News 24 Television
माधव नेपालविरुद्ध आक्रामक बनेकी झाँक्री पार्टीमा रक्षात्मक, निष्काशन गर्न माग !

काठमाडौँ । आफैले नेतृत्वको हात समातेर दर्ता गराएको पार्टी नेकपा एकीकृत समाजवादीमा रामकुमारी झाँक्री आज अप्ठेरोमा परेकी छिन् । पछिल्लो समय पार्टी अध्यक्ष माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा लागेपछि झाँक्रीले खुलेरै नयाँ नेतृत्व चयन गर्न माग गरिन् । यति मात्र हैन पार्टी स्थापना गराउँदा खेलेको आफ्नै भूमिका भुलेर उनले मूल नेतृत्वलाई ‘सिनो’को संज्ञा समेत दिइन् । पतञ्जलि जग्गा प्रकरणमा मुद्दा खेपिरहेका अध्यक्ष नेपालविरुद्ध उनले गत शनिबार बुटवलमा भनेकी थिइन्– ‘अध्यक्षकै बारेमा संकट आयो, अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । अर्ली महाधिवेशन गरौँ र हलबाटै नेतृत्व चयन गरौँ । कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । अब मरेको सिनो काँधमाथि बोकेर हिँड्न सकिँदैन... ।’ 

उनको यो अभिव्यक्तिपछि पार्टी महासचिव घनश्याम भुसालले विज्ञप्ती नै जारी गरेर अध्यक्षको मामिलामा जथाभावी नबोल्न र नलेख्न निर्देशन दिए । यति मात्र हैन, झाँक्रीलाई पार्टीबाटै निष्काशन गर्न माग समेत एकीकृत समाजवादीमा उठेको छ । पार्टीले झाँक्रीलाई स्पष्टीकरण सोधको दाबी गरे पनि झाँक्रीले भने आफूलाई स्पष्टीकरण नसोधिएको बताउँदै रक्षात्मक अभिव्यक्ति दिएकी छन् । 

बिहीबार पार्टी केन्द्रिय कार्यालयमा उनले आफूले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको बताइन् । अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूलो केही नेताहरुले टेलिभिजनबाट स्पष्टीकरण सोधेको भनेर हल्ला फिँजाएको उनको भनाइ थियो । स्पष्टीकरण सोधिएको भन्ने समाचार आफूले टेलिभिजनबाट थाहा भएको तर आफूकहाँ भने कुनै स्पष्टीकरण नसोधिएको उनले बताइन् । पार्टीले गरेको निर्णयबारे बुझ्न र आफूविरुद्ध फैलाइएको भ्रममा स्पष्ट हुन भन्दै झाँक्रीले निवेदन लिएर पार्टीको सचिवालय बैठकमा आएको बताइन् । यद्यपि उनी सचिवालय सदस्य भने होइनन् ।

बिहीबारको सचिवालय बैठकपछि एकीकृत समाजवादीले स्थायी कमिटी सदस्य रहेकी रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको प्रष्ट पारेको छ । पार्टीको अनुशासन आयोगले झाँक्रीको उक्त अभिव्यक्तिविरुद्ध स्पष्टीकरण सोधेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार, अध्यक्षविरुद्धको अभिव्यक्तिका विषयमा अनुशासन आयोगले झाँक्रीलाई निश्चित समय तोकेर स्पष्टीकरण सोधेको छ । उक्त स्पष्टीकरणपछि मात्र के–कस्तो कारबाही गर्ने भन्नेबारे पार्टीले निर्णय लिनेछ । सचिवालयको अर्को बैठक असार २२ गतेका लागि तय गरिएको छ ।

बिहीबारको बैठकमा सहभागी अधिकांश नेता झाँक्रीलाई पार्टीबाटै निष्काशन गर्नुपर्ने पक्षमा देखिए । उनले अध्यक्षविरुद्ध बोल्नै नहुने कुरा बोलेको भन्दै माफीयोग्य नरहेको र निष्काशन नै गर्न दबाब परेको थियो । बैठकमा सहभागी अध्यक्ष नेपाल भने यस विषयमा मौन बसे । यद्यपि बैठकले पतञ्जली जग्गा प्रकरणमा अध्यक्षमाथि लागेको भ्रष्टाचार मुद्दा र पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक मामिलाका विषयमा छलफल गरेको थियो । 

विशेष अदालतले अध्यक्ष नेपाललाई ३५ लाख धरौटीमा छाडे पनि मुद्दाको कारबाही किनारा लाग्न बाँकी छ । कानुनी संकट आएकाले उनले अध्यक्ष पद छाड्नुपर्ने या कार्यवाहक अध्यक्ष तोकेर आफू प्रमुख गतिविधिबाट किनारमै बस्नुपर्ने एकथरी नेताहरुको मत छ । सोही आशयले बोल्दा झाँक्रीलाई निष्काशनको माग उठ्यो । तर उनको अभिव्यक्ति सन्तुलित नभई आक्रामक भएकाले अब पार्टीभित्र अप्ठेरो पर्ने नै भयो । पार्टी नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएको र कतिपय नेता–सांसदहरुमा मूल पार्टी एमालेमा फर्कने आकांक्षा भित्रभित्रै बढिरहेको विश्लेषणका बीच आगामी दिनमा पार्टीमाथि नै थप संकट र चुनौती सृजना हुन सक्ने संकेत समेत देखिन्छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update