News 24 Television
समितिले पठाएको प्रतिवेदन नै संसदले पास गरेको हो : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समितिले पठाएको प्रतिवेदन नै बैठकले पास गरेको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिवेदन तयार गर्दा त्रुटी भएको हुनसक्ने आफ्नो अनुमान रहेको बताउनुभएको हो । मंगलवार न्युज एजेन्सी नेपालसँग कुरागर्दै सभामुख घिमिरेले समितिको प्रतिवेदन बनाउन सबै सांसदहरुको ध्यान नपुगेको आफ्नो बुझाइ रहेको बताए । समितिले पठाएको प्रतिवेदन नै बैठकले पास गरेको हुँदा व्यक्ति विशेषलाई लक्षित गरेर आरोप लगाउनु राम्रो नहुने प्रतिक्रिया दिए ।

संघिय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड राखेर विधेयक अगाडी बढाउने सहमति भए पनि प्रतिनिधि सभामा प्रतिवेदनसहित पास भएर राष्ट्रिय सभामा गएको विधेयकमा कुलिङ अफ पिरियड नै हटाइएको पाएपछि समितिका सभापति र महासचिव पदमप्रसाद पाण्डेमाथि शंका गर्न थालिएको छ ।

सभामुख घिमिरेले समितिको बैठकमा कस्ता बहस छलफल भए के निष्कर्ष वा सहमति जुटेको थियो त्यसलाई कसरी अभिलेखीकरण गरियो भन्नेबारे आफूले हेर्ने बताए । विषयलाई गम्भीरताका साथ प्रक्रियागत रूपमा के कसरी काम भएको थियो भनेर हेर्न सचिवालयलाई निर्देशन दिएको पनि बताए ।

विधेयक राष्ट्रिय सभामा पुगेको र सभाले यो विधेयकलाई सच्याउने अपेक्षा रहेको उनकाे भनाइ छ । बहसमा सभामुखले सच्याउन सक्ने भन्ने कोणबाट कुराहरु आए पनि अनुसांगिक मिलाउने बाहेक विधेयक भित्र चलाउने अधिकार आफूलाई नभएको स्पष्ट पारे ।

राष्ट्रिय सभाले विधेयकमा आवश्यक संशोधनपछि पुनः प्रतिनिधि सभामा सभामा फर्के पछि थप मिलाउने कुरा प्रतिनिधि सभाको बैठकले गर्ने विश्वाश व्यक्त गरे । संसदमा दर्ता भएर संसदको बैठकले समितिमा छलफलको लागि पठाउने सबै विधेयकको छलफल, निष्कर्ष र जवाफदेहिता समिति र समिति सदस्यको हुने भएकोले त्यसको स्तरीयतामा पनि प्रश्न उठेको बताए । समितिमा कस्ता छलफल हुन्छन् र त्यसको स्तर कस्तो छ भनेर हेर्न यो कुलिंग अफ पिरियड सम्बन्धिको सांसदको प्रतिक्रियाले देखाएको उनकाे भनाइ छ ।

प्रतिनिधि सभाको बैठकमा असार १ गते कार्यसूचीमा रहेको विधेयक धेरै पछि पास भएर राष्ट्रिय सभामा पुगे पछि मात्र सांसदहरुले थाहापाउने कुराले हाम्रो छलफल र सांसदको प्राथमिकता कस्तो रहेको छ भन्ने स्पस्ट भएको बताउनु भयो । 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update