News 24 Television
निजामति विधेयक राष्ट्रिय सभाबाट गायब पार्न खोजिएको आशंका

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले प्रतिनिधि सभाबाट सन्देशसहित आएको संघीय निजामति सेवा विधेयकको प्रतिवेदन अझै वितरण नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद भुसालले १८ असारमा विधेयक सभामा टेबुल भएको भए पनि अहिलेसम्म प्रतिवेदन वितरण नहुनु गम्भीर विषय भएको बताएका हुन् । उनले विधेयकको प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार नबनेको विषयमा गम्भीर विवाद उठेकाले विधेयकलाई लिएर आशंका थपिएको बताए । उनले विधेयकको प्रतिवेदन वितरण नगर्नुको कारण के हो ? भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको संघीय निजामति सेवा विधेयक १८ असारमा यो सदनमा प्रश्तुत भएको थियो । तर आजसम्म पनि त्यस विधेयकको प्रतिवेदन हामीलाई वितरण गरिएको छैन । यो प्रतिवेदन नै राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार बनेन भनेर गम्भिर रुपमा विवाद उठेको र शंका भएको यो अवस्थामा हामीलाई प्रतिनिधि सभाबाट सन्देशसहित आएको विधेयकको प्रतिवेदन किन वितरण गरिएको छैन ? यसले अर्को आशंका जन्माएको छ । विधेयक गायब पार्न खोजिएको हो कि भन्ने शंका छ ।’

उनले विधेयकको प्रतिवेदन वितरण नगरिनुले गायब पार्न खोजिएको हो कि भन्ने आशंका रहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update