
काठमाडौँ । गत चैतमा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेपछि कुलमान घिसिङले पत्रकार सम्मेलन गरेरै सक्रिय राजनीतिमा लाग्ने पूर्वसंकेत गरेका थिए । दुई पटक प्राधिकरणको कार्यकारी निर्देशक बन्ने अवसर पाएका कुलमानले दोस्रो पदावधि पूरा नहुँदै सरकारबाट बर्खास्ती व्यहोरे ।
बर्खास्तीपछि पत्रकार सम्मेलनमा उनले सिधै भनेका थिए, ‘शक्ति केन्द्रमा धाउनेहरुले षड्यन्त्र गरे । यसको हिसाबकिताब उनीहरुले एकदिन बुझाउनुपर्नेछ ।’ यति भनेका कुलमानले प्राधिकरणको नेतृत्व बाहिर गएपनि आफूले एक जिम्मेवार नागरिकको हिसाबले आवश्यक खबरदारी गरिरहने त्यसका लागि जनताको पनि साथ आवश्यक रहेको भनेका थिए ।
खासगरी कुलमान उद्योगीहरुबाट विद्युत बक्यौता उठाउने सम्बन्धमा केपी ओली नेतृत्वको सरकारको साथ नपाएपछि प्राधिकरणबाट बहिर्गमित बन्नु परेको थियो । बहिर्गमित कुलमान अहिले राजनीतिमा फर्कने प्रयासमै छन् ।
प्राधिकरणमा सत्ताको दाउपेचमा परेका कुलमान अब राजनीतिमा कसरी प्रवेश गर्छन ? भन्ने प्रश्न भने जिवितै छ । उनी राजनीतिमा प्रवेश गर्ने ‘होमवर्क’ गरिरहेकै बेला अहिले पनि मध्यपूर्वी देशहरुको भ्रमणमा छन् ।
यस्तै बहराइनमा रहेका नेपालीहरुलाई पनि कुलमानले मुलुकमा कुशल राजनीतिक नेतृत्वको खाँचो रहेको आवश्यकता औँल्याए । अबको नेतृत्व नतिजा र परिणाममुखी राजनीतिमा केन्द्रीत हुनेपर्ने कुलमानको धारणा छ ।
यी आधारले पनि कुलमान निकट भविष्यमै सक्रिय राजनीतिमा आउनेमा दुई मत छैन । तर कुलमान आफ्नै नेतृत्वमा नयाँ दल खोल्छन् वा अन्य कुनै पुरानै दलको छहारीमा पुग्छन् यो विषयमा अहिलेनै केही भन्न सकिने अवस्था छैन ।
माओवादीसँगै नजिक कुलमान !
रुपन्देही – ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । यस्तैमा मधेसकेन्द्रित दलसम्बद्ध सङ्घीय लोकतान्त्रिक मोर्चाले कुलमानलाई उपनिर्वाचनमा उम्मेदवारका रुपमा प्रस्ताव गरेको चर्चा हुँदै आएको छ । तर कुलमान यो मोर्चाबाट निर्वाचन लड्ने संभावना न्यून छ । बरु केही समय लिएरै संगठन निर्माणमा केन्द्रीत भएर कुलमानले आफू नेतृत्वकै दल खोल्न सक्ने संभावना ज्यादा देखिन्छ । अर्कोतर्फ कुलमानले माओवादीको समर्थनमा रुपन्देहीमा चुनाव लड्ने वा भावि दिनमा माओवादीसँगै सहकार्य गर्नसक्ने संभावना पनि उत्तिकै देखिन्छ ।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्न दुई–दुई पटक माओवादी नेतृत्वको सरकारले नै कुलमानलाई अबसर दियो । जसैका कारण पनि कुलमानले माओवादीलाई नै समर्थन गर्ने संभावना देखिन्छ ।
०७९ को आम निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डले कुलमानलाई नै इगित गरेर बालेन शाहभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोजेको भनेका थिए । तर माओवादीले त्यो बेला कुलमानलाई उम्मेदवार बनाउन सकेन । यद्यपि अबको निर्वाचनमा भने माओवादीले कुनै हालतमा कुलमानलाई चुनावमा भिडाउनसक्ने संभावना देखिन्छ । तर यो विषमा स्वयम कुलमानको धारणा कस्तो रहन्छ, भन्ने विषय प्रमुख बनेको छ ।