
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रविमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान संचालन गरिरहेको छ । तर रास्वपाको यो अभियान भने विवादरहित बन्न सकेन ।
सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध ५ जिल्लामा मुद्धा छन् । बुटबलस्थित सुप्रिम शहकारी ठगी प्रकरणमा रविलाई उच्च अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । तर यस्तैमा रविविरुद्ध प्रतिशोध साँधिएको भन्दै रास्वपाले भने सडकबाटै हस्ताक्षर अभियान संचालन गरिरहेको हो ।
रास्वपाले असार ७ गतेदेखि नै हस्ताक्षर अभियान निरन्तर संचालन गरिरहेको छ । उसले काठमाडौं उपत्यकाका १३ स्थानमा ऐक्यबद्धता बुथ स्थापना गरेर हस्ताक्षर सङ्कलन गरिरहेको छ । रास्वपाले यो अभियानलाई असार १४ गतेबाट जिल्ला, पालिका हुँदै वडा तहसम्म विस्तार गरेको छ । तर रास्वपाको यो अभियानलाई सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले भने अदालतमा विचाराधिन मुद्धा प्रभावित पार्न खोजेको भन्दै यस्ता गतिविधिहरु लोकतन्त्रविरुद्ध भएको टिप्पणी गरिरहेका छन् । काँग्रेसले यो प्रवृत्तिलाई गैरकानूनी, अराजनीतिक र अनैतिक भनेको छ ।
त्यस्तै सत्तारुढ दल नेकपा एमालेले पनि रास्वपाको हस्ताक्षर अभियानलाई गैरकानूनी कार्यको संज्ञा दिइरहेको छ ।
हुनपनि रविको मुद्धा अदालतमा विचाराधीन रहेकाले अब यसको न्याय निसाफ गर्ने जिम्मा अदालतकै हो । तर विचाराधीन मुद्धामाथि हस्ताक्षर अभियान नै संचालन गरेर रास्वपाले न्यायिक निकामयमाथि दवाव दिनु कानूनी र लोकतान्त्रिक मूल्यमान्यता विपरित नै भएको आम टिप्पणी हुँदै आएका छन् ।
रविलाई बाबुरामको दह्रो साथ
रास्वपाको अभियानपछि लाखौँ कार्यकर्ता रविमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियानमा सामेल भएका छन् । यस्तैमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले पनि रविको न्यायका लागि भन्दै अभियानलाई साथ दिएका छन् । रास्वपा पार्टी कार्यालय पुगेरै उनले रविको पक्षमा हस्ताक्षरसमेत गरे । हुनत बाबुराम यसअघि देखि नै रविको पक्षमा उभिँदै आएका छन् । रवि कास्की प्रहरीको हिरासतमा रहँदासमेत बाबुराम भेट्नलाई पोखरा पुगेका थिए ।
विवादमा हस्ताक्षर अभियान !
रविको पक्षमा यतिबेला कलाकार, सुवेच्छुक तथा समर्थकहरुले धामधम हस्ताक्षर गरिरहेका छन् । तर उनको पक्षमा हस्ताक्षर गरेका केही पात्रहरुकै कारण पनि अभियान विवादित बनिरहेको छ । मुख्यतः बालबालिका तथा डिउटीमै खटिएका प्रहरीलाई हस्ताक्षर गराइएको भन्दै रास्वपाको अभियान विवादित छ ।
केही दिन अघि बाँकेको नेपालगन्जस्थित ट्राफिक कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक कमल खड्काले समेत रविको पक्षमा हस्ताक्षर गरेको तस्बीर सामाजिक संजालमा भाइरल बन्यो । यसपछि डिउटीमै हस्ताक्षर गर्ने प्रहरी छानविनका लागि मुख्यालय तानिएका छन् । यसरी कानून तथा न्यायिक पद्धतिबाहिरबाटै न्यायका लागि चालिएको कदमलाई कतिपयले अराजनीतिक र अराजकताको संज्ञा दिइरहेका छन् । यो गतिविधिले रास्वपामाथि राजनीतिक र नैतिक प्रश्न खडा भएको छ ।