News 24 Television
गणेशमानको नाममा कार्यकर्तालाई बजेट बाँडेपछि प्रकाशमान बने तारो ! 

काठमाडौँ । प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसबाट सरकारमा नेतृत्व गरिरहेका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह यतिखेर सत्तारुढ सांसदहरूकै निसानामा परेका छन् । आफ्ना पिता स्व. गणेशमान सिंहको नाउँबाट योजना बनाएर कार्यकर्तालाई बाँडेको आरोप उनीमाथि लागेको छ । सत्तारुढ एमालेका सांसद सूर्य थापाले मन्त्री सिंहप्रति संसदमै आक्रोश पोखे । संयुक्त सरकारमा छौँ भन्ने बिर्सेर काँग्रेसी मन्त्रीहरूले बजेटमा मनोमानी गरेको आरोप लगाउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो टिमका मन्त्री फेर्न आग्रह गरे । 

पिताजीको नामका योजनाबाट देश अघि बढ्न नसक्ने बताउँदै सांसद थापाले सहरी विकास मन्त्रालय सबैभन्दा लथालिंग रहेको टिप्पणी गरे । प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलले टुक्रे योजनामा बजेट नपार्ने भन्दै आए पनि यसमा काँग्रेसका मन्त्रीहरुले ध्यान नदिएको उनको आरोप छ । ‘जय नेपाल’ भनेकै आधारमा काँग्रेसका कार्यकर्तालाई बजेट बाँडिएको भन्दै थापाले जनताको जीवनस्तर उठाउनेतिर ध्यान जान नसकेको बताए । टुक्रे योजनाहरू फालिनुपर्ने भन्दै उनले ३ करोडका योजना सांसदहरुको सिफारिसका लागि मात्र नभई संघीय विनियोजनका निम्ति सबैमा लागू हुनुपर्ने बताए ।

यस्तै प्रतिपक्षी दल एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले पनि सहरी विकास मन्त्री सिंहमाथि प्रश्न उठाएका छन् । आफ्ना पिता त्यागी नेता गणेशमान सिंहकोे नाममा मन्त्री प्रकाशमानले करिव ५७ करोड बजेट विनियोजन गराएर पिताकै त्यागको अपमान गरेको उनको टिप्पणी छ । उत्पादनमूलक तथा युवाहरूलाई रोजगारी दिने कार्यक्रममा नभई अनुत्पादक तथा पार्टीका संरचनाहरू बनाउने नाममा प्रकाशमानले बजेट दुरुपयोग गरे गणेशमानकै बदनाम गरेको ज्वालाको आरोप छ ।

मन्त्री सिंहले संसदको रोष्टमबाटै माफी माग्नुपर्ने ज्वालाको आग्रह छ । आफ्ना रुचि, आसेपासे र वरिपरिका मान्छेका लागि विभिन्न शीर्षकमा योजनाहरू थुपारेको, मन्त्रालयललाई भरौटेहरूलाई पाल्ने र बिचौलियाहरूले कमाइ खाने भाँडो बनाइएको ज्वालाको आरोप छ । यतिमात्र हैन, पुष्पलालको नाममा समेत ७० लाख बजेट विनियोजन गरेर मन्त्री सिंहले काठमाडौँमा गाईजात्रा देखाएको ज्वालाको टिप्पणी छ ।

बजेटप्रति विपक्षीका साथै सत्तापक्षकै विभिन्न सांसदहरुले कटु आलोचना गरिरहेका छन् । सत्तारुढ काँग्रेसकै सांसद पूर्णबहादुर तामाङले पनि सहकारी विकासमन्त्री सिंहका साथै अर्का उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको चर्को आलोचना गरे । ३ करोडभन्दा मुनिको योजना बजेटमा नहाल्ने भनिँदै आए पनि दुवै उपप्रधानमन्त्रीले आफ्नो क्षेत्रमा अनेकौँ खुद्रे योजना पारेको तामाङको आरोप छ । उनले भने, ‘काठमाडौँ जिल्लामा २ लाखदेखि २ करोडसम्मका १५० योजना छन् । रुपन्देहीमा ७९ वटा हालेका छन् ? यसरी चल्छ ?’ आक्रोशित हुँदै सांसदा तामाङले २०८४ को चुनावमा यी दुईवटै मन्त्री फेरि संसदमा देख्न नपाइयोस् भन्दै बुद्ध भगवान र पशुपितिनाथसँग प्रार्थना गरेको बताए । 

प्रमुख प्रतिपक्षी दल महेन्द्रबहादुर शाहीले सही बजेट विनियोजन हुन निर्वाचन प्रणाली बदल्नुपर्ने बताए । निर्वाचन प्रणाली नबदलीकन बजेट नबदलिने जिकिर गर्दै उनले उहाँले चुनावमा जाँदा सांसदहरुले विद्यालय बनाउँछु, सडक बनाउँछु, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार विकास, तथा गरिबीको अन्त्य गर्ने, रोजगारी सिर्जना गर्ने विकास निर्माणका तमाम विषयहरु पूरा गर्छौं भनेर जनतालाई आश्वासन बाँड्ने तर ती योजनाका लागि बजेट नपर्ने समस्या रहेको बताए । साथै उनले बजेटप्रति प्रतिपक्षी दलभन्दा बढी असन्तुष्ट सत्ता पक्षकै सांसदहरु रहेको दाबी गरे ।

आइतबारको बजेल छलफलमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले झनै कडा टिप्पणी गरे । सांसद सिंहले सरकारले ५ वटा जिल्लालाई मात्रै प्राथमिकतामा राखेर बजेट ल्याएको भन्दै मात्रै आपत्ति जनाएनन्, बाँकी जिल्लालाई अमेरिका, भारत वा चीनलाई लिजमा दिनुपर्ने आशयको कटाक्ष गरे । उनको यो कटाक्षप्रति एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति जनाउँदै उक्त अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरे । त्यसपछि, सभामुख देवराज घिमिरेले सांसद सिंहले अरु मुलुकको नाम लिएर नेपालको भूमिलाई दिए हुन्छ भनेर बोलेको विषयलाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए । 
 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update