News 24 Television
महाधिवेशनको मिति तोक्ने दबाब, देउवाको उत्तराधिकारी को ? 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महाधिवेशनको विषयले प्रवेश पाएको छ । बैठकमा बोल्ने केन्द्रीय नेताहरुले महाधिवेशनको माग गरेका छन् ।

उनीहरुले तत्काल महाधिवेशनको मिति तय गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेसको विधान अनुसार आगामी मंसिरमा महाधिवेसन हुनुपर्ने हो । तर पार्टीको भ्रातृ संगठन भित्रको विवाद, सदस्यता नवीकरण जस्ता विषय विवादित भएकाले पनि महाधिवेशनको अन्योलता कायमै छ। नेपाली राजनीतिको सबैभन्दा ठुलो लोकतान्त्रिक दल नेपाली कांग्रेस भित्र १५ औँ महाधिवेसनको चर्चा सुरु भएको छ । कांग्रेस विधान अनुसार १५ औँ महाधिवेसन यहि बर्ष मंसिरमा भित्र सम्पन्न हुनुपर्नेछ । 

कांग्रेस संस्थापन इतर पक्षका नेता शेखर कोइराला र महामन्त्री गगन थापा सहितका नेताहरुले समयमै महाधिवेसन गर्नुपर्नेमा जोड दिदै आएका छन् । तर देउवा पक्षधर नेताहरु भने पदावधि सकिएपछि पनि एक वर्ष समय थप गर्न सकिने अभिब्यक्ति दिँदै आएका छन् । 

सोमबारदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कमिटिको बैठकमा पनि महाधिवेशनको विषयले प्रवेश पाएको छ । बैठकमा बोल्ने कांग्रेस केन्द्रीय सदस्यहरुले पार्टीको महाधिवेसनको मिति तत्काल तोकिनु पर्ने धारणा राखेका छन् । 

कांग्रेस महाधिवेसन हुनुपुर्व भ्रातृसंठनदेखि पार्टीको तल्लो कमिटीसम्म नेतृत्व व्यवस्थापन भइसक्ने पर्ने हो । नेताहरुको विभिन्न स्वार्थका कारण नेपाल विद्यार्थी संग, महिला संघ सहितका भातृसंगठनको चुनाव हुन सकेको छैन । 

समयमै महाधिवेसनको मागसहित विद्यार्थी नेताहरुले पटक पटक पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदै आएका छन् । पार्टी केन्द्रीय समिति बैठक चलिरहेका बेला अहिले पुनः पार्टी कार्यालयमा नै विद्यार्थी नेताहरु धर्नामा बसेका छन् । 

यस्तै, अर्काे महत्वपूर्ण पक्ष हो सदस्यता नविकरण । कांग्रेसमा क्रियाशिल सदस्यता नविकरणको ढिलाईले पनि समयमै महाधिवेशन हुने सम्भावना न्यून छ । महामन्त्री गगन थापा सदस्यता व्यवस्थापन समितिको संयोजक छन् । 

थापाले सोमबार बैठकमा अहिलेसम्म देशभरका पाँच जिल्लाले मात्रै क्रियाशिल नवीकरण बुझाएको ब्रिफिङ गरेका थिए । यसले कांग्रेस महाधिवेसन मितिको टुंगो लाग्नेमा थप आशंका पैदा गरेको छ । कांग्रेस नेता एनपी साउँद भने सबै प्रक्रिया सकेर विधानअनुसार महाधिवेसन सम्पन्न गर्नै प्रक्रियामा लाग्नु पर्ने बताउँछन् । 

उसो त कांग्रेस महाधिवेसन समयमै सम्पन्न गर्न सभापति शेरबहादुर देउवा राजी हुनुपर्ने हुन्छ । विधानतः यहि बर्ष मंसिरमा महाधिवेसन हुने भएपनि सभापति देउवाले एक वर्ष लम्ब्याउन सकिने सुविधा छ । अझ प्रधानमन्त्री ओलीपछिका वेटिङ प्राइममिनिस्ट हुन् देउवा । 

त्यसैले मुखैमा आएको प्रधानमन्त्री पद देउवाले गुमाउन चाहँदैनन् । यस्तो अवस्थामा देउवाले २०८३ मंसिरसम्म महाधिवेशन धकेल्ने निश्चित छ । तर कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले समयमै महाधिवेसन गर्नसक्नु राजनीतिक विश्लेषकहरु बताउँछन् ।  

महाधिवेशनको टुंगो नलागे पनि नेपाली कांग्रेसभित्र महाधिवेसन गतिविधि भने चलिरहेका छन् । नेताहरु आफुखुसी देश–विदेशमा संगठन विस्तारमा लागि परेका छन् । पार्टी पदाधिकारीको दावेदार नेताहरु देश दौडाहामै छन् । 

इतर पक्षका नेता शेखर कोइराला सबै भन्दा बढी देश दौडाहामा देखिन्छन् । कोइरालासहित गगन थापा, शशांक कोइराला लगायतका नेताहरु पनि सभापतिको दौड छन् भने नैनसिंह महर महामन्त्रीको दौंडमा छन् । 

देउवा उम्मेदवार नबन्ने, कसले मार्ला बाजी ? 

नेपाली कांग्रेसको विधानमा दुई कार्यकाल भन्दा बढि सभापति हुन नपाउने प्रावधान रहेको छ । कांग्रेस सभापति देउवा १५ औँ महाधिवेसनमा उम्मेदवार हुने छैनन् । यस्तो अवस्था कांग्रेसले नयाँ नेतृत्व पाउने पक्का छ । 

अहिलेसम्म महाधिवेसनको मिति तय नभएपनि नेताहरुले सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका छन् । संस्थापन इतर पक्षका शिर्ष नेता शेखर कोइराला र महामन्त्री गगन थापाले भावि सभापतिका लागि तयारी गरिरहेका छन् । 

अर्काेतर्फ सभापति देउवाका दाहिने हात मानिने उपसभापति पुर्णबहादुर खड्काको सम्भावनाबारे विश्लेषण उत्तिकै हुने गरेको छ । यस्तोमा सभापति देउवा कसको पक्षमा खुल्नछन् उसैको पल्लाभारी हुने निश्चित छ ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update