काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदलाई जनताको पक्षमा निर्णय लिने र व्यवस्थाप्रति जनआस्था बढाउने संस्थाको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
संसद दिवस, २०८२ को अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको भूमिकालाई बहस, भाषण र नाराबाजी गर्ने मञ्चको रुपमा विकास गर्न नहुने बताए ।
उनले गणतन्त्रप्रति जनताको वितृष्णा बढाउन भइरहेका प्रयासहरूलाई विफल पार्न संसदले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए । पूर्वसांसदहरूको ज्ञान, अनुभव र क्षमताको उपयोग गर्दै वर्तमान चुनौतीहरू सामना गर्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए । संसदको प्रभावकारितामाथि प्रश्न खडा गर्नेमात्र नभई संसदीय व्यवस्था र प्रणालीमाथि चुनौती खडा गर्ने वितण्डताहरु भोगिरहेको भन्दै घिमिरेले व्यवस्था र प्रणालीको रक्षाका लागि एकजुट हुन जरुरी रहेको बताए ।
उनले भने, ‘संसद भाषण र नारावाजी गर्ने ठाउँ होइन । यो कार्य गर्ने, निर्णय लिने र परिणाम दिने मञ्चको रुपबाट यसलाई लानुपर्छ । जनताको आस्था बलियो बनाउने कुरा संसदले खेल्ने भूमिका हो । त्यो भूमिका खेल्नको लागि अहिले आइरहेका बहुआयामिक चुनौतीहरु छन् । खासगरी गणतन्त्रप्रति जनताको वितृष्णा बढाउन सकिन्छ कि भनेर अनेक ढंगबाट गरिएका कोशिषहरु निष्फल पार्नु नै आजको प्रमुख आवश्यकता र कर्तव्य हो । त्यसो गर्नको लागि संसदमाथि आशा, विश्वास जगाउनेगरी कामहरु गर्नुपर्छ । यसरी काम गर्ने सन्दर्भमा पूर्वसांसदहरुको ज्यादै महत्वपूर्ण भूमिका हुन्छ । उहाँहरुसँग भएको योग्यता र क्षमतालाई अहिलेको चुनौतीहरुलाई सामना गर्नको लागि सरकारको तर्फबाट खासगरी संसदको तर्फबाट अझै धेरै कामहरु गर्नुपर्छ भन्ने मलाई लाग्दछ ।’
संसदलाई प्रभावकारी बनाउन सशक्त सचिवालयको आवश्यकता रहेको उनको भनाइ छ ।