News 24 Television
खोज्यो एमालेमा ओलीको विकल्पमा विद्या 

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्ववत पार्टीमा सक्रिय राजनीति गर्ने घोषणाले एमालेमा खैलाबैला मच्चिएको छ । शनिवार मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भण्डारीले पार्टी सदस्यतासमेत नविकरण गरेको बताएपछि पार्टीमा आगामी नेतृत्वको चर्चा शुरु भएको छ । 

मदन भण्डारीले जबजको नीति अख्तियार गरे पनि त्यसलाई पूरा गर्ने अभिभारा आफ्नो भएको घोषणा विद्याले गरेपछि एमाले राजनीतिमा नयाँ ट्वीष्ट आएको छ, जसको विभिन्न किसिमको विश्लेषण शुरु भएको छ ।

जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्तको रुपमा लिएको एमालेमा अहिले मदनको नीति र विद्याको नेतृत्व भन्ने चर्चा शुरु भएको छ । 

दुई कार्यकाल राष्ट्रपति भएकी विद्या आफैले एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणासँगै पार्टी सदस्यतासमेत नविकरण गरेको बताएपछि पार्टीको आगामी नेतृत्वको चर्चा शुरु भएको हो । खासगरी एमालेले तय गरेको ७० वर्षे उमेरहदको औचित्य नभएको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिब्यक्ति दिन थालेपछि एमालेमा खैलाबेला शुरु भएको थियो । 

यो असन्तुष्टिलाई भरथेग गर्न आगामी भदौ २० गतेदेखि २२ गतेसम्म हुने विधान महाधिवेशनबाट उमेरहदको विवाद टुंग्याउने निश्कर्षमा ओली पुगेका हुन् । 

विधान महाधिवेशनबाट उमेरहद हटाएर ११ औं महाधिवेशनबाट पनि पुनः तेस्रो पटक आफै पार्टी अध्यक्ष बन्ने कसरतमा छन् । आफूले अझै २० वर्षसम्म सक्रिय राजनीति गर्नेसम्मको ओलीको अभिब्यक्तिले यो कुरालाई पुष्टी गरेको छ । ओलीले विधान महाधिवेशनबाट पारीत भएको विधान तोडमोड गर्नेदेखि अनेक तिकडम गरिन नै रहेका छन् ।  

२०७८ असोजमा गोदावरीमा सम्पन्न भएको एमालेको पहिलो विधान अधिवेशनले पालिका वा सोभन्दा माथिल्लो कमिटीमा पदाधिकारीको हैसियतमा कार्यरत कुनै पनि व्यक्ति एउटै तह र एउटै पदमा दुई पटक भन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था गरेको थियो । 

विधान महाधिवेशनबाट पारीत विधानलाई नै चितवनमा भएको १० औं माहाधिवेशनले अक्षरशः पारित गरेको थियो । तर अहिले मजुदा विधानमा त्यो व्यवस्था हटाइएको छ । 

त्यसैले यो विषय गम्भीर रुपमा छलफल गर्नुपर्ने भन्दै ठूलो समूह लागिरहेको छ । मदन जयन्तीको विशेष अवसरमा विद्याले जबजको रक्षा र पूर्णताका लागि आफूले पार्टी सदस्यता नविकरण गरेको बताइएकी थिइन् । 

भण्डारीले पार्टी सदस्यता नविकरण गरेको घोषणा गरेसँगै पछिल्लो समय एमालेमा एकछत्र राज गरेका ओलीको आगामी नेतृत्व पनि हत्याउने दाउ खतरामा परेको छ । तर ओली पक्षधरहरु भने एमालेमा ओलीको विकल्प अरु कोही नरहेको दाबी गर्दै आएका छन् । 

एमालेमा विद्याको खोजी किन ? 

विद्या भण्डारीको एमालेको सक्रिय राजनीतिमा फर्किने चाहाना कसरी भयो भन्ने विभिन्न कोणबाट हेर्नुपर्ने हुन्छ । खासगरी ओली र उनको नाम बेच्दै एमाले भित्र निरंकुशता लाद्नेहरु छन् । जसले गर्दा पार्टीको केन्द्रदेखि जिल्ला तह र ग्रासरुट नेता कार्यकर्ताले पनि ओलीको बिकल्प पार्टी भित्र खोज्नु पर्ने आवश्यकता देख्न थाले । 

ओली निकट नेताहरुका अनुसार पार्टीको जिल्लादेखि जनवर्गीय संगठनको महाधिवेशनमा पार्टी महासचिव रहेका शंकर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटि सदस्य तथा संगठन विभाग प्रमुख भानुभक्त ढकाल, स्थायी कमिटि सदस्यहरु खगराज अधिकारी, राजन भट्टराई र कोशीका मुख्य मन्त्री समेत रहेका हिकमतबहादुर कार्की लगायतका नेताहरुले पार्टी भित्र आफुहरुलाई ओली गुटको प्रमुख व्यक्ति भएको भन्दै ओलीको नाममा हस्तक्षेप गरे । 

उनीहरुले पार्टीको वडा कमिटीदेखि जनसंगठनसम्मको नेतृत्व चयन गर्दा आधिकारीक र अनाधिकारीक उम्मेदवार भन्दै प्रचार गरे । प्रधानमन्त्रीलाई पार्टीकै पदाधिकारी तवरका नेताले भेट्न खोज्दा समेत भेट्ने समय उपलब्ध भएन । नेतृत्वबाट सम्मान गर्नु पर्नेहरुलाई अपमान गर्ने र ओलीको नाममा दबाब सिर्जना गर्ने गर्दा राजनीतिक जीवनभर ओलीकै पक्षमा लागेका नेताहरु पनि उनको विकल्प खोज्न थाले । ओली पहिलोपटक अध्यक्ष हुदाँ महासचिव बनेका ईश्वर पोखरेलले त १० औं महाधिवेशनपछि पार्टी भित्रको लोकतन्त्र मरेको सार्वजनिक अभिब्यक्ति नै दिए ।  

विद्या भण्डारीले एमालेको सदस्यता नविकरण गरेको घोषणा गरे संगै एमालेमा ओली पक्षका केही नेताहरुले विद्या भण्डारीले राष्ट्रपतीको गरिमा बचाउन नसकेको भन्दै टिप्पणी गर्न थालेका छन् । तर पार्टी भित्र ओलीको कार्यशैलिप्रति रुष्ट बनेका र निस्क्रय बसेकाहरु विद्याको पुनरागमनबाट एमालेले नयाँ उचाई प्राप्त गर्नेमा विश्वस्त देखिएका छन् । 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update