News 24 Television
ओलीका ‘कटु ओलोचक’ बालेनलाई विद्याले निवासमै स्वागत गर्नुको अर्थ के ? 

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच पछिल्ला राजनीतिक घटनाक्रम तथा महानगरसँग सम्बन्धित विषयहरूमा छलफल भएको छ । पूर्वराष्ट्रपति भण्डारीको सचिवालयबाट निमन्त्रणा आएपछि गत बिहीबार बालेन विशेष भेटका लागि भण्डारी निवास भंगला पुगेका थिए । यो भेटलाई विशेष राजनीतिक महत्वका साथ हेरिएको छ । विशेषगरी भण्डारीले हालै नेकपा (एमाले)को सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा पुनः फर्किएका छन् । असार १४ गते उनले एमाले सदस्यता नवीकरण गरेको र पुनः एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । 

एमालेको सक्रिय राजनीतिमा पुनः फर्किएरलगत्तै भण्डारीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीका कटु आलोचक बालेनलाई आफ्नै निवासमा स्वागत गरेपछि अर्थपूर्ण मानिएको छ । भेटका क्रममा दुवै नेताबीच लगभग एक घण्टा छलफल भएको थियो । विद्या र बालेनबीच देशमा चलिरहेका राजनीतिक घटना, काठमाडौं महानगरपालिकाका गतिविधिहरू, संघीय सरकारसँग महानगरको बढ्दो तिक्तता र भण्डारीको आगामी राजनीतिक यात्रा लगायतका विषयमा छलफल भएको छ । 

पूर्वराष्ट्रपति भण्डारीले बालेनसँग आगामी ‘राजनीतिक यात्रा’को योजना र तयारीका विषयका साथै पछिल्लो समय महानगरभित्र देखिएका विवाद एवं नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको विषयमा बालेनसँग चासो राखेकी थिइन् । जवाफमा बालेनले संघ सरकारले महानगरपालिकालाई अस्वाभाविक रूपमा हस्तक्षेप गर्ने र घेराबन्दी गर्ने काम गरिरहेको गुनासो गरेका थिए । भण्डारीले बालेनसँग जोडिएका र प्रतिशोध राखिएका विषयबारे आँफू जानकार रहेको बताउँदै एक राजनीतिज्ञका हिसाबले त्यसमा सहजीकरणका लागि पहल गर्ने बताएकी थिइन् । 

बालेनले पूर्वराष्ट्रपति भण्डारीसँग सक्रिय राजनीतिमा फर्किने घोषणा गरेको विषयमा पनि चासो राखेका थिए । पछिल्लो समय संघ सरकार र मेयर बालेनबिच विवाद छ भने प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर मेयर असन्तुष्ट छन् । उनी प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं नफेरिएसम्म नीति तथा कार्यक्रम र बजेट नल्याउने अडानमा छन् । केही समयअघि प्रधानमन्त्री केपी ओली र बालेनबिच टकराव बढेको थियो । केन्द्र सरकारले असहयोग गरेको र प्रतिशोधपूर्ण व्यवहारले हेरेको भन्दै उनी असन्तुष्ट छन् ।

विद्या एमालेको सक्रिय राजनीतिमा फर्कनसाथ बालेनजस्ता ओलीका कटु आलोचकसँगको यो भेटलाई रणनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । बालेन मेयरमा निर्वाचित भएदेखि नै प्रधानमन्त्री ओलीमाथि विभिन्न मुद्दामा कडा टिप्पणी गर्दै आएका छन् । उनले गिरिबन्धु टि–इस्टेट काण्डलाई लिएर समेत ओली र एमाले नेतृत्वमाथि प्रश्न उठाएका थिए । बालेनले गिरीबन्धु प्रकरणमा प्रश्न उठाएपछि सञ्चारकर्मीले ओलीलाई प्रश्न गर्दा उनले ‘बालेनलाई सोध्नु’ भन्दै जवाफ दिएका थिए । 

एमालेका अरु नेताहरूले पनि बालेनको कार्यशैलीलाई ‘अराजक’ र ‘संयमहीन’ भन्दै आलोचना गर्दै आएका छन् । 

बालेन र ओलीबीच सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चहरूमा बारम्बार वाक्युद्ध हुने गरेको छ । यसै सन्दर्भमा विद्याले बालेनलाई भेटेपछि धेरैले आश्चर्यजनक र रणनीतिक कदमको रूपमा हेरेका छन् । बालने आफ्नै राजनीतिक दल गठनको तयारीमा रहेको चर्चा समेत बेलबेला चल्ने गरेको छ । त्यसैले विद्यासँगको भेटलाई बालेनको राजनीतिक सञ्जाल विस्तार तथा आधार निर्माणको रूपमा समेत हेरिएको छ । यो भेटले तत्काल कुनै ठोस परिणाम नदेखाए पनि यसले नेपाली राजनीतिमा नयाँ सम्भावनाहरूको ढोका खोलेको छ । यसको वास्तविक प्रभाव भने आगामी दिनहरूमा हुने छलफल र निर्णयहरूले निर्धारण गर्नेछ ।
 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update