
काठमाडौं । प्रधानमन्त्री केपी ओली स्पेन भ्रमणमा निस्किएका छन् । शनिबार भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै उनी साँझ स्पेन निस्केका हुन् । उनले स्पेनमा हुने कार्यक्रम, भेटघाटबारे समेत जानकारी गराएका छन् । प्रधानमन्त्री ओली र प्रतिपक्षीको विरोधकाबीच चलिरहेको यो भ्रमण औचित्यपूर्ण बन्ला ? प्रश्नहरु उठेका छन् ।
संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री केपी ओली स्पेनको भ्रमणका लागि त्यसतर्फ गएका छन् । ओली स्पेन भ्रमणबाट असार १९ गतेमात्रै नेपाल फर्किनेछन् । विभिन्न कार्यक्रममा सहभागी हुन स्पेन गएका ओली कतारको दोहा हुँदै स्पेन गएका हुन् । उनले आफु स्पेन जान लागेको जानकारी भने संसदलाई गराए ।
ओलीको स्पेन भ्रमणबारेको जानकारी दिन संसदमा सम्बोधन चल्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले भने विरोध जनाएको थियो । संसद बैठक नै बहिस्कार गरेर रास्वपा बाहिरिएको थियो । बैठक बहिस्कार गरिरहेको रास्वपाले भिजिट भिसा प्रकरणमा असन्तुष्टी जनादै आएको छ ।
सरकार जिम्मेवार नदेखिएको भन्दै रास्वपाले संसद बहिस्कार गरेपनि प्रधानमन्त्री ओलीले संसदलाई जानकारी भने गराए । यस्तै, ओलीको स्पेन भ्रमण तालिका कस्तो छ त ? त्यो पनि हेरौं ।
पहिलो दिनः नेपालबाट कतार हुँदै स्पेन प्रस्थान
दोश्रो दिनः असार १५ गते दिउँसो करिब ४ बजे स्पेनको सेभियामा नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापनसत्रमा सम्बोधन
– १५ गते साँझ ५ बजे प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पोद्रो साञ्चेजबीच भेटवार्ता हुनेछ । सोहिदिन नै प्रधानमन्त्री ओली स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिने रात्रिभोजमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
तेश्रो दिनः सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुने ।
– अपराह्न गेट्स फाउण्डेशनले आयोजना गर्ने विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रमलाई सम्बोधन गर्ने ।
– मित्रराष्ट्र स्टोनियाका राष्ट्रपति अलार कारिस र प्रधानमन्त्री ओलीबीच द्विपक्षीय बैठक हुनेछ ।
– दिउँसो अल्पविकसित राष्ट्रहरु (एलडिसी)को अध्यक्षको हैसियतमा सम्मेलनलाई सम्बोधन गर्ने ।
– इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली, पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको द्विपक्षीय बैठक ।
– संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटरेससँग बैठक ।
– स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) द्वारा दिइने औपचारिक रात्रिभोजमा सहभागी।
चौथो दिनः असार १७ गते अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकमा अध्यक्षता गर्दै मन्तव्य दिने ।
– स्पेन सरकारका अध्यक्ष महामहिम पेद्रो साञ्चेजद्वारा आयोजना गरिने वैश्विक ऐक्यबद्धतामा लगानीः विकास सहयोगको नयाँ दृष्टिकोण शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा सम्बोधन ।
– नेपाल सरकार, बङ्गलादेश, लाओ र संयुक्त राष्ट्रसङ्घ आवासीय संयोजक (युएनआरसी)को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिका लागि सशक्त सहनशीलता तथा जलवायु वित्तीय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेवल एलडिसी ग्राजुएशन) उच्चस्तरीय साइड–इभेन्टलाई सम्बोधन गर्ने ।
– नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुको पहलमा पानी तथा सरसफाइ वित्तीय स्रोतको प्रवाह शीर्षकको कार्यक्रममा सम्बोधन ।
– अन्तरराष्ट्रिय विकास सहयोगको पुनर्जीवन कार्यक्रममा सम्बोधन ।
– स्पेनका लागि नेपाली राजदूतले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने ।
पाँचौ दिनः असार १८ गते प्रधानमन्त्री सेभियाबाट म्याड्रिडमा आयोजना हुने कार्यक्रममा सहभागी हुने ।
– नेपाल–स्पेन विजनेश तथा लगानी प्रवद्र्धन कार्यक्रमलाई सम्बोधन गर्ने ।
छैठौं दिनः असार १९ गते स्वदेश फर्किनुअघि रियल म्याड्रिड फुटबल क्लवका अधिकारीहरुसँगको भेटघाट ।
–र साण्टियागो वर्नावाउ रङ्गशालाको अवलोकन
– स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाट
–कतारको दोहा हुँदै स्वदेश फिर्ता ।
प्रधानमन्त्री ओलीको कार्यतालिका जसरी बनेको छ, त्यसले मुलुकलाई कति लाभ दिन्छ ? यो विषयमा समेत चर्चा चलिरहेको छ । तर, ओलीको भ्रमण स्पेनको औपचारिक निमन्त्रणा वा राजकीय भन्दा पनि संयुक्त राष्ट्रसंगको कार्यक्रमको माध्यमबाट हुँदैछ । उसोतः त्यहाका शीर्ष तहसमग पनि भेटवार्ता हुने भएकाले यसको औचित्यदेखि सामरिक महत्वबारेका प्रश्नहरु उठिरहेका छन् ।