
काठमाडौँ । अन्ततः इरान इजरालय युद्धमा अमेरिका पनि होमिएको छ । इरानविरुद्ध इजरायली आक्रमणमा सहयोगीको भूमिका रहेको अमेरिका आफै युद्धमा सहभागी भएको छ । इरानमाथि आक्रमण गर्ने वा नगर्ने बारे २ हप्ता पछि मात्र निर्णय गर्ने बताएका ट्रम्पले दुई दिन पछि नै आक्रमण गरेका हुन् । इरानका न्यूक्लियर साइटलाई ध्वस्त गर्न अमेरिकी सहयोगको अपेक्षामा इजरालय थियो । अन्ततः इजरालयी अपेक्षा बमोजिम नै अमेरिका आफ्ना बी २ स्टेल्थ बमर सहित युद्धमा संलग्न भएको हो ।
इरानमाथि आक्रमण पछि अमेरिकी राष्ट्रपति डोनाण्ड ट्रम्पले लेखेका छन्ः
हामीले इरानका तीनवटा आणविक स्थलहरू- फोर्डो, नटन्ज र इस्फहानमा अत्यन्त सफल आक्रमण सम्पन्न गरेका छौं। सबै विमानहरू अब इरानको हवाई क्षेत्रबाट बाहिर छन्। प्राथमिक स्थल फोर्डोमा बमहरूको पूर्ण मात्रा खसालिएको छ। सबै विमानहरू सुरक्षित रूपमा घर फर्किंदै छन्। हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई छ। विश्वमा अरू कुनै सैन्यले यो गर्न सक्थेन। अब शान्तिको समय हो । यो विषयमा तपाईंको ध्यानको लागि धन्यवाद।
ट्रम्पले आक्रमणको उद्देश्य इरानको आणविक क्षमता नष्ट गर्दै आणविक खतरा रोक्नु रहेको बताएका छन् ।
इजरालयका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्रम्पको कदमलाई साहसी निर्णय भन्दै प्रशंसा गरेका छन् । अमेरिकी आक्रमण दुई नेताहरू र सेनाहरू बीच पूर्ण समन्वयमा भएको उनले प्रतिक्रिया दिएका छन् । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले अमेरिकी आक्रमणहरूले खतरनाक तनाव निम्त्याएको र यसले विनाशकारी परिणाम ल्याउन सक्ने बताएका छन् । उता, अमेरिकी सांसद थॉमस म्यासी इरानमाथिको आक्रमणलाई असंवैधानिक भनेका छन् ।
त्यस्तै, अमेरिकी आक्रमण पछिको आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा इरानी विदेशमन्त्री अब्बास अराग्छीले वासिङ्टनले अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको आरोप लगाएका छन् । उनले संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्य संयुक्त राज्यले इरानका शान्तिपूर्ण आणविक साइट माथि आक्रमण गरेर संयुक्त राष्ट्र बडापत्र, अन्तर्राष्ट्रिय कानून र एनपीटीको गम्भीर उल्लंघन गरेको उनको टिप्पणी छ । आज बिहानका घटनाहरू आक्रोशजनक रहेको भन्दै यसले स्थायी परिणामहरू निम्त्याउने उनको भनाइ छ । उनले इरानलाई आफ्नो सार्वभौमसत्ता, हित र जनताको रक्षा गर्न सबै विकल्पहरू सुरक्षित रहेको पनि बताएका छन् ।
अमेरिकाले इरानमाथि आक्रमण गरे जवाफ दिने बताएको इरान अब के गर्छ चिन्ता र चासो सर्वत्र छ । अब इरानले पहिले बताए अनुसार नै मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडालाई निशाना बनाउन सक्छ । त्यस्तै, उसले स्ट्रट आफ हमुर्जलाई पनि बन्द गर्ने क्षमता राख्छ । इरानले अमेरिकी हमला भएको स्वीकार गरेको भए पनि इरानी जवाफी कारबाहीबारे खबर सार्वजनिक भइसकेका छैनन्