
काठमाडौं । कांग्रेस–एमालेको सत्ता सहकार्य लामो समय जाला ? धेरैले शंका गरिरहेका छन् । संसदमै बजेटलाई लिएर चल्न थालेको आरोप–प्रत्यारोप र मन्त्रीहरुको कार्यक्षमतामाथिका खुला चुनौतिले सत्ता समीकरण लामो समय जानेमा गम्भीर शंका उत्पन्न भएको छ ।
हरेक भाषणमा सत्ता हस्तान्तरणको समय सीमा तोक्ने गरेका प्रधानमन्त्री केपी ओली पछिल्लो समय मौनप्राय छन् । यसले पनि सत्ता सहकार्यमा मिठास हराउन थालेको प्रष्ट संकेत देखिन थालेको छ ।
एक वर्ष पहिले कांग्रेस–एमालेले एकाएक सत्ता सहकार्यको सहमति गरे । तत्कालीन प्रधानमन्त्री प्रचण्डले अनेक आरोप लगाउदै संसदबाट विश्वासको मत लिएर बिदा भए ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिएपछि उपधारा ३ आकर्षित हुने र कांग्रेस सभापति शेरबहादुर देउवा ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री बन्ने ठानेका थिए । यो भएन् । अनि अहिले यो विवादको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ ।
सत्ता सहकार्य लामो समय नजाने चर्चा प्रचण्डले कुनै बेला दिनप्रतिदिन गरिरहेका थिए । उनले सत्ता आजै जान्छ, भोलि नै जान्छ भन्ने र ओलीले सत्ता हस्तान्तरणको समय तोक्नेक्रमको दोहोरी खुब चलेको थियो । तर, पछिल्लो समय न प्रचण्डले ओली सरकार ढल्ने दाबी गरिरहेका छन, न ओलीले नै सरकार हस्तान्तरणको समयसीमा तोकिरहेका छन् । यसले पनि सत्ताको मिठासपनामा केहि खटपट आएको अवस्था देखिन थालेको स्थिति छ ।
सत्ता समिकरणमा मिठास हराउदै गएको तथ्यहरु बजेट विनियोजनमा चलिरहेको छलफलले समेत प्रष्ट संकेत गरिरहेको छ । सत्तापक्षका सांसदहरुले मन्त्री फेर्न प्रधानमन्त्रीलाई सुझाव खुलेआम दिन थालेका छन् भने सरकार दुई दल मिलेर बनेको हो भन्ने हेक्का राख्न चेतावनी दिइरहेका छन् ।
एमालेले यतिमात्रै भनिरहेको छैन्, आफ्नै अर्थमन्त्री हुँदा विनियोजन भएको बजेटको दोष कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई गरिरहेको स्थिति छ । यता, कांग्रेसका चुनौति पनि कम छैनन् ।
कांग्रेस यतिमै रोकिएको छैन्, बजेट विनियोजनको निष्पक्षता जाँच गर्नुपर्नेमा समेत आवाज उठिरहेको छ ।
यसरी सत्तारुढ दलमा चलिरहेको जुहारीमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र भने गज्जबले रोस्ट हानिरहेको छ । माओवादी केन्द्रले बजेटमाथिका प्रश्नलाई बलियो पार्नका लागि भनिरहेको छ, बजेटमा प्रतिपक्षीभन्दा सत्ता पक्षका सांसदहरु नै असन्तुष्ट देखिन्छन् ।
सत्तामा रोचक जुहारीमात्रै चलिरहेको छैन्, बजेटलाई लिएर दुई दलले दूरी समेत बढाइरहेका छन् । आपसी सहमति, छलफल र सहकार्यलाई टाढा लैजादै गरेका छन् । भने प्रमुख प्रतिपक्षी दल पनि मौनप्रायः रहेरै सत्ता उलटफेरको तयारीमा जुटिरहेको देखिन्छ ।
राजनीतिक दौडधुप बढ्दै
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटवार्ता गरेका छन् । कांग्रेसमा हुँदा महामन्त्री गगन थापा निकट रहेर काम गरेका उनले कांग्रेस छाड्दा पनि देउवा पत्नी आरजुमाथि भाउजु राज भन्दै आक्रोश पोखेका थिए । तर, पार्टी छाडेपछि पहिलो पटक देउवासंग वान टु वान वार्ता गरेका स्वर्णिमले पनि अहिलेको सरकारको नेतृत्व फेर्न रास्वपाको सन्देश लिएर गएको बताइन्छ । यता, प्रचण्ड र देउवाको भेटवार्ता समेत बाक्लिएको छ ।
यो सबै कुरामा प्रधानमन्त्री केपी ओली जानकार नै भएपनि उनले देउवासंगको भरोसा कायमै राख्न चाहेको बताइन्छ । तर, अन्तिम समयमा देउवाले सुनिश्चितता खोज्ने स्थिति बनेमा ओलीले नयाँ तरिका अपनाउने समेत तयारी गरेको स्थिति छ । यद्यपी पछिल्ला समय सत्ता र प्रतिपक्षी दलहरुका मौनताले बजेट पारित भएपछि सत्ता उलटफेरको सम्भावना बढेको देखिन्छ । यदि यसो भएमा एक वर्ष पहिलेकै राजनीतिक घटनाक्रम दोहोरिने छ । एक वर्ष पहिले बजेट पश्चात असार अन्तिममा नै सरकार फेरबदल भएको थियो ।