News 24 Television
विद्या भण्डारी अब एमालेको सक्रिय राजनीतमा

काठमाडौं । कुनै बेला प्रधानमन्त्री केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एकअर्काका परिपुरकजस्ता देखिन्थे । तत्कालीन समयमा ओलीले संसद विघटन गर्दा होस वा नागरिकता विधयेकलाई थन्क्याउने कुरा नै वा दुई कार्यकाल राष्ट्रपति पद सम्हाल्ने मौका नै किन होस, राजनीतिक रुपमा सहकार्यको मानक स्थापित भएको देखिन्थ्यो । तर, राजनीतिक सत्ता र शक्ति संघर्षसंगै परिस्थिति फेरिन थालेको छ । 

प्रधानमन्त्री ओलीले नचाहँदा नचाहँदै पनि विद्याले सक्रिय राजनीतिको उद्घोष गरेकी छन भने राष्ट्रियसभा गृहमा पनि एमाले नेता कार्यकर्ताको स्वागतमा देखिएको माहोलले अब भण्डारीलाई जबरजस्त स्थापित त गर्दैन भन्ने संकेत गरिरहेको देखिन्थ्यो । 

शनिबार राजधानीको राष्ट्रिय सभागृहको वातावरण विशेष थियो । मदन जयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा दुई चर्चित अनुहार एउटै मञ्चमा देखिए । 

नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी । एमालेभित्र यो दृश्यले उत्साहसँगै संशय र नयाँ समीकरणको संकेत पनि दिएको छ । कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीको आगमनसँगै हल हुटिङ र गडगडाहट तालीले गुञ्जायमान बन्यो । कार्यकर्ताहरूको जोश देखेर भण्डारी पनि हौसिएकी थिइन् ।

उनी आत्मविश्वासपूर्ण देखिइन् । सबैभन्दा रोचक क्षण आयो, जब उनले खुल्ला रूपमा घोषणा गरिन्  ‘म पुनः एमालेको सक्रिय राजनीतिमा फर्किएकी छु ।’ उनको आवाज केही क्षण भक्कानिएको जस्तो सुनियो, ओठ चिमोटिएको जस्तो देखियो । तर कार्यकर्ताहरूको उत्साह र समर्थनले उनले त्यो भावुकता भित्रै दबाइन् ।

अर्कोतर्फ, कार्यक्रममा प्रधानमन्त्री ओली निर्धारित समयभन्दा ढिलो पुगे । भण्डारीको जोशिलो उपस्थितिपछि उनको प्रवेश अपेक्षाकृत भन्दा सामान्य रह्यो । मञ्चमा दुबैबीच औपचारिक मुस्कान र सामान्य कुराकानी देखिए पनि अन्तरविरोधको संकेतहरू प्रस्ट देखिन्थे । ओलीले स्पेन भ्रमणको चर्चा गर्दै भण्डारीले आफ्नो भाषण सुन्न आग्रह गरेको तर उहाँ कहिल्यै नराम्रो बोल्नुहुन्न भन्दै कार्यक्रमबाट निस्किए । 

तर, ओलीको आवाजमा सतर्कता र अनुमानको आभास थियो । भण्डारीको सम्बोधनपछि एमालेभित्र बढेको उत्साह ओलीको नेतृत्वमा असहजता ल्याउन सक्ने आन्तरिक चर्चा भइरहेका छन् ।

पार्टीभित्रको द्वैध मनोविज्ञान

पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनलाई लिएर एमालेभित्र दुई धार देखिएका छन् । एकथरी नेताहरू भन्छन्–सर्वोच्च पद सम्हालिसकेकी व्यक्तिको पुनः पार्टी राजनीतिमा फर्कनु मर्यादाविपरीत र पदलोलुपता हो । यस धारको नेतृत्व स्वयं अध्यक्ष ओलीले गरिरहेका छन् । ओलीलाई डर छ कि भण्डारी फर्किएमा अर्को ‘सशक्त गुट’ बन्नेछ र पार्टी नेतृत्वमा चुनौती आइलाग्नेछ । तर, अर्काथरी नेता विशेषतः ओलीबाट विगतमा पछारिएका तर भण्डारीसँग नजिक रहँदै आएका नेताहरू भने उत्साहित छन् । उनीहरू भण्डारीलाई ओलीको उत्तराधिकारीको रूपमा अगाडि ल्याउने योजनामा छन् । भण्डारीको नेतृत्वमा एमाले पुनः संगठित भएर नयाँ उचाइमा पुग्ने उनीहरूको विश्वास छ । 

भण्डारीको पुनरागमनसँगै एमालेको भविष्यले नयाँ मोड लिन सक्ने देखिएको छ । कार्यकर्ताहरूमा उत्साह, नेताहरूमा तरंग र नेतृत्वमा असहजता छ ।

भण्डारीले पार्टीभित्र गहिरो प्रभाव जमाउने संकेत दिएकी छन् तर त्यो प्रभाव ओली नेतृत्वलाई सजिलो हुनेछ भन्ने ग्यारेन्टी छैन । एकातिर एमालेभित्र महिला नेतृत्वको सम्भावित उदय देखिन्छ भने अर्कातिर ओलीको एकछत्र नेतृत्वमा चुनौती पनि । अबको राजनीतिक चाल, गठजोड र सम्बोधनहरूले यो नाटकीय मोडलाई कता मोड्ने हो त्यो भने हेर्न बाँकी छ ।
 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update