
काठमाडौँ । प्रतिनिधि सभा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।
सोमवार बसेको निर्वाचन आयोगको बैठकले रिक्त प्रतिनिधि सभा सदस्य पदमा कार्तिक १७ गते सोमवार उपनिर्वाचन गर्ने निर्णय गरेको हो । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ ।
बोहोराको गत साल चैत्र १९ गते निधन भएको थियो । बोहराको निधनसँगै रिक्त निर्वाचन क्षेत्रमा कार्तिक १७ गते सोमवार निर्वाचन हुने निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।
उनले भने, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को उपदफा ६८ बमोजिम रुपन्देही जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा रिक्त प्रतिनिधि सभा सदस्य पदमा २०८२ कार्तिक १७ गते सोमवारका दिन उपनिर्वाचन गर्नेगरी निर्वाचन गर्ने निर्णय भएको छ ।’
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को उपदफा ६८ बमोजिम रिक्त पदमा निर्वाचन गराइएको हो ।