News 24 Television
काँग्रेसमा गठबन्धनको औचित्य र महाधिवेशनको बहस, प्रश्नले घेरिए देउवा ?

काठमाडौँ । नेपाली काँग्रेसमा सत्ता र भावी महाधिवेशनको विषयलाई लिएर फरक–फरक मत प्रकट भइरहेका छन् । सभापति शेरबहादुर देउवाको महाधिवेशन मिति धकेल्ने रणनीति र सत्तामा ओलीलाई साथ दिइरहेको विषयमा नेताहरुले विगतदेखि नै प्रश्न उठाइरहेका छन् । यस्तैमा केन्द्रीय समितिको बैठकमा पनि काँग्रेसका केन्द्रीय सदस्यहरुले सभापति देउवा र सत्तामाथि कडा आलोचना गरेका छन् । 

उनीहरुले गठबन्धनमाथि पनि गम्भीर प्रश्नसमेत उठाएका छन् । सभापति देउवाले निर्धारित समयमै महाधिवेशन गराउनेमा नेताहरुको शंका छ । विधान अनुसार काँग्रेसको महाधिवेशन २०८२ को मंसिरमा हुनुपर्ने हो । तर देउवा यसको तयारीमा छैनन् । यस्तैमा पार्टीको आन्तरिक बैठकमा नेताहरुले नेतृत्व र सत्तामाथि कडा आलोचना गरेको हुन् । 

को–कस्ले के भने ? 

काँग्रेस नेता शेखर कोइरालाले सत्ता गठबन्धन र पार्टी नेतृत्वमाथि सँधै आलोचना गर्दै आएका छन् । भावि नेतृत्वका लागि समेत तयार हुँदैगर्दा उनी पार्टीको कदम र सरकारको आलोचक बनेका छन् । उनले काँग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिनमै देउवामाथि कडा प्रश्न उठाएका थिए ।  

नेता कोइरालाले देउवालाई २०७९ को संघीय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन भयो । तर अहिले एमालेसँग सरकारमा छौँ । त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्याै ?

काँग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर मैले नै भनेको हुँ । तर नेतृत्व काँग्रेसकै हुनुपर्छ भन्ने हो । हामीले सत्ताको नेतृत्व एमालेलाई किन दियौँ ? 

गठबन्धन बन्नुअघि सातबुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? जस्ता प्रश्न उठाएका छन । यस्तै महाधिवेशनको सवालमा समेत कोइरालाले देउवामाथि प्रश्न उठाएको बताइन्छ ।  

काँग्रेस केन्द्रिय सदस्य राजन केसीले पनि ७ बुँदेअन्तर्गतको संविधान संशोधनको मुद्दाबारे गृहकार्य भइरहेको तर सरकार कमी, कमजोरीविहीन भने नभएको टिप्पणी गरे । उनले कमजोरीलाई सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे । 

काँग्रेसका अर्का केन्द्रीय सदस्य अर्जुननर्सिङ केसीले पनि एमालेसँगको गठबन्धनभित्र काँग्रेसको पहिचान कम देखिएको भन्दै बाहिरी प्रश्न जसरी उठेका छन्, त्यसरी नै पार्टीको बैठकमा पनि प्रश्न उठेको भने । साथै उनले यथास्थतिमा पार्टीले गति लिन नसक्ने पनि जिकिर गरेका छन् । 

अर्का केन्द्रीय सदस्य नारायणप्रकाश साउदले सात बुँदे कार्यक्रम नै वर्तमान गठबन्धनको आत्म भएको टिप्पणी गरेका छन् । तर यसको पूर्ण कार्यान्वयन हुन नसकेकोप्रति उनले पार्टीमा खबरदारी गरेकोे बताएका छन् ।

काँग्रेसमा महाधिवेशन र सत्तामा पार्टीको भूमिका प्रभावकारी नभएको लगायतको विषयमा गहन छलफल तथा बहस चलेको प्रष्ट छ । तर प्रभावकारीता र एमालेसँगको गठबन्धनको औचित्यमा प्रश्न उठेपनि सत्ता गठबन्धनमा संकट आइहाल्ने स्थिति नरहेको उपसभापति धनराज गुरुङ बताउँछन् । पार्टीमा हुने यसखालका छलफल र बहसलाई सामान्य लिनुपर्ने उनको भनाइ छ ।

गतवर्ष असार १५ गते काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटपछि नै काँग्रेस एमालेको समीकरण बनेको थियो । तर सत्ता संचालनका लागि दुई दलबीच भएको समझदारीको पूर्ण कार्यान्वयन नभएको भन्दै काँग्रेसमै प्रश्न उठिरहेका छन् । अर्कोतर्फ काँग्रेसमा महाधिवेशनको सवालमासमेत प्रश्न र आलोचना बढ्दो छ ।  

मुख्यतः गतवर्ष गोदावारीमा सम्पन्न महासमिति बैठकले भावी दिनमा काँग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने नीति पारित गरेको थियो । तर अहिले भइरहेको एमालेसँगको गठबन्धनलाई लिएर नेताहरुले नेतृत्वमाथि प्रश्न उठाइरहेका हुन् । जसले सभापति देउवामाथि चर्को दवाव सृजना भएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update