News 24 Television
पार्टीसँग सुँघेरी खेल्दै रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री यतिबेला आफ्नै पार्टीभित्र आलोचित बनेकी छन् । पार्टी नेतृत्वविरुद्ध अभिब्यक्ति दिएपछि उनीविरुद्ध अनुशासन समितिले स्पष्टीकरण सोध्यो । तर झाँक्रीले भने उल्टै आफूमाथि नै सामाजिक सञ्जाल, मिडिया र भर्चुचल माध्यामबाट हिंसा भएको भन्दै पार्टी अध्यक्ष माधव नेपाललाई सम्बोधन गरी सचिवलयमा निवेदन दिएकी छन् । 

तत्कालिन नेकपा एमाले विभाजनको बेला माधव नेपालको हात समाएर पार्टी फुटाउन अग्रसर भएकी नेतृ हुन् रामकुमारी झाँक्री । विद्यार्थी राजनीतिबाट स्थापित भएकी उनी एमालेबाट छुट्टिएर माधवसँगै लागेकी हुन् । 

पार्टी विभाजनको बेला निकै सक्रिय रहेकी उनी पार्टी सचिवको जिम्मेवारी दिइएको थियो । पार्टी विभाजनपछिको पहिलो महाधिवेशनमा महिला उपाध्यक्षको लडेकी थिइन् । तर उनलाई जयन्ती राईसँग पराजित भइन् । पार्टी पराजित भएपछि भने पार्टी नेताहरु विरुद्ध आगो ओकल्ने गरेकी उनले हालै मात्रै पार्टी नेतृत्वलाई नै मरेको सिनोको संज्ञा दिइन् । 

त्यो पनि पार्टीकै युवा संगठनको भेलामा । युवा संघको प्रशिक्षण भेलामा ‘सिनो बोकेर हिँड्न सकिँदैन, अर्ली महाधिवेशन गरेर अध्यक्ष फेरौं’ भनेर युवा नेता कार्यकर्तालाई आह्वान गरिन् । उनको यस्तो अभिब्यक्तिको पार्टी नेताहरुले विभिन्न माध्यामबाट आलोचना मात्रै गरेनन्, जथाभावी नबोल्न महासचिव घनश्याम भुसालले निर्देशन नै दिए । 

पार्टीकै कतिपय नेताहरुसँग सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चल्यो । पार्टीको अनुशासन समितिले उनको अभिब्यक्तिबारे स्पष्टीकरण नै सोध्यो । तर झाँक्री भने टसको मस भएकी छैनन् । उल्टै आफूलाई केही शक्तिशाली पदाधिकारीहरुले मिडियामा स्पष्टीकरण सोधेको तर आफूलाई स्पष्टिकरण सोधेकोबारे केही थाहा नपाएको बताइन् । बरु आफैले पार्टीमा निवेदन दिएको झाँक्रीको भनाई छ । 

विहीबार नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बस्दै गर्दा झाँक्री पनि कार्यालय पुगेकी थिइन् । त्यही कार्यालयमा उभिएर उनले आफूलाई पार्टीले सोधेको स्पष्टीकरणबारे अनभिज्ञता जनाएकी हुन् । तर एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडा भने झाँक्रीको प्रतिक्रियामा सहमति भएनन् । 

अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको दाबी गरे । निश्चित समय तोकेर आयोगले स्पष्टीकरण सोधेको भन्दै उनले समयभित्रै स्पष्टीकरण आउने विश्वास ब्यक्त गरे । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा परेपछि उनको सांसद पदसमेत निलम्बनमा परेको छ । अध्यक्षमाथि अख्तियारले लगाएको मुद्दा लगायतका विभिन्न विषयमा छलफल गर्न भन्दै विहीबार सचिवालय बैठक बोलाइएको थियो । 

छोटो समय बसेको बैठकमा समसामयिक राजनीति परिस्थितिको विश्लेषण, पार्टी अध्यक्षमाथि अख्तियारले लगाएको मुद्दा र त्यो मुद्दासँग जोडिएका विभिन्न कानूनी पक्षहरुको चर्चा, विश्लेषण, पार्टीको आगामी कार्ययोजनाका बारेमा छलफल भएको खतिवडाले जानकारी दिए । 

यतिबेला पार्टी नेतृत्वबारेमै पार्टीभित्र र बाहिर भिन्न खालका टिकाटिप्णीहरु भइरहेका छन् भने नेता नेपालकै कारण पार्टी संकटमा छ । यहिबेला पार्टीका नेता कार्यकर्ताहरु एक आपसमा आरोप प्रत्यारोपमा लागेका छन् भने पार्टी नेतृत्वविरुद्धसमेत आगो ओकल्ने क्रम शुरु भएको छ । 

नेपालको मुद्दा र पार्टी भित्रको राजनीतिक संकट कसरी पार लाग्छ प्रतिक्षाको विषय बनेको छ । 

 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update