
काठमाडौं । एमालेभित्र उमेरहदको विषयले तनाव सिर्जना गरिदिएको छ । पार्टीको नेतृत्व गर्न उमेरले फरक पार्छ वा क्षमताले ?. एमालेभित्र चलिरहेको पछिल्लो बहस हो, यो । तर, एमालेले ७० वर्षे उमेरहद लगाएर गरिरहेको राजनीति केपी ओली अध्यक्ष बनेपछि धरमराएको छ । तर, विद्यादेवी भण्डारीले सक्रिय राजनीतिको अभ्यास थालेपछि भने रस्साकस्सी चर्किन पुगेको छ ।
एमालेले पार्टी नेतृत्व वा कुनैपनि कमिटीमा बस्नका लागि उमेरहद लगाएको छ । त्यो हो, ७० वर्ष । ७० वर्ष उमेरहद लगाएको एमालेले तत्कालीन नेकपाकालमा उमेर स्थगन गरेको थियो भने पछिल्लो समय नेकपा एकीकृत समाजवादीबाट नेताहरु आउनेभएपछि निलम्बन गरेको भनिरहेको थियो । तर, पछिल्लो समय एमालेभित्र उमेरको बहस माक्र्सवादसंग जोडेर समेत हेर्न थालिएको छ । उसोतः एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउने र एमालेको नेतृत्व गर्ने योजना बनाइसकेकी छन् ।
उनले ओलीसंग भेटेरै भनिरहेकी छन्, सक्रिय राजनीतिमा आउँछु, सहयोग गर्नुस् । तर, ओली बाहिर निर्मम पेश हुन थालेका छन् । यसैको पछिल्लो उदाहरण हो, उपमहासचिव प्रदीप ज्ञवालीले सचिवालय बैठकपछि दिएको अभिव्यक्ति । ज्ञवालीले उमेरको बारेमा माक्र्सवादमा कुनै कुरा उल्लेख नभएको मात्रै भनेका छैनन्, महाधिवेशनको समय नै नआएकाले अनावश्यक बहस तानिएको भनिरहेका छन् ।
ओलीले पनि एमालेभित्र चलिरहेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रसंगमा खास निको मानेको देखिन्न । पार्टीका कहिले को त कहिले को आउने हल्ला चलाएर के गरेको भन्दै ओलीले चर्को स्वरमा असन्तुष्टी नै पोखिसकेका छन् ।
उसोतः पूर्वराष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा आउने अभ्यास पहिलेदेखि नै गर्दै आएकी छन् । यसका निम्ति माओवादी केन्द्रले उपराष्ट्रपति नन्दबहादुर पुन ’पासाङ’लाई सक्रिय राजनीतिमा ल्याएर नजिर स्थापित गरिदिइसकेको छ । यस्तोमा उनलाई आउन सहज हुने भएपनि ओलीले भने पहिलेदेखि नै विरोध र सांकेतिक प्रतिरोध गर्दै आएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीले आफू एमालेभित्रैबाट हुर्किएको भन्दै सक्रिय बन्ने भन्दै आएकी छन् । अझं उनले केहि पहिले केपी ओलीको स्वास्थ्य लगायतका कारण पार्टी नेतृत्व कति सम्भव हुन्छ भन्ने टिप्पणी नै गरेपछि ओली थप चिढिएका थिए ।
तर, चीन भ्रमणबाट फर्किएपछि ओली–विद्याबीच लामो छलफल र कुराकानी भएपनि यो विषयमा औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन् । तर, त्यो भेटमा उमेरहदको विषय पेचिलो बनेको र ओलीले ठाँउ खाली गर्नुपर्ने आशय व्यक्त गरिदिएपछि अहिले एमालेले उमेरहदको विषयमा जोडले माक्र्सवादसंग जोड्न थालेको छ । महाधिवेशनले उमेरहदबारे निर्णय गर्ने भनिएपनि यो विषय पेचिलो बन्दे गएको छ भने एमालेमा दुई विभक्त समूहले अब उमेरहदको विषयलाई थप चर्काउने चर्चा चल्न थालेको छ ।