News 24 Television
भित्रभित्रै सरकारको गञ्जागोल, ओली एक्लिदै, उपेन्द्र निक्लिदै !

काठमाडौं । सरकारमाथिको विश्वास घट्दो क्रममा छ, भने आलोचना चौतर्फि बढिरहेका छन् । यस्तो अवस्थामा केपी ओली नेतृत्वका सत्ता सहयात्रीहरुले नै साथ छोड्ने तयारी थालेका छन् । तर, आफ्नै पार्टीका नेताहरुबाटै आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले हार भने खाएका छैनन् । उनी अझै पनि निर्धक्क भनिरहेका छन्, सरकारको ध्यान काममा केन्द्रित छ । 

सरकारसँग प्रतिपक्षका सांसदमात्रै होइन सत्तापक्षकै सांसद पनि सन्तुष्ट छैनन् । आगामी आर्थिक वर्षको बजेटले त झन् असन्तुष्टिका पर्खाल भयंकर बनाइदिएको देखिन्छ । 

आमनागरिकका असन्तुष्टि पनि उस्तै छन् । आम्दानीले खर्च धान्न मुस्किल, सरकारी सेवामा झण्झटै झण्झट, शिक्षा क्षेत्रमा चर्केको महंगी यि र यस्ता जनजीवनसँग जोडिएका समस्याबाट आक्रान्त भएका छन्, नागरिक । 

यसैको परिणाम हो सरकारप्रतिको असन्तुष्टि । सुशासनका सवालमा पनि सरकार चुकिरहेकाले आलोचना बढ्दो क्रममा छन् । कति सांसदले त शक्तिशाली मानिने नेताका चाहना अनुसार बजेट विनियोजन गरियो अरु ठाउँलाई उपेक्षा गरियो, उपेक्षित ठाउँ नै भाडामा बेचिदिउनतसम्म भन्न भ्याएका छन् । 

चौतर्फि आलोचनाले घेरिएका प्रधानमन्त्री केपी शर्मा ओली भने निर्धक्क भनिरहेका छन्, सरकारको ध्यान सुशासन कायम गर्न र कामको गति बढाउनमा केन्द्रित छ । सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित रुपमा रहेको र आगामी दिनमा माग र आपूर्तिबिचको सन्तुलन थप कायमका लागि प्रयास गरिने बताइरहेका छन्, प्रधानमन्त्रीले । 

बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राज्यको पर्याप्त क्षमता नहुँदा बजेटमाथि सबै सांसद्हरु सन्तुष्ट हुने स्थिति नआएकाले आगामी दिनमा सन्तुलन कायमको प्रयास गरिने बताए । तर, असन्तुष्टि पोख्ने भन्दैमा जनताको बलिदान र सङ्घर्ष र सपनालाई साकार पार्ने थलो संसदमा लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनाउने खालका हल्का फुल्का टिप्पणी नगर्न उनले आग्रह गरेका छन् । 

विद्यमान व्यवस्थालाई अझ प्रभावकारी बनाउने गरि संविधानको संशोधनमा सरकार लाग्ने भएकाले संविधान र प्रणालीको अपमान हुने खालका कुरा नगर्न आग्रह गर्दै प्रधानमन्त्रीले यस प्रणाली र संविधानको रक्षा गर्नुपर्ने बताएका छन् । 

उनले मुलुकलाई समृद्ध, नेपाल सुखी नेपालीको गन्तव्य पूरा गर्ने सवालमा सरकार अघि बढेको भन्दै यसमा सबै ढुक्क हुन आग्रह गरिरहेका छन् । तर, के प्रधानमन्त्रीको आग्रह अनुसार राम्रो अवस्था आउला भन्ने आशा गर्ने आधार तयार अहिलेको सरकारले गरिरहेको छ त ? यो प्रश्न सरकारलाई जनस्तरबाट दिनप्रतिदिन खरो बनिरहेको छ । 

सत्ता सहयात्री नै साथ छोड्ने तयारीमा 

प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरिरहेको दाबी गरिरहँदा उनीसँग उनकै अधिंकाश सहयात्री सामान्य पनि सन्तुष्ट छैनन् । तर, अहिले जनता समाजवादी पार्टी (जसपा) नेपाल अझ बढी असन्तुष्ट देखिन्छ । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने लगभग निश्चित गरिसकेको छ । 

गएको आइतबार सम्पन्न भएको कार्यकारिणी समितिको बैठकले सरकारबारे निर्णय लिने अधिकार संसदीय दललाई दिएको छ । त्यसपश्चात मंगलबार बसेको सत्तारुढ दलको बैठकमा जसपा नेपालले आफ्नो सहभागिता जनाएन । सरकारको काम गराइदेख्दा सरकारलाई साथ दिइरहन आवश्यक नदेखिएको जसपा नेपालको निष्कर्ष छ । 

जसपाको समर्थन फिर्ताले ओलीलाई प्रभाव के ? 

केपी ओली नेतृत्वको सरकार बनेको यहि असार मसान्तमा एक वर्ष हुँदैछ । करिब एक वर्षको अवधिसम्मै जसपा नेपालले सरकारलाई समर्थन दियो । अब भने लगभग समर्थन फिर्ता गरिदैछ । तर, जसपा नेपालले समर्थन फिर्ता लिए पनि यो सरकारलाई अंकगणितीय रुपमा कुनै फरक पर्ने देखिँदैन । कांग्रेस र एमालेसँग नै स्पष्ट बहुमत पुग्छ । 

जसपा नेपालले समर्थन फिर्ता लिएपनि लोसपा, जनमत पार्टी, जसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थन कायम नै रहन्छ । तर, केपी ओलीमाथि नैतिकताको प्रश्न उठ्ने छ । संविधान संशोधनलगायत केही माग पूरा गर्न सरकार तयार भएको कारण जसपा नेपालले सरकारलाई समर्थन गरेको थियो । तर, सरकार बनेको एक वर्ष हुन लाग्दा पनि संशोधनको सहमति सम्बोधन नहुने अवस्था देखेकाले समेत समर्थन फिर्तालिनुको कारण बलियो बनाइदिएको जसपा नेपालको भनाई छ । 

हाल कांग्रेस–एमालेको गठबन्धनलाई मधेस केन्द्रित सबै दलले समर्थन गरेका छन् । संसद्मा रहेका तराई मधेसका पाँच दलमध्ये चार दल सरकारमै सहभागी छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, डा.सीके राउत नेतृत्वको जनमत पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी सरकारमै सहभागी छन् ।  

यसरी सरकारलाई बहुमतको सुविधा पर्याप्त भएपनि सरकारमाथिको समर्थन फिर्ता लिनु भनेको सरकारलाई अविश्वास गर्नु हो । पहिले विश्वास गरिरहेकाले अविश्वास गर्न थाल्नु भनेको सरकारप्रतिको असन्तुष्टि बढ्नु हो । राजनीतिक अवस्था तरल रहेको यो अवस्थामा सरकारले यस्ता कुराहरुलाई गम्भिरताका साथ लिँदै नागरिकसाथ सहयोग बटुल्ने गरि कार्यसम्पादन गर्ने कि ? 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update