
काठमाडौं । नेपाल आँखा अस्पताल र पेट्रोलियम ट्यांकर चालक संघले थानकोट डिपोमा आँखा शिविर संचालन गरेका छन् ।नेपालका पेट्रोलियम ट्यांकर चालकहरूमा आँखासम्बन्धी समस्या हुने गरेको पाइएको छ । उक्त समस्या हल गर्ने उदेश्यले नै आँखा शिविर संचालन गरिएको हो ।
सोमबार संचालित आँखा शिविरमा ४०० चालकमध्ये १८४ जनामा आँखा सुख्खापन, दृष्टिदोष, मोतियाबिन्दु र एलर्जी जस्ता समस्या देखिएको छ । रातको समयमा गाडीको लाइट, पेट्रोलियमको ग्यास, धूलो र घामका कारण उनीहरुमा यस्ता समस्याहरू बढेको दृष्टि रोग विशेषज्ञ डा.अरुण ढुंगानाले बताएका छन् ।
शिविरमा चालकहरूलाई सुरक्षात्मक चस्मा प्रयोग, नियमित आँखा जाँच र सचेतना अपनाउन सुझाव दिइएको छ । नेपाल आयल निगमले आगामी आर्थिक वर्षदेखि नियमित स्वास्थ्य शिविर आयोजना गर्ने योजनासमेत बनाएको छ । यस्ता शिविरले चालकको स्वास्थ्य सुधार र सडक सुरक्षा वृद्धि हुने अपेक्षा गरिएको छ।