
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र यसका सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको भनेर संसदमा प्राय प्रतिपक्षी दल तथा स्वतन्त्र सांसदहरु चर्चा गर्ने गर्छन् । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यस्तै आशयको अभिव्यक्ति दिएका छन् । माओवादी अध्यक्ष प्रचण्डले रास्वपा र सभापति लामिछानेमाथि अन्याय नहोस् भन्नका लागि आफुले अन्तिमसम्म प्रयास गरेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदमा भिजिट भिसा प्रकरणमा ठूलै हल्लीचल्ली मच्चाइरेको छ । यो प्रकरणमा गृहमन्त्री रमेश लेखक प्रत्यक्ष जोडिएको भन्दै उनको राजीनामा वा उच्चस्तरीय छानविन समितिको माग राख्दै रास्वपाले संसद अवरोध र बहिष्कार गर्ने काम गरिरहेको छ ।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले केही समय संसदमा गृहमन्त्रीविरुद्ध रास्वपासँगै थियो । तर बीचैमा माओवादी केन्द्रले सत्ता पक्षलाई साथ दिदै दुई बुँदे सहमति गरेर संसद चल्ने वातावरण बनाउन तर्फ लागेपछि माओवादी केन्द्र र विशेषगरी अध्यक्ष प्रचण्डको निकै आलोचना भयो । यद्यपी माओवादी अध्यक्ष प्रचण्डले रास्वपा र सभापति लामिछानेमाथि अन्याय नहोस् भन्नका लागि आफुले अन्तिमसम्म प्रयास गरेको बताउँने गरेका छन् ।
त्यसो त नेकपा एकीकृत समाजवादी तथा अन्य स्वतन्त्र सांसदहरुले पनि संसदमा रास्वपाको साथ दिदै आएका छन् । स्वतन्त्र सांसद अमरेश सिंहले संसदमा ठूला दलहरुले सानो दल भनेर रास्वपा र स्वतन्त्र सांसद रहेको आफुलाई बोल्न नदिएर हेप्ने गरेको आरोप उनले संसदमै लगाए ।
यस्तै, नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले शासन सञ्चालनमा पक्षपात खोट देखिएको भन्दै केही समयअघि आक्रोश पोखेका थिए । उनले सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई ९० दिनसम्म विभिन्न जिल्ला डुलाएर अपमान र यातना दिइएको, तर कांग्रेस उपसभापति र नेकपा एमालेका सांसदलाई यस्तै आरोपमा कुनै कारबाही नभएको भन्दै सरकारको दोहोरो मापदण्ड भन्दै आलोचना गरेका थिए । पाण्डेले सत्तापक्षलाई एउटा कानुन र विपक्षीलाई अर्को कानुन लागू भएको जस्तो अवस्था देखिएको बताएका थिए ।
भ्रष्टाचार र अनियमितताविरुद्ध निरन्तर आवाज उठाउँदा सत्तापक्षको आँखाको कसिंगर बनेको रास्वपाले दाबी गर्ने गर्छ । यसमा कतिपय राजनीतिक विश्लेषकहरुको पनि धारणा पनि रास्वपाकै जस्तो छ । ठूलो दलहरुबाट हुने यस्तो शैली र रवैयाले मुलुकको राजनीतिमा साना दल र स्वतन्त्र सांसदहरूको भूमिका र चुनौतीलाई फेरि एकपटक उजागर गरेको छ ।