News 24 Television
राजनीतिक साख जोगाउन ठूला दललाई सकस

काठमाडौं । संघ तथा प्रदेशमा रिक्त निर्वाचन क्षेत्रमा पुनः उपनिर्वाचनको तयारी थालिएको छ । संघ र प्रदेशका साथै विभिन्न स्थानीय तह पनि रिक्त भएकाले सरकारले उपनिर्वाचनको तयारी थालेको हो । उपनिर्वाचनको तयारी स्वरुप निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलपछि आयोगले मतदाता नामावली दर्ता आह्वान गरेको छ । 

२०७९ सालको आम निर्वाचनपछि रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि विभिन्न समयमा उपनिर्वाचन भइसकेको छ । पहिलो पटक चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन भएको थियो भने दोस्रो पटक इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएको थियो । 

यस्तै, स्थानीय तहको रिक्त ४१ पदमा गत मंसिरमा उपनिर्वाचन सम्पन्न भएका थिए । अहिले फेरि संघ र प्रदेशसभा सदस्य पद रिक्त रहेको स्थानमा उपनिर्वाचन गर्ने तयारी सरकारले गरेको हो । 

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपा सांसद दिपक बोहराको निधनपछि पद रिक्त छ भने गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङे जेल चलान भएपछि मनाङ क्षेत्र नम्बर १ (२) पनि रिक्त छ । संघ र प्रदेशका यी दुई पदका लागि उपनिर्वाचन गर्न लागिएको हो । 

मतदाता नामावली दर्ता आह्वान 

रिक्त रहेका संघ, प्रदेश तथा स्थानीय तहमा उपनिर्वाचन गर्ने तयारी भएको भन्दै निर्वाचन आयोगले मतदाता नामावली दर्ता छुटेकाहरुलाई नामावली दर्ता गर्न आह्वान गरेको छ । ७९ सालमा सम्पन्न भएको विभिन्न तहका निर्वाचन पश्चात विभिन्न कारणले केही पदहरु रिक्त रहेकाले ती स्थानमा उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ । 

आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै छुटेका नाम दर्ता गराउन आग्रह गरेका छन् । निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन नपाइने भएकाले यथाशीघ्र छिटो नाम दर्ता गराउन आयोगले आग्रह गरेको छ ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले छलफल गरेका थिए । रिक्त विभिन्न पदमा उपनिर्वाचनको मिति तोक्नेबारे प्रधानमन्त्री र आयोग पदाधिकारीबचि छलफल भएको थियो ।

पहिलो उपनिर्वाचनमा कांग्रेसलाई झड्का 

२०७९ सालको आम निर्वाचनको झण्डै एक वर्षपछि २०८० वैशाख १० मा चितवन क्षेत्र नम्बर २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन भएको थियो । ७९ को आम निर्वाचनपछि भएको उपचुनावमा संसदको सबै भन्दा ठूलो दल कांग्रेसलाई धक्का लागेको थियो भने रास्वपाले एक पद बढाएको थियो । 

त्यतिबेला रास्वपा सभापति रवि लामिछानेलाई अदालतले अनागरिक ठहर गर्दै पद खारेज गरेको कारण चितवन २ मा उपनिर्वाचन भएको थियो भने रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त तनहुँ १ र रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको बारा २ मा उपनिर्वाचन गरिएको थियो ।

उपनिर्वाचनबाट पनि चितवन २ मा रास्वपा सभापति लामिछाने नै अझै बढी मत ल्याएर पुनःनिर्वाचित भएका थिए । राष्ट्रपति पौडेलले जितेको तनहुँ १ मा रास्वपाकै डा.स्वर्णिम वाग्ले निर्वाचित भए । 

वाग्ले कांग्रेस परित्याग गरि रास्वपाबाट चुनाव लडेका थिए । जसपा नेपालबाट निर्वाचित भएका उपराष्ट्रपति यादवको क्षेत्र बारा २ मा भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नै पार्टीको सिट सुरक्षित गरेका थिए । ७९ को निर्वाचनमा पराजित भएका यादव उपनिर्वाचनबाट संसद प्रवेश गरेका हुन् ।  

स्थानीय तह निर्वाचनमा ठूला दलकै बर्चश्व

सात महिनाअघि मात्रै गत मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचनमा भने ठूला दलहरुले नै बर्चश्व कायम राखे । संघीय संसदको तीन निर्वाचन क्षेत्र मध्ये १ ठाउँ सुरक्षित र अर्को एक सिट बढाएको रास्वपा भने स्थानीय तहको उपनिर्वाचनमा अपेक्षाकृत नतिजा ल्याउन सकेन । ७९ को निर्वाचनमा काठमाडौं लगायत शहरी क्षेत्रमा अप्रत्याशित नतिजा ल्याएको रास्वपाले काठमाडौं महानगरपालिको एक वडामा जित हासिल ग¥यो । गत मंसिर १६ मा स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि निर्वाचन भएको थियो । 

एक नगरपालिका प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, चार उपाध्यक्ष र ३३ वडाध्यक्ष गरी ४१ पदका लागि उपनिर्वाचन गरिएको थियो । 

इलाममा एमालेको साख जोगियो

गत वर्ष २०८१ बैशाखमा इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन भएको थियो । सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको स्थानमा उप–निर्वाचनमा सुभाष पुत्र सुहाङ नेम्वाङ निर्वाचित भई एमालेको साख जोगाएका थिए । 

इलाम २ मा नेपाली काङ्ग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू, पहिचानवादीको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्र सिंह थेगिम लगायतका विभिन्न दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी परेको थियो ।

पुनः रिक्त भएका पदमा उपनिर्वाचन गर्ने सरकारको तयारीसँगै राजनीतिक दलहरुको सक्रियता पनि बढेको छ । आगामी कात्तिकमा निर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने तयारी भइरहँदा राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका हुन् । त्यो बेलासम्म राजनीति दलहरुको समिकरण कसरी अघि बढ्ला प्रतिक्षाको विषय बनेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update