
काठमाडौं । मेडिकल र इन्जिनियरिङजस्ता परम्परागत विकल्पहरूको भीडबीच, बदलिँदो युगका मागअनुसार स्वरोजगार, प्रविधि, सिर्जनशीलता र नवीन सीपमा आधारित भविष्यका विकल्पहरू प्रति आकर्षण बढ्दै गएको छ ।
छोटो अवधिको अध्ययनपछि राम्रो आम्दानी र नेपालमै रोजगारीको सम्भावना बोकेका यस्ता नयाँ कोर्सहरू युवाको भविष्य निर्माणको वैकल्पिक बाटो बन्न थालेका छन् ।
कक्षा १२ को परीक्षा सकिएसँगै अहिले नेपालभरका झण्डै ५ लाख १० हजार विद्यार्थी भविष्यको बाटो खोज्दै छन् । ‘अब के गर्ने?’ भन्ने प्रश्न अहिले हजारौँ अभिभावक र विद्यार्थीको दिमागमा घुमिरहेको छ ।
मेडिकल, इन्जिनियरिङ, बीबीए, बीबीएस जस्ता परम्परागत विषयहरू अझै पनि धेरैको पहिलो रोजाइ बन्छन् । तर, बदलिँदो समय र प्रविधिको विकासले नयाँ करिअर सम्भावनाहरू खोलेको छ । यी विकल्पहरू कम समयमै राम्रो कमाइको ग्यारेन्टी दिन्छन् भने नेपालमै पनि अवसरको अभाव छैन । केही यस्ता आकर्षक र फरक कोर्सहरूको चर्चा गरौं ः
सनेमेटोग्राफी
– क्यामरा पछाडिको दुनियाँमा रमाउने चाहना छ भने सिनेमेटोग्राफी उपयुक्त विकल्प हो । फिल्म, म्युजिक भिडियो, विज्ञापन बनाउने क्षेत्रमा माग बढ्दो छ । नेपालमै पनि राम्रो ट्रेनिङ पाइन थालेको छ ।
डिजिटल आट्र्स र एनिमेसन
– कल्पनाशीलता र कम्प्युटर प्रविधिको संगम हो, यो क्षेत्र । मोडेलिङ, एनिमेसन, भिजुअल इफेक्ट्स, गेम डिजाइन जस्ता सीप सिकेर बलिउडदेखि हलिउडसम्म करिअरको ढोका खुलाउन सकिन्छ ।
खेलकुद व्यवस्थापन
– खेल क्षेत्रमा खेलाडी नभए पनि व्यवस्थापकका रूपमा नेतृत्व लिन सकिने नयाँ अवसर हो । गण्डकी विश्वविद्यालयले सुरु गरेको स्पोट्र्स म्यानेजमेन्ट कोर्सले इभेन्ट, बजेटिङ, ब्रान्डिङ आदिमा दक्षता दिन्छ ।
सांस्कृतिक र बौद्ध अध्ययन
– बौद्ध दर्शन र संस्कृति अध्ययन गर्दै म्युजियम, रिसर्च संस्था वा गाइडका रूपमा करिअर बनाउने चाहना राख्नेहरूका लागि उपयुक्त । काठमाडौं विश्वविद्यालयमा अध्ययनको सुविधा छ ।
फेसन र इन्टेरियर डिजाइन
– रचनात्मकता र डिजाइनमा रुचि भएकाहरूका लागि फेसन वा इन्टेरियर डिजाइन करिअरको शानदार विकल्प हो ।
पर्यावरण विज्ञान र दिगो विकास
– जलवायु परिवर्तन, जैव विविधता संरक्षणजस्ता महत्वपूर्ण क्षेत्रमा काम गर्न चाहनेहरूका लागि यो कोर्स उपयुक्त हुन्छ । युएन, वातावरण मन्त्रालय, गैरसरकारी संस्थामा अवसर छ ।
डेटा साइन्स र एआई
– भविष्यको प्रविधि भनिने डेटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्समा नेपालमै बढ्दो अवसर छ ।
मिडिया टेक्नोलोजी
– सोशल मिडिया, भिडियो एडिटिङ, ब्रान्डिङमा रुचि हुनेका लागि पूर्वाञ्चल र केयूमा कोर्स उपलब्ध छ । क्रिएटर बन्ने अवसर यो कोर्सले दिन्छ ।
अहिलेको युग केवल डाक्टर, इन्जिनियर वा अफिसमा बसेर काम गर्नेहरूको मात्र होइन सिर्जनशीलता, सीप, र नयाँ सोच बोकेका युवाहरूको युग हो । विकल्पहरू अनगिन्ती छन् ।
यदि विद्यार्थीहरूले आफ्ना रुचि, क्षमता र बजारको मागअनुसार निर्णय लिन सके भने सफलताको गन्तव्य विदेश होइन आफ्नै देशमा पनि सजिलै भेटिन्छ । करिअरको परिभाषा भीड पछ्याउने होइन, भिन्न बाटो बनाउने हो ।