको बजेटलाई तत्काल संशोधन गरी समन्यायिक बनाउनुपर्ने उनकाे माग छ ।