
काठमाडौँ । संसद असार १३ गतेदेखि निर्धक्क ढंगले चल्न सकेको छैन । लागतार संसदमा रास्वपा र राप्रपाले विरोध जनाउँदै आएका छन् । उनीहरुले आइतबारको संसद बैठकमा पनि विरोध जनाउँदै गृहमन्त्री रमेश लेखकको राजीनामा मागे ।
सुरुमा प्रतिपक्षी दलहरु एकजुट भएर गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा संलग्नता रहेको आरोप लगाउँदै उनको राजीनामा माग गरिरहेपनि पछि माओवादी केन्द्र दुई बुँदे समझादरी गर्दै पञ्छियो । तर बाँकी विपक्षी दल रास्वपा र राप्रपाले भने सदनमा विरोध रोकेका छैनन् । विरोधकै शिलशिलामा राप्रपा सदन बहिस्कार गर्दै बैठकमा अनुपस्थित हुँदै आएको छ । उसले पेलेरै चलाइएको सदनमा सहभागी नुहने र बहिस्कारका बेलाका सांसदले प्राप्त गर्ने भत्ता समेत नलिने घोषणा गरिसकेको छ ।
संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको हैसियत समान हुने भन्दै राप्रपाले सत्ता पक्षबाट संख्यात्मक बल प्रयोग भएको आरोप लगाइरहेको छ । विपक्षीलाई प्रष्टिकरण दिन गृहमन्त्री रमेश लेखकले संसदमा आफ्ना विचारहरु पनि राखिसकेका छन् । तर लेखेकको प्रष्टिकरले विपक्षी कन्भिन्स् हुन सकेन । बरु नक्कली उजुरी र नक्कली पीडित खडा गरेको भनेर उल्टै आरोप लागाएपछि रास्वपा गृहमन्त्रीसँग अझ विच्किएको छ । यस्तैमा रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा र छानविनको विषयलाई अझ सशक्त रुपमा उठाइरहेका छन् ।
माओवादीले पनि दवाब दिँदै !
उता माओवादी केन्द्र पनि गृहमन्त्रीसहित समग्र भिजिट भिसा प्रकरणका समस्याहरु छानविन गर्न गरिएको समझदारीको कार्यन्वयनमा ढिलाइ भएको भन्दै सरकारप्रति शंका व्यक्त गर्न थालेको छ । माओवादी सांसद अमनलाल मोदीले भिजिट भिसा प्रकरणको मुद्धामाथि अनुसन्धानका लागि समिति गठन गर्नका लागि एक महिनाको भाका नगुज्राउन सुझाव दिए ।
यस्तै माओवादी केन्द्रकै प्रमुख सचेतक हितराज पाण्डले पनि भिजिट भिसा प्रकरणमा गरिएका सम्झौता यथाशिघ्र कार्यान्वयन गर्न सरकारलाई माग गरेका छन् ।
गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा विवादित भएपनि उनले नैतिकताका आधारमा राजीनामा दिन सकेका छैनन् । र, सरकारले पनि छानविन समिति गठन गर्न तदारुकता देखाइरहेको छैन । विपक्षीबाट लागतारजसो विरोध भइरहँदा पनि गृहमन्त्रीले संसदमा प्रष्टिकरण दिएर चोखिने प्रयास गरेका छन् । यस्तैमा सदन विपक्षीलाई पेलेरै अघि बढाइँदैछ । तर रास्वपा र राप्रपाले भने सरकारको दवावकाबीच सदनमा संघर्ष रोकेका छैनन् । यसरी विपक्षी सदनमा नरोकिए पनि दुवै पक्षले सदन निर्वाद संचालनका लागि भने कुनै विकल्प पेश गरेको देखिन्न ।