
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुशरण गर्नुपर्ने बताए ।
ललितपुरमा बिहीवार हामी एप सार्वजनिक कार्यक्रममा बोल्दै उनले छोटो समयमा नै कोरियाले फड्को मारेको र त्यसमा नेपाली कामदारहरुको समेत योगदान रहेको बताए हुन् । कोरियासहित विभिन्न मुलुकमा गएर नेपालीले काम गरिरहेका छन् । ती राष्ट्रको आर्थिक विकासमा नेपालीहरुले महत्वपूर्ण योगदान पुर्याएको बताउँदै श्रममन्त्री भण्डारी ती देशले नेपालीको योगदानलाई कदर गर्नुपर्ने बताउनु भयो ।
नेपाली श्रमिकले पनि नेपालमा फर्किसकेपछि विदेशको सीप, पुँजी, अनुभवलाई परिचालन गरी राष्ट्र समृद्ध बनाउन लाग्नुपर्ने उनकाे भनाइ छ ।
श्रममन्त्री भण्डारीले भने– ‘हाम्रा श्रमिकले आफ्नो रगत, पसिना बगाएर काम गरिरहेका छन् । तर त्यो कामले गर्दा उनीहरुको मुलुकमा आर्थिक उन्नति, समृद्धि र विकास भइरहेको छ । त्यो विकासको साझेदार हामी पनि र्हौं । त्यस कारण हाम्रा श्रमिकहरु सम्मानका पात्र हुनुपर्छ । सुरक्षित आप्रवाशनको व्यवस्था हुनुपर्छ । त्यो मुलुकले पाएका नागरिक सरह सेवा, सुविधा, पारिश्रमिक हुनुपर्छ ।’
उनका अनुसार विदेशमा नेपाली कामदारलाई फरक दृष्टिले हेरिनु हुँदैन । ती राष्ट्रहरुले आफ्ना नागरिक सरह सेवा सुविधा दिनुपर्छ । अहिले सरकारले विभिन्न देशसँग द्विपक्षीय श्रम सम्झौता गरिँदैछ । अन्तर्राष्ट्रिय फोरमहरुमा समेत सरकारले समान व्यवहारका लागि कुरा उठाइरहेको बताउँदै उनले नेपालीले सुरक्षित रुपमा काम गर्न पाउने अधिकारको सुनिश्चित गरिने बताए ।